
पर्सा : दुई दिनदेखि वीरगन्जमा चलिरहेको आन्दोलनलाई मध्यनजर गर्दै सामाजिक सद्भाव कायम गर्न हिन्दु–मुस्लिम समुदायका अगुवाबीच ५बुँदे सहमति भएको छ । उक्त सहमति भएसँगै प्रशासनले लगाएको कर्फ्यु आदेश पनि हटाइएको छ ।
दुई फरक समुदायबीचको तनावका कारण अशान्त बनेको वीरगन्जमा धार्मिक तथा सामाजिक सद्भाव कायम गर्न जिल्ला प्रशासन कार्यालय पर्सामा मंगलबार सुरक्षा निकायका प्रमुखहरूको रोहबरमा हिन्दु र मुस्लिम समुदायका अगुवाहरू सम्मिलित सर्वपक्षीय बैठक बसेको थियो । उक्त बैठकले सामाजिक सद्भाव कायम गर्ने लगायतका विषयमा ५ बुँदे सहमति गरेको हो ।
५बुँदे सहमति भएसँगै दुई दिनदेखि विवादका कारण प्रशासनद्वारा लगाइएको कर्फ्यु मंगलबार अपरान्ह साढे ३ बजेदेखि हटाइएको छ । गत आइतबारदेखि अशान्त बनेको वीरगन्जमा मंगलबार अपरान्ह साढे ३ बजेदेखि कर्फ्यु हटाइएसँगै जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । बजारहरू खुलेका छन् भने सडकमा आवागमन पनि सुचारु बनेको छ ।
मंगलबार जिल्ला प्रशासन कार्यालयमा सम्पन्न सर्वपक्षीय बैठकमा भएको ५बुँदे सहमतिअनुसार अन्य मुलुक वा नेपालकै अन्य जिल्लामा हुने धार्मिक वा सामाजिक घटना/दुर्घटनाको विषयलाई लिएर वीरगन्जमा प्रदर्शन वा आन्दोलन नगर्ने उल्लेख छ। यदि गर्नै परेमा सम्बन्धित पक्षले जिल्ला प्रशासन कार्यालयबाट अग्रिम अनुमति लिई प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापन पत्र पेस गरेपछि मात्रै आन्दोलनको कार्यक्रम गर्ने सहमति भएको छ ।
यसैगरी भविष्यमा हुन सक्ने धार्मिक तथा सामाजिक सद्भावविरुद्धका गतिविधिहरू नियन्त्रण गर्न हिन्दु र मुस्लिम समुदायका अगुवासहित सम्मिलित सद्भाव समिति गठन गरिएको छ । उक्त सद्भाव समितिमा हिन्दु समुदायका तर्फबाट रञ्जित साह र रञ्जन सिंह, मुस्लिम समुदायका तर्फबाट महमद महबुब अली (शेरु) र मौलाना असगर मदनी, राजनीतिक दलका एक–एक जना प्रतिनिधि, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष तथा नागरिक समाजका एक जना प्रतिनिधि रहने सहमति गरिएको छ ।
उक्त सद्भाव समितिले भविष्यमा हुन सक्ने धार्मिक तथा सामाजिक सद्भावविरुद्धका गतिविधिहरू नियन्त्रण गर्ने तथा आवश्यक कानुनी कारबाहीका लागि कानुनी निकायमा सिफारिस गर्ने सहमति पनि गरिएको छ ।
यसैगरी सर्वपक्षीय बैठकमा सञ्चारकर्मीहरूलाई समाचार सम्प्रेषण गर्नु अघि धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भावमा खलल नपुग्ने गरी समाचार सम्प्रेषण गर्न अनुरोध गर्ने, धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भाव बिथोल्न दुरुत्साहन गर्ने समूह वा आन्दोलनकारीलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासन सक्रिय रहने, साथै सबै पक्षले आ–आफ्नो समूहका तर्फबाट भएका कमजोरीको मनन गर्दै आ–आफ्नो समुदायका व्यक्तिलाई अनुशासन, आत्मसंयम र सद्भाव कायम राख्न अपिल गर्ने सहमति पनि गरिएको छ ।
वीरगन्जमा विद्यमान परिस्थितिलाई सहज बनाउन सबैले आ–आफ्नो स्थानबाट सक्रिय तथा सकारात्मक भूमिका निर्वाह गर्दै थप विरोध कार्यक्रम नगर्ने बुँदा पनि ५बुँदे सहमतिपत्रमा उल्लेख रहेको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए ।
सर्वपक्षीय बैठकमा ५ बुँदे सहमति भएपछि वीरगन्जमा सोमबारदेखि लगाइएको कर्फ्यु आदेश मंगलबार अपरान्ह ३ः३० बजेदेखि हटाइएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।
गत शनिबार धनुषामा मस्जिदमा तोडफोड गरिएको घटनालाई लिएर वीरगन्जमा गत आइतबारदेखि दुई फरक समुदायबीच प्रदर्शन भएपछि अवस्था तनावग्रस्त बनेको थियो । त्यसपछि सोमबार दिउँसो १ बजेदेखि वीरगन्जमा निषेधाज्ञा र त्यसपछि कर्फ्यु लगाइएको थियो ।