
काठमाडौं : नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन पुनर्निर्माणका लागि २५ लाख रुपैयाँ संकलन गरेर हस्तान्तरण गरेको छ ।
सोमबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालयले बिपी स्मृति भवनमा एक संक्षिप्त कार्यक्रम गरी एसोसिएसनले पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठलाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो ।
त्यसअघि लोकतान्त्रिक एसोसिएसनमा आबद्ध व्यवसायीहरूले पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग पुनर्निर्माण भइरहेको पार्टी कार्यालय बिपी स्मृति भवनका बारेमा छलफल गरेका थिए ।
कार्यवाहक सभापति खड्काले नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको हैसियतमा क्रियाशील एसोसिएसनले रकम संकलन गरी हस्तान्तरण गरेकोमा धन्यवाद दिँदै पार्टी कार्यालयलाई पूर्ववत् रूपमा सञ्चालन गर्न सुभेच्छुक संस्था र पार्टीका सदस्यहरूबाट थप सहयोगको अपेक्षा गरिएको बताए ।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते आगजनी गरिएको कांग्रेस केन्द्रीय कार्यालयको अहिले धमाधम मर्मत कार्य भइरहेको छ । कांग्रेसले पार्टी कार्यालयको पुनर्निर्माणका लागि शुभेच्छुक, कार्यकर्ताहरूबाट चन्दा संकलनको अभियान नै चलाएको छ ।

आगजनीलगत्तै कांग्रेस कार्यकर्ताले क्षतिग्रस्त भवनको मूल ढोकामा ‘हामी फेरि उठ्ने छौं’ लेखिएको ब्यानर टाँगेर बिपी स्मृति भवनलाई पूर्ववत् रूपमा फर्काउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सहयोग रकम संकलनका लागि एसोसिएसनमा आबद्ध वैदेशिक रोजगार व्यवसायीहरूका अतिरिक्त कांग्रेसका केन्द्रीय सदस्य तथा कांग्रेस वैदेशिक रोजगार तथा प्रवास समन्वय समितिका प्रमुख प्रकाश रसाइली स्नेहीलगायतले सक्रिय भूमिका खेलेका थिए ।
सहयोग हस्तान्तरण कार्यक्रममा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, एसोसिएसनका अध्यक्ष दीपक थापा, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङ, महासचिव महेशकुमार बस्नेत, संघका सल्लाहकार वरिष्ठ व्यवसायी नवराज केसी, एसोसिएसनका पूर्वअध्यक्ष नरेन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष रामप्रसाद गैरे, तृतीय उपाध्यक्ष सेमन्तराज न्यौपाने, कार्यवाहक महासचिव तुलसी पुरी, कार्यसमिति सदस्य दीपककुमार राय, शालिकराम अधिकारी, पूर्वतृतीय उपाध्यक्ष त्रिलोकचन्द विश्वास विक, लिलबहादुर तामाङलगायतका व्यवसायी सहभागी रहेका थिए ।
सहयोग हस्तान्तरणपछि अध्यक्ष थापाले क्षमता र सामथ्र्यले भ्याएसम्म एसोसिएसनले मातृ पार्टी नेपाली कांग्रेसका कार्यालय भवन निर्माण र अन्य सामाजिक सेवाका कामलाई निरन्तरता दिने योजना रहेकोे बताए ।
एसोसिएसनले यसअघि काठमाडौं महानगरपालिका वडा नं. ११ बबरमहलस्थित विवेक स्वच्छ सेवा केन्द्र नामक बालगृहलाई ५ लाख रुपैयाँ बराबरको शैक्षिक सामाग्रीलगायतको सहयोग हस्तान्तरण गरेको थियो ।