
काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावप्रति सबै राजनीतिक दलहरूबीच विश्वासको वातावरण बन्दै गएको छ । जेनजी आन्दोलनबाट भड्किएका ठुला राजनीतिक दलहरूलाई सहमतिको विन्दुमा ल्याउने क्रममा प्रधानमन्त्री सुशीला कार्कीले शनिबार बालुवाटारस्थित कार्यालयमा संवाद गरिन् ।
त्यसक्रममा उनले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सामूहिक भेटवार्ता गरेकी हुन् ।
आन्दोलनबाट सत्ताच्युत हुन पुगेका ओली–देउवा भदौ २४ पछि पहिलो पटक बालुवाटार प्रवेश गरेका छन् ।
प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री नियुक्ति भएपछि नाम नलिएर पुराना नेताहरूको ‘मुखै हेर्न मन छैन’ भनेकी थिइन् । त्यही क्रममा उनले नेताहरूमाथि भ्रष्टाचारको छानबिन गरेर जेल हाल्ने र चुनावबाट नयाँ पुस्ताको प्रतिनिधित्वसहित सत्ताको चाबी बुझाउने प्रतिबद्धतासमेत व्यक्त गरेकी थिइन् ।
तर अहिले समय बदलियो, मानिसनहरूको सोच र अवस्था पनि बदलिएको छ । प्रधानमन्त्रीमाथि चुनावी दबाबबाहेक खासै केही देखिँदैन । उनले फागुन २१ को चुनाव गराएर बिदा लिने योजनासहित सबै दलहरूसँग सघन संवादलाई तीव्रता दिएकी छन् ।
शनिबार ठुला दलका शीर्ष नेताहरूसँगको भेटमा प्रधानमन्त्री कार्कीले चुनावको सहज वातावरण निर्माणमा सहयोग गर्न बिन्ती बिसाइन् ।
‘मैले यहाँहरूलाई बोलाएर बिन्ती गर्न खोजेके के भने यो निार्वाचन जसरी पनि सफल पारौं’, प्रधानमन्त्री कार्कीले भनिन्, ‘सबै यसमा सहभागी हुनुपर्छ । तपाईँहरू निर्वाचनका लागि तयारै हुनुहुन्छ भन्ने नै मैले देखेकी छु । यो स्वागतयोग्य छ ।’
आफूले राष्ट्रपतिबाट चुनाव गराउने कार्यादेश पाएबमोजिम चुनावको तयारी गरेको उनले दलका नेताहरूसामु बताएकी छन् । ‘यो घर तपाईंहरूकै हो । म त न्याय क्षेत्रको मान्छे ।
राष्ट्रपतिज्यूबाट चुनाव गराउने कार्यादेश पाएबमोजिम हामी चुनावको तयारी गरिरहेका छौं । यो हामी सबैको जिम्मेवारी हो । यति अनुरोध गर्न मैले यहाँहरूलाई निम्ता गरेकी हुँ ।’
अब कुनै अलमल नगरी यो राष्ट्रको भविष्य सम्झेर, स्थिर र दिगो लोकतन्त्रको सुनिश्चितताका लागि चुनाव सफल पार्ने उनले आग्रह गरेको प्रधानमन्त्रीका सल्लाहाकार राम रावलले बताए ।
छलफल पश्चात नेताहरू चुनावप्रति थप सकारात्मक बनेका छन् । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै दलहरू चुनावमा जान तयार रहेको प्रतिक्रिया दिए । उनले भने, ‘सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौं । कांग्रेस पनि रेडी छ । एमाले पनि रेडी छ । अरु दल पनि रेडी छ । सरकारले सुरक्षाको वातावरण मिलाउनुपर्छ ।’
बैठकमा एमाले अध्यक्ष ओली र नेकपाका संयोजक दाहाल समेत चुनावप्रति सकारात्मक देखिए । ओलीमाथि लगाइएको स्थानहदको विषय र चुनावी सुरक्षाको विषयमा एमाले बढी सशंकित बनेको थियो । प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताहरूसँग बालुवाटारमा भएको छलफलपछि सञ्चारमन्त्री जगदीश खरेलले चुनावको वातावरण बनाउनको लागि स्थान हद हटाउने सरकार तयार रहेको संकेत गरेका छन् ।
‘लक्ष्य अहिले हाम्रो फागुन २१ को चुनाव हो’, उनले भने, ‘सुशासन र भ्रष्टाचार नियन्त्रणको कुरा पनि सँगै अघि बढाएका छौं । चुनावको लक्ष्य र जेनजीको म्यान्डेट आत्मसाथ गर्दै त्यो लक्ष्य प्राप्तिको लागि जेजे उल्झन र समस्याहरू आउँछन् । त्यसलाई क्लियर पार्दै अगाडि बढ्छ । त्यो क्लियर पार्ने कुरामा समझदारी पनि भएको छ ।’
यसअघि गत मंगलबार राष्ट्रपति भवन शीतल निवासमा पनि प्रधानमन्त्री र शीर्ष नेताबीच छलफल भएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले चुनावको माहोल तयार पार्न सरकार र दलबीचको संवादहिनता तोड्ने काम गरेका थिए । जेनजी आन्दोलनपछि सत्ताच्युत भएका देउवा–ओली र प्रतिपक्षी दलका नेता प्रचण्डसँग संवाद नै नगर्ने बताएकी प्रधानमन्त्री कार्की दलहरू नमिलाई चुनाव हुन नसक्न परिस्थिति बनेपछि उनैले इन्कार गरेका नेताहरूको साथ खोज्न बाध्य भइन् । राष्ट्रपति पौडेलको समन्वयमा पहिलो पटक संंवादको ढोका खोलेका प्रधानमन्त्री र शीर्ष तीन नेताबीच शनिबार दोस्रो चरणको वार्ता भएको हो ।
योसँगै चुनावमा जान आनाकानी गरिरहेका दलहरू चुनावप्रति सकारात्मक देखिएका छन् । विघटीत प्रतिनिधि सभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले चुनावमै जाने निर्णय गरेपनि प्रतिनिधि सभा पुनस्र्थापनाका लागि सांसदहरूलाई अदालत पठाएको थियो । त्यस्तै तत्कालीन सत्ताको नेतृत्वकर्ता दल एमालेले सरकार गठन र प्रतिनिधिसभा विघटन असंबैधानिक भएकाले संसद् पुनस्र्थापनामै जाने निर्णय गरेर अघि बढेको छ । उता प्रचण्डले भने चुनावका जाने निर्णयसहित तयारीमा जुटेको बताएका छन् । यद्यपि नेकपा समेत फागुन २१ मा चुनाव नभएर संसद् पुनस्र्थापनाको पक्षमा उभिने संकेत गरेको थियो ।
तर पछिल्लो पटक सरकार र दलहरूबीचको संवादले चुनावी माहोलको गियर बढाउँदै लगेको नेताहरू बताउँछन् ।