२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

वृद्धलाई विश्राम

shivam cement
भावना पाठक
२०८२ माघ ७ गते ०६:२५
Shares
वृद्धलाई विश्राम

काठमाडौं : डडेल्धुराबाट निरन्तर सातपटक चुनाव जितेका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले मंगलबार महाराजगन्जस्थित निवासमै दिन बिताए । २०४८ यताका कुनै पनि निर्वाचन उनले हारेका थिएनन् । पाँचपटक प्रधानमन्त्री बनेका देउवा अन्तिमपटक चुनाव लडेर संसदीय यात्रा बिट मार्ने मनस्थितिमा थिए । तर यहीबेला विशेष महाधिवेशनबाट नयाँ नेतृत्व आइदियो । नवनिर्वाचित सभापति गगनकुमार थापा उनलाई चुनावी मैदानमा देख्न चाहँदैनथे । तैपनि सोमबार अबेर रातिसम्म डडेल्धुराको टिकट होल्ड गरिएको थियो । कांग्रेस नेतृत्वको वैधानिकतामाथि प्रश्न उठाउँदै अदालत पुगेका देउवाले अन्ततः थापाले हस्ताक्षर गरेको टिकट लिएर चुनाव लड्ने जाँगर देखाएनन् । 

देउवा मात्र होइन्, यसपटकको चुनावमा विविध कारणले थुप्रै नेताले विश्राम लिएका छन् । त्यस्तै, कैलाली–५ मा निवर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई सिफारिस गरिए उनले पनि टिकट पाइनन् । कांग्रेसले पूर्वकार्यवाहक सभापति पूर्णबहादुुर खड्का, पूर्वउपसभापतिहरू प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्री डा. शशांक कोइरालालगायत नेताहरूलाई यसपटक टिकट दिएन ।  

अर्का पूर्वप्रधानमन्त्री एवं नेकपाका नेता झलनाथ खनालका लागि आफूले लड्दै आएको इलाम १ टाढा भयो । जेनजी आन्दोलनका क्रममा आगजनीमा परेकी पत्नी रविलक्ष्मीलाई एक्लै छाडेर चुनाव लड्न जाने स्थिति नभएको भन्दै उनले नजिकका निर्वाचन क्षेत्र मागेका थिए । तर उपयुक्त क्षेत्र नभेटिएपछि तीन दशक लामो संसदीय प्रतिस्पर्धाबाट बाहिरिए । 

नेकपाकै अर्का नेता वामदेव गौतम प्रतिनिधि सभा सदस्य चुनाव लड्नकै लागि राष्ट्रिय सभा सदस्यबाट राजनीमा दिएका थिए । तर बर्दिया १ मा उठ्ने उनको चाहना पनि पूरा भएन । पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपाल सुरुदेखि नै उनलाई उम्मेदवार बनाउन इच्छुक थिएनन् । भन्नलाई दुवै क्षेत्रमा एउटै समुदाय हुने भएकाले छाडेको बताए पनि स्थानीय नेता कार्यकर्ताको मुड बुझेर उनी आफैं ‘ब्याक’ भएका हुन् । त्यस्तै, नेकपा एमालेले पूर्वउपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, युुवराज ज्ञवाली, सुरेन्द्र पाण्डे पनि यसपटक चुनावी मैदानमा छैनन् । शाक्य र ज्ञवाली अघिल्लो चुनावबाटै बिदा भइसकेका थिए । ११औं महाधिवेशनबाट पार्टी नेतृत्वबाट पनि अवकाश लिइसकेका छन् ।

कांग्रेसका केही पुराना नेताहरूले चुनावी मैदानमा छन् । पूर्वउपसभापति विमलेन्द्र निधीले धनुषा ३ बाट उम्मेदवारी दिएका छन् । त्यस्तै, डा. शेखर कोइरालाले मोरङ–६ बाट उम्मेदवारी दिएका छन् । सभापति थापाका ससुरासमेत रहेका पुुराना नेता अर्जन नरसिंह केसी समानुपातिक बन्द सूचीमा खसआर्य क्लस्टरको एक नम्बरमा उम्मेदवार छन् । नेपालको परिवर्तनको आन्दोलन, लोकतान्त्रिक व्यवस्था स्थापना र रक्षार्थ लामो राजनीतिक लगानी गर्नुभएको नेताहरूलाई सम्मानका साथ विश्राम लिनुुस् भनेर नयाँ नेताहरूलाई टिकट दिइएको कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताए ।  

सम्बन्धित खबर