२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

सामुदायिक स्वास्थ्य सेवा इकाइ उद्घाटन

shivam cement
लालबाबु बानिया
२०८२ पुष ९ गते २०:४९
Shares
सामुदायिक स्वास्थ्य सेवा इकाइ उद्घाटन

पर्सा : पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर–४ अन्तर्गत सुहपुर–सोहरीमा सामुदायिक स्वास्थ्य सेवा इकाइको एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । 

प्रमुख अतिथि पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री एवं क्षेत्र नम्बर–४ का निवर्तमान सांसद रमेश रिजालले सामुदायिक स्वास्थ्य सेवा इकाइको औपचारिक उद्घाटन गरेका हुन् । 

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि रिजालले गाउँघरमै सञ्चालनमा रहेका स्वास्थ्य संस्थाबाट गुणस्तरीय स्वास्थ्य सेवा लिन स्थानीय नागरिकहरूलाई आग्रह गरे । 

उनले स्वास्थ्य सेवामा स्थानीय नागरिकको सहज पहुँच सुनिश्चित गर्न स्थानीय तहले खेलेको भूमिकाको प्रशंसा गर्दै जनप्रतिनिधिहरूलाई बधाई समेत दिए । 

स्थानीय नागरिकको स्वास्थ्य सेवामा सहज पहुँचलाई ध्यानमा राखी जगरनाथपुर गाउँपालिकाले बुधबारदेखि सामुदायिक स्वास्थ्य सेवा इकाइ सञ्चालनमा ल्याएको हो । उद्घाटन कार्यक्रमको अवसरमा निःशुल्क स्वास्थ्य शिविरको समेत आयोजना गरिएको थियो । उक्त स्वास्थ्य शिविरमा करिब २ सय ४ जनाले स्वास्थ्य सेवाको लाभ लिएको स्वास्थ्य शाखा प्रमुख प्रवेन्द्र साहले जानकारी दिए । 

शिविरमा निःशुल्क स्वास्थ्य परीक्षणका साथै आवश्यक औषधीसमेत वितरण गरिएको छ । जगरनाथपुर गाउँपालिकामा हालसम्म एउटामात्र स्वास्थ्य चौकी सञ्चालनमा रहेकाले वडा नम्बर–४ अन्तर्गतका सुहपुर, सोहरी र हरपुरका स्थानीयवासीहरू स्वास्थ्य सेवा लिन कठिनाइमा परिरहेका थिए । उक्त बाध्यतालाई हटाउन गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादवको पहल तथा सहयोगमा सुहपुर–सोहरीमा सामुदायिक स्वास्थ्य सेवा इकाइको कार्यालय निर्माण गरी सञ्चालनमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवले जानकारी दिए ।

जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्तप्रसाद यादवको अध्यक्षता तथा पूर्वमन्त्री रमेश रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बबीता सिंह, प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव, लेखापाल सन्देश कुशवाहा, वडाध्यक्ष प्रभुनाथ नुनिया, नेपाली कुशवाहा, डा.मनोज कुमार गुप्ता, डा. नितेश कर्ण, स्वास्थ्य शाखा प्रमुख प्रवेन्द्र साह लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर