२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

पोखरिया नगरपालिकाको १०औं हिउँदे नगरसभा सम्पन्न

shivam cement
लालबाबु बानिया
२०८२ पुष २१ गते २१:०३
Shares
पोखरिया नगरपालिकाको १०औं हिउँदे नगरसभा सम्पन्न

पर्सा : पर्साको पोखरिया नगरपालिकाको १०औं हिउँदे नगरसभा सोमबार सम्पन्न भएको छ । पोखरिया नगरपालिकाको सभा हलमा सम्पन्न नगरसभाको उद्घाटन नगरप्रमुख प्रद्युम्न चौहानले पानसमा दीप प्रज्वलन गरेर गरेका थिए । नगरप्रमुख चौहानको अध्यक्षतामा सम्पन्न नगरसभामा पोखरिया नगरपालिकाको विकासका लागि आफू निरन्तर लागिपरेको बताए । 

उनले मालपोत कार्यालय, नापी शाखा तथा प्रदेशिक अस्पताल नगरपालिकाभित्र ल्याउन सफल भई राम्रो काम भएको उल्लेख गरे । साथै इलाका प्रशासन कार्यालय स्थापनाको कार्य पूरा भइसकेको र केही दिनमै स्थापना हुनेमा जोड दिए । नगरप्रमुख चौहानले नेरा मावि महोबनी विद्यालय भवन निर्माणका लागि टेन्डर भइसकेको जानकारी दिए । 

त्यस्तै जिल्ला उच्चाङ्गल रामदेव माविको पुरानो भवनलाई नयाँ भवन निर्माणका लागि व्यवस्थापन गरिएको उनले बताए । 

नगरविकास समितिको सहयोगमा बजार क्षेत्रमा खटाल निर्माण गर्ने तथा नगरपालिकाभित्र उद्योग व्यवस्थापन गरिएकोले ती सबै कार्यक्रम हिउँदे नगरसभाबाट पारित गरिएको जानकारी दिए । 

नगरपालिकाको योजनाअन्तर्गत रहेका निर्माण लगायतका काम आफूले सकेसम्म बाँकी नराखेको नगरप्रमुख चौहानले बताए । राजनीतिकर्मी, जनप्रतिनिधि र कर्मचारीहरूबीच समन्वय गरेर अगाडि बढेकै कारण अहिले विकास निर्माणका धेरै काम अघि बढिरहेको उनको भनाइ थियो । 

यस वर्ष घाटा रकम रहेकाले विकास निर्माणका काममा केही ढिलाइ भएको नगरप्रमुख चौहानले स्पष्ट पारे । बजेटभन्दा बढी रकमको बजेट बनेकाले समस्या देखिएको भन्दै उनले जनप्रतिनिधिसँग बाँकी रहेका विकास निर्माणका काम माघ महिनादेखि सुरु हुने जानकारी दिए । हिउँदे नगरसभा कार्यक्रममा उप–नगरप्रमुख रुबी ठाकुरले स्वागत मन्तव्य व्यक्त राखेकी थिइन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले आफू भर्खरै आएको उल्लेख गर्दै आफ्नो हस्ताक्षरबाट हुने कामलाई पहिलो प्राथमिकतामा राख्ने र जनताका काम छिटोछरितो रूपमा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

विकास बजेटको विषयमा जनप्रतिनिधिहरूलाई जानकारी गराउँदै समयमै ध्यान नपुग्दा नेपाल सरकारबाट आउने बजेटभन्दा बढी बजेट बनेको उनले बताए । आगामी दिनमा बजेट संशोधन गरी विकासका काम अघि बढाइने अधिकृत जोशीले बताए । 

कार्यक्रममा वडाध्यक्षहरू लक्ष्मण साह कानु, नौसाद आलम, प्रमोद गिरी, केदार प्रसाद, महेन्द्र महतो, शियानन्द चौहान, प्रमन्नद पटेल, किसोरी साह, कार्यपालिका सदस्य रामबचन महतो, अजय साह लगायतले हिउँदे नगरसभाको सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

कार्यक्रममा कार्यपालिका सदस्य, नगरपालिका सदस्य, कर्मचारी लेखापाल मन्दिप महतो, योजना शाखा प्रमुख संजय पाण्डे, अधिकृत विजय झा, स्वास्थ्य संयोजक कौसलेन्द्र झा, आईटी अफिसर अरबिन्द दुबेदी, सन्दिप साह, भगवान साह, सामाजिक शाखा प्रमुख वाल्मीकि साह, कर्मचारीहरू, पत्रकार, सुरक्षाकर्मी लगायतको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा सह–संयोजक शिवसिंह पटेलले गरेका थिए । 

सम्बन्धित खबर