
काठमाडौं : सोमबार नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीच भेटवार्ता भयो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीका महासचिव महासचिव शंकर पोखरेललाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास महाराजगन्ज पुगे ।
यी दुई दलका नेताहरू पछिल्लो समय निरन्तर छलफलमा छन् । यसअघि मंसिर १९ गते कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेट भएको थियो । उक्त भेटलगत्तै कांग्रेसका आठ जना विघटित प्रतिनिधि सभाका सदस्य प्रतिनिधि सभा पुनर्स्थापनाको माग लिएर सर्वोच्च अदालत गएका थिए । उक्त मुद्दाउपर अदालतबाट कारण देखाऊ आदेश जारी भएको छ । सोही मुद्दा बलियो बनाउन कांग्रेसका ६६ जना सांसदले हस्ताक्षर गरेका छन् ।
यसै पृष्ठभूमिमा सोमबार ओली र देउवाबीच पुनः भेट भएको हो ।
भेटमा प्रतिनिधि सभाको निर्वाचन गर्ने सवालमा समस्याका रूपमा देखापरेका सुरक्षा चुनौती, मौसम, सरकार र दलका शीर्ष नेताबीच संवादहीनताको अवस्थाबारे संवाद भएको देउवाको सचिवालयले जनाएको छ ।
अर्थ राजनीतिक विश्लेषक अरुण सुवेदीले देशको पछिल्लो अवस्था आउनुको कारण परराष्ट्र मामिला र अर्थ राजनीतिक विफलता भएकाले त्यस विषयमा आवश्यक संवाद हुन सक्ने बताउँछन् । राष्ट्रिय सभाको निर्वाचनमा समेत कसरी जाने भन्ने विषयमा छलफल हुन सक्ने उनको अनुमान छ ।
देउवा प्रधानमन्त्री हुँदाका आर्थिक सल्लाहाकार समेत रहेका सुवेदीले मध्यान्हसँग भने, ‘अहिलेको मुख्य समस्या नै परराष्ट्र मामिला र अर्थ राजनीतिक विफलताको विषय हो । यसको बाधक संविधान नै हो । त्यसैले जिम्मेवार दलका शीर्ष नेताबीच असफलतालाई सच्याएर जाने, संसद रिकल गरेर संविधान संशोधन गरेर जाने र राष्ट्रिय सभाको निर्वाचनमा मिलेर जाने विषयमा छलफल भएको हुन सक्छ ।’
नयाँ दल र युवाहरू बहकिएको भन्दै जिम्मेवार दलले जिम्मेवारीपूर्वक कमद चाल्नुपर्ने उनको तर्क छ ।
कांग्रेस सभापति देउवाका प्रेस संयोजक गोविन्द परियार जेनजी आन्दोलनको बलमा बनेको सरकारले चुनाव गराउने विश्वसनीय वातावरण बनाउन नसकेको अवस्थामा शीर्ष नेताहरूबीच राजनीतिक कुराकानी भएको बताए ।
‘सरकारले चुनाव गराउने छाँटकाँट देखाएको छैन,’ उनी भन्छन्, ‘यस्तो अवस्थामा जेनजी आन्दोलनका नाममा लिकआउट गरिएको संविधानलाई पुनः ट्र्याकमा ल्याएर राजनीतिक निकास दिने विषयमा शीर्ष नेताबीच छलफल भएको हो ।’
ओली र देउवा दुवै जेनजी आन्दोलन अगाडिका सत्ता सहयात्री दल हुन् । २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । उक्त आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भएका थिए । त्यसपछि प्रतिनिधि सभाबाटै सरकार बन्न सकेन । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । अन्तरिम सरकारले प्रतिनिधि सभा विघटन गरेर आगामी २१ फागुनमा प्रतिनिधि सभाको चुनावको मिति तय गरेको छ ।
निर्वाचनको मिति नजिकिँदै गएकाबेला देउवा र ओली दुवैको सक्रियता बढ्दो छ ।
कांग्रेस सभापति देउवाका प्रेस संयोजक गोविन्द परियारका अनुसार ओली र देउवा मात्रै नभएर सबै दलका शीर्ष नेताहरूबीच आवश्यक छलफल संवादहरू भइरहेको छ । निर्वाचन नहुँदा विघटित प्रतिनिधि सभालाई अन्तरिम संसदको रूपमा पुनर्स्थापना गरेर संविधान संशोधनलगायतका काम गर्ने र केही समयमै निर्वाचन गर्नेगरी नेताहरूबीच छलफल भएको उनको भनाइ छ ।
यसकारण सोमबार ओली र देउवाबीच भएको भेटलाई राजनीतिमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।
तत्कालीन सत्ता साझोदार दलहरू कांग्रेस–एमालेका अधिकांश सांसदहरूले प्रतिनिधि सभा पुनर्स्थापनाको मागसहित सर्वोच्च अदालत गइसकेका छन् । एमालेले संसद् ब्युँताउने विषयमा केन्द्रीय कमिटीबाटै निर्णय गरेको छ भने कांग्रेसले सरकार गठन र संसद् विघटन असंवैधानिक ठहर गरेको छ ।
कांग्रेसको केन्द्रीय समितिले कानुनी रूपमा संसद् विघटनलाई असंवैधानिक भने पनि राजनीतिक रूपमा निर्वाचनमा जाने निर्णय गरेको सो दलका निवर्तमान पूर्वप्रमुख सचेतक श्याम घिमिरेले बताए ।
देउवा–ओलीको पहिलो भेटपछि कांग्रेसका आठ पूर्वसांसदको वारेसमा विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै रिट दायर भएको थियो । एमाले भने त्यसअघि नै रिट लिएर सर्वोच्च अदालत पुगेको थियो । सोमबार कांग्रेसका ६६ सहित अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले समेत हस्ताक्षर गरेका छन् ।
उनीहरूले प्रतिनिधि सभा पुनर्स्थापनाका लागि कांग्रेसको संसदीय दलको कार्यालयमै गएर हस्ताक्षर गरेका हुन् । यसै सन्दर्भमा पुराना दलका शीर्ष नेतृत्वबीचको भेटघाट बाक्लिनुलाई प्रतिनिधि सभा पुनर्स्थापना हुने बाटो फराकिलो बन्दै गएको कोणबाट समेत विश्लेषण भइरहेको छ ।
चर्चामा चुनावी सहकार्य
शीर्ष नेताहरूबीचको संवादसँगै चुनावी सहकार्यको विषय पनि चर्चामा छ । खासगरी नजिकिएको राष्ट्रिय सभाको निर्वाचनको सन्दर्भमा दलहरू संवादमा रहेको नेताहरू बताउँछन् ।
आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका सन्दर्भमा समेत सोमबार देउवा र ओलीबीच संवाद भएको बताइएको छ । राष्ट्रिय सभाको निर्वाचनमा कोको कसरी मिलेर जाने भन्ने विषयमा समेत छलफल भएको स्रोतको दाबी छ ।
राष्ट्रिय सभाको निर्वाचन कोही न कोहीसँग गठबन्धन गर्नैपर्ने दलहरूले महसुस नेताहरूले गरेका छन् । यसअघि ओली दम्पतीले मंसिर १९ गते महाराजगन्जस्थित निवासमै पुगेका देउवा दम्पतीसँग भेटवार्ता गरेका थिए ।
कांग्रेस सभापति देउवासँग पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले समेत भेट गरेका छन् । उनीहरूबीच राष्ट्रिय राजनीतिमा देखापरेका समस्या र आमनिर्वाचनका सम्बन्धमा छलफल भइरहेको बताइएको छ ।