२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

पर्साको पोखरियामा प्रादेशिक अस्पताल सञ्चालनमा, पश्चिमी क्षेत्रका जनतालाई राहत

shivam cement
लालबाबु बानिया
२०८२ पुष २६ गते २१:२१
Shares
पर्साको पोखरियामा प्रादेशिक अस्पताल सञ्चालनमा, पश्चिमी क्षेत्रका जनतालाई राहत

पर्सा : प्रदेशिक अस्पताल पोखरियाको एक विशेष समारोहकाबीच उद्घाटन गरिएको छ । पर्साको दोस्रो सदरमुकामको रूपमा रहेको पोखरियामा निर्माण गरिएको प्रादेशिक अस्पतालको मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा प्रसाद यादव र मधेश प्रदेशका स्वास्थ्य मन्त्री जंगीलाल यादवले संयुक्त रूपमा शिलालेख अनावरण गर्दै उद्घाटन गरेका हुन् । 

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री यादवले प्रदेशिक अस्पताल पोखरियाको विकासका लागि आफू पूर्ण रूपमा तत्पर रहेको बताए । 

उनले मधेश प्रदेशका विभिन्न मन्त्रालयहरू, मेडिकल सुपरिटेन्डेन्ट, डाक्टर तथा कर्मचारीहरूको उपस्थितिमा प्रदेशिक अस्पतालहरूमा आवश्यक जनशक्ति सरुवा गरिसकिएको जानकारी दिए । 

यदि सरुवा भएको स्थानमा स्वास्थ्यकर्मीहरू नजाने हो भने कारबाही गर्ने निर्देशन मन्त्रालयका सचिवलाई दिइसकेको मुख्यमन्त्री यादवले स्पष्ट पारे । 

मुख्यमन्त्री यादवले प्रदेशिक अस्पतालहरूको अवस्थाबारे चर्चा गर्दै वीरगञ्ज वरपरका जनताले स्वास्थ्य सेवा लिन सहज भएपनि पश्चिमतर्फका जनतालाई वीरगञ्ज आउन–जान तथा महँगो स्वास्थ्य सेवा लिन समस्या देखिएको बताए । त्यसैले उनले जिल्लाको दोस्रो सदरमुकामको रूपमा रहेको प्रदेशिक अस्पताल पोखरियालाई सक्षम र प्रभावकारी बनाउन विशेष जोड दिएका छन् । उनले अस्पतालको भौतिक संरचना, दक्ष डाक्टर तथा अत्याधुनिक स्वास्थ्य उपकरणको व्यवस्था गरी यस क्षेत्रका जनतालाई सहज स्वास्थ्य सेवा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे । 

कार्यक्रममा मुख्यमन्त्री यादवले मधेश प्रदेशमा चारवटा प्रदेशिक अस्पताल स्थापना गर्ने निर्णय प्रदेश सभाबाट पारित भइसकेको र तीमध्ये पोखरिया अस्पताल पनि रहेको उल्लेख गर्दै प्रदेशिक अस्पताल पोखरियालाई पूर्ण सहयोग गरिने प्रतिबद्धता जनाए । 

साथै, यस क्षेत्रको समग्र विकासका सन्दर्भमा टाउन हल र स्टेडियमका लागि छुट्याइएको बजेटलाई निरन्तरता दिइ बहुवर्षीय योजनामा राखेर सम्पन्न गर्ने उद्घोष गरे । 

कार्यक्रममा बोल्दै मधेश प्रदेशका स्वास्थ्य मन्त्री जंगीलाल यादवले अब पोखरिया अस्पताललाई प्राविधिक मोडलको अस्पतालका रूपमा विकास गरिने बताए । 

उनले बाहिरका निजी स्वास्थ्य संस्थाजस्तै प्रदेशिक अस्पताल पोखरियामा पनि सस्तो, गुणस्तरीय तथा सुविधाजनक स्वास्थ्य सेवा उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे । प्रदेशिक अस्पताल पोखरियालाई नमुना अस्पतालको रूपमा विकास गर्न सक्दो सहयोग गरिने उनले जानकारी दिए । 

कार्यक्रम अस्पताल विकास समिति पोखरियाका अध्यक्ष उमेश चौहानको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा पूर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरी, मधेश प्रदेशका कृषि मन्त्री श्याम प्रसाद पटेल, वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरी, पूर्व कृषि मन्त्री तथा प्रदेश सांसद जनार्धन क्षेत्री, पूर्व खेलकुद मन्त्री प्रमोद जयसवाल, मधेश प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव प्रमोद यादव, स्वास्थ्य कार्यालय पर्साका प्रमुख विनोद झा, पोखरिया नगरप्रमुख प्रधुमन चौहान, पूर्व नगरप्रमुख दिप नारायण रौनियार, पूर्व उपप्रमुख सलमा खातुन, नेता नजामुदिन समानी, राजु साह, पनालाल पटेल, प्रदेशिक अस्पताल पोखरियाका मेडिकल सुपरिटेन्डेन्ट आनन्द रौनियार लगायतले पोखरिया अस्पताल तथा यस क्षेत्रका विकास निर्माणसम्बन्धी समस्याहरू प्रकाश पारेका थिए । 

साथै, सहभागी वक्ताहरूले प्रदेशिक अस्पताल पोखरियाको उत्तर–उत्तर प्रगतिको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन स्वास्थ्य सहसंयोजक शिव पटेलले गरेका थिए । 

सम्बन्धित खबर