
पर्सा : पर्साको पटेर्वासुगौली र जिराभवानी गाउँपालिकामा एकै दिन दुई वटा कृषि तथा पशुपन्छी सेवा केन्द्रको उद्घाटन तथा हस्तान्तरण गरिएको छ ।
शनिबार छुट्टाछुट्टै कार्यक्रमबीच कृषि तथा पशुपन्छी मन्त्री डा.मदन प्रसाद परियारले दुवै गाउँपालिकामा आधुनिक मोडेलमा निर्माण गरिएका कृषि तथा पशुपन्छी सेवा केन्द्रका नवनिर्मित भवनको सिलालेख अनावरण तथा फिता काटेर उद्घाटन गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री परियारले सेवा केन्द्र सञ्चालनमा आएपछि स्थानीय किसान तथा पशुपालकहरूलाई सेवा लिन सहज हुने बताए । पहिले गाउँपालिकाका कार्यालय मन्दिरका भवनमा सञ्चालन हुँदै आएको स्मरण गर्दै अहिले आफ्नै प्रशासनिक भवन नजिकै आधुनिक सेवा केन्द्र निर्माण हुनु खुसीको विषय भएको उनले उल्लेख गरे ।
नेपालका ६ वटा प्रदेशका १ सय ७१ पालिकामा यो योजना रहेकामा हालसम्म ७४ पालिकामा निर्माण सम्पन्न भइसकेको र तीमध्ये पटेर्वा सुगौली र जिराभवानी पनि परेको जानकारी उनले दिए ।
नवनिर्मित भवनमा पशु उपचारका लागि औषधिसहित सल्यक्रियाका उपकरण, माटो परीक्षण सेवा, कृषि औजार तथा उपकरण, साथै प्राविधिक परामर्शदाताको व्यवस्था गरिएको मन्त्री परियारले बताए । उनले यस क्षेत्रको विकासका लागि आफू सधैं तयार रहेको र गाउँपालिका अध्यक्षको सक्रियताले विकास निर्माणका कामले गति लिएको उल्लेख गरे ।
ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाका निर्देशक डा.चन्द्र रिजालका अनुसार पटेर्वा सुगौली गाउँपालिकामा करिब साढे दुई करोड र जिराभवानी गाउँपालिकामा करिब दुई करोड रुपैयाँको लागतमा दुईतले कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन निर्माण गरिएको हो ।
अपांगता भएका सेवाग्राहीका लागि ह्वीलचेयर पहुँचको व्यवस्था गरिएको र महिला सेवाग्राहीका लागि बालकलाई दूध खुवाउने कक्ष समेत निर्माण गरिएको उनले जानकारी दिए ।
पटेर्वा सुगौलीमा गाउँपालिका अध्यक्ष दिनेश चौधरीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा मन्त्री परियारकी धर्मपत्नी कल्पना परियार, आयोजना निर्देशक डा. चन्द्र रिजाल, मिडिप बर्दिबासका प्रमुख राजेश साह, कृषि अनुसन्धान केन्द्र परवानीपुरका निर्देशक डा. विशेष्वर प्रसाद यादव, उपाध्यक्ष ममता महतो, प्रमुख प्रशासकीय अधिकृत प्राण मेहता लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा उत्कृष्ट किसान तथा पशुपालकहरूलाई घाँस काट्ने मेसिन र कृषि मोटर प्रदान गरी सम्मान गरिएको थियो ।
त्यसैगरी जिराभवानी गाउँपालिकामा पनि मन्त्री परियारले नवनिर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्रको उद्घाटन तथा हस्तान्तरण गरेका छन् । गाउँपालिका अध्यक्ष अनोज चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रेखा चौधरी, प्रमुख प्रशासकीय अधिकृत अमित गिरी, विभिन्न वडाध्यक्ष, कार्यपालिका सदस्य तथा स्थानीय जनप्रतिनिधिको सहभागिता रहेको थियो ।