
महिलाको नेतृत्व सहजै स्वीकार गर्न नसक्ने समाजले डा. जानुका नेपाललाई पनि सजिलै स्वीकार गरेको भने होइन । विद्यालयमा ‘हेड सर’ भनेर खोज्दा पुरुषकै उपस्थितिको अपेक्षा गरिने समाजमा उनलाई पनि ‘म नै हुँ हेड सर’ भनेर मानिसलाई बुझाउन र चिनाउन समय लाग्यो ।
उनी काठमाडौं नीलबाराही माध्यमिक विद्यालयमा प्रधानाध्यापक छिन् । नेतृत्व लिनेबेला कतिपयले महिलाको नेतृत्व कस्तो होला भनेर प्रश्न पनि गरेका थिए । त्यो प्रश्नको जवाफ आफूले बोलेर होइन, काम गरेर दिएको नेपाल बताउँछिन् । उनले पढाउन सुरु गर्दा १ सय विद्यार्थी रहेको विद्यालयमा अहिले हजार धेरै पुगेका छन् ।
कमजोर नतिजा ल्याउने र थोरै विद्यार्थी संख्या रहेको विद्यालय मर्ज हुने अवस्थामा थियो । तर अहिले योे नमुना विद्यालय बनेको छ । सुरुमा जिल्ला शिक्षा कार्यालयका अधिकारीहरू उनले नेतृत्व गर्न सक्दिनन् कि भनेर हच्किएका थिए । विद्यालयकै अरू कर्मचारीहरूले नेतृत्व गर्न सक्नुहुन्छ भनेपछि मात्र २०६२ सालमा उनी प्रधानाध्यापक नियुक्त भएकी थिइन् ।
सुरुमा उनले विद्यार्थी, अभिभावक र शिक्षकसँग मिलेर आफ्नो विद्यालय आफैं राम्रो बनाउने अभियान चलाइन् । त्यसको प्रभाव दोस्रो वर्ष नै देखियो । फलस्वरूप २ सय विद्यार्थी थपिए । वर्षैपिच्छे विद्यार्थी थपिँदै अहिले १ हजार धेरै विद्यार्थी पुगिसकेका छन् । प्रधानाध्यापक नेपालले विद्यालय सुधार गर्ने संकल्प नै लिएकी थिइन् । त्यसका लागि योजना बनाइन् । समय व्यवस्थापन गरिन् । सबैभन्दा धेरै विद्यार्थीसँग नजिकिइन् र परिचालन गरिन् । नेपालले विद्यालयको शिक्षक मात्र होइन, विद्यार्थी र अभिभावकबीच पनि पुलको काम गरिन् । सबैलाई विद्यालय जोडेर राख्ने क्रममा उनले विभिन्न कार्यक्रम बनाइन् । महिनैपिच्छे अभिभावक भेला गर्ने नियम बनाइन् ।
कमजोर विद्यार्थीलाई स्कुल अगाडि र पछाडि जुनसुकै समयमा पनि सिक्ने वातावरण निर्माण गरेर अभिभावकलाई ‘मेरो बच्चा कमजोर छैन’ भन्ने तहमा पुर्याइन् । नियुक्ति पाएको केही वर्षमै आफूले नेतृत्व गरेको विद्यालयलाई निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने बनाएको उनी बताउँछिन् ।
महिलाले एउटा मात्र जिम्मेवारी पूरा गरेर हुँदैन । परिवार र पेसा सँगै बोकेर हिँड्दा नेतृत्व व्यवस्थापन गर्न सक्दैनन् कि भन्ने सधैं प्रश्न उठ्छ । तर प्रधानाध्यापक नेपाल महिलाले जिम्मेवारी पाए अझै राम्रोसँग पूरा गर्ने बताउँछिन् । ‘एक त महिलालाई नेतृत्वमा आउनै चुनौती छ, नेतृत्व पाइहाले पनि योग्यतामाथि प्रश्न उठाउने, असहयोग गर्ने प्रवृत्ति छ,’ उनी भन्छिन्, ‘तर ठाउँ पाएको खण्डमा पुरुषभन्दा महिलाको नेतृत्व सफल भएका छन्, हामीले गरेका छौं ।’
उनी प्रधानाध्यापक भएको लगभग दुई दशक नाघिसक्यो । यसबीचमा उनले थुप्रै प्रश्न सामना गर्नुपर्यो । परम्परागत सोच र पुरुषप्रधान समाजले महिलामाथि सधैं प्रहार गर्ने प्रवित्तिले उनलाई पनि छोडेन । राज्यले महिलालाई प्राथमिकतामा राखेको छ तर व्यवहारमा भने लागू नगरेको उनको बुझाइ छ । २०१० सालमा स्थापना भएको विद्यालय २०६१ मा मर्ज हुने अवस्थामा थियो । २०६२ सालमा नेतृत्वमा आएकी प्रधानाध्यापक नेपालले २० वर्षमै नीलबाराही माध्यमिक विद्यालयलाई नमुना विद्यालय बनाएकी छन् ।