२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

एक्लै चुनाव लड्ने माओवादीको घोषणा

ADV
शिव विक
२०८१ साउन १६ गते ०६:५०
एक्लै चुनाव लड्ने माओवादीको घोषणा

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले आगामी चुनाव एक्लै चुनाव लड्ने घोषणा गरेको छ । 

दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले आगामी चुनावमा गठबन्धन नगर्ने प्रतिवद्धता जनाइरहेका बेला तेस्रो ठूलो दल माओवादी केन्द्रल पनि एक्लै चुनाव लड्ने माओवादीको घोषणा गरेको हो । 

यसअघि माओवादीले कहिले एमालेसित त कहिले कांग्रेससित मिलेर स्थानीय तह, प्रदेश र संघीय संसदको चुनाव लडेको छ । माओवादी कांग्रेस र एमालेसित मिलेर लामो समयदेखि सरकारमा पनि रहँदै आएको पार्टी हो ।

अहिले कांग्रेस र एमाले नै मिलेर सरकार बनाएपछि माओवादी प्रमुख प्रतिपक्षी भूमिकामा पुगेको छ । यो अवस्थामा बसको माओवादी केन्द्रको पदाधिकारी बैठकले आगामी चुनाव एक्लै लड्ने गरी अगाडि बढ्ने घोषणा गरेको हो । 

मंगलबार सम्पन्न पदाधिकारी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन एक्लै लड्ने बताएका थिए । २०८४ मा हुने आमनिर्वाचन एक्लै लडेर जित्ने र भ्रष्टहरूलाई पुनः बढार्ने उनको भनाइ छ । 

प्रचण्डले भनेका छन्, ‘२०८४ को चुनाव एक्लै लड्ने र जित्ने योजनाका साथ अगाडि बढ्ने योजना बनाएका छौं ।’

प्रचण्डले विगत १८ महिना सरकारको नेतृत्वमा रहँदा आफूले सुशासन, सामाजिक न्यायका पक्षमा अहोरात्र काम गरेको दाबी गरेका छन् । यसलाई जनतामा लिएर जाने उनको योजना छ । 

प्रचण्डले अब आफू देशभर जनतामाझ जाने पनि बताएका छन् । जनसम्बन्ध विस्तार गर्ने लक्ष्यका साथ आफू जनतामाझ जान लागेको उनको भनाइ छ । 

संगठन विस्तार गर्ने, पार्टी नेता तथा तल्ला तहका कार्यकर्ताको भावना बुझ्ने र पार्टीलाई नयाँ आधारमा रूपान्तरण गर्ने लक्ष्यका साथ आफू देशभर विशेष कार्यक्रम लिएर जाने योजनामा रहेको अध्यक्ष प्रचण्डले पदाधिकारी बैठकमै बताएका हुन् । 

पार्टी प्रवक्ता एवं उपाध्यक्ष अग्नि सापकोटाका अनुसार सरकारमा रहँदा जनतासँग पार्टीको सम्बन्ध टुटेको भन्ने नेताहरूको भनाइपछि अध्यक्ष प्रचण्डले नयाँ आधारमा जनसम्बन्ध विस्तार गर्ने लक्ष्यका साथ आफू र पार्टीका शीर्ष नेता देशभर जानैपर्ने बताएका हुन् । 

सापकोटाका अनुसार ‘आगामी माओवादी केन्द्रले कुनै दलसँग गठनबन्धन नगरी आगामी निर्वाचनमा सहभागी हुने नीति लिने भएतापनि कम्युनिष्ट र बृहत् वामपन्थी एकताको लक्ष्यलाई भने छाड्ने छैन ।’

सरकारमा रहँदा सुशासन र सामाजिक न्यायका पक्षमा सञ्चालन गरेको कामलाई जनतामाझ लैजाने र भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा सञ्चालित अभियानलाई निरन्तरता दिन सरकारलाई जनस्तरबाट दबाव दिने निष्कर्षसमेत बैठकले निकालेको छ ।

सापकोटाका अनुसार संघीय संसदमा प्रभावकारी रूपमा प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्ने, त्यसका लागि जनताका दैनिक समस्यालाई  प्रभावकारी रूपमा राख्ने र समाधानका लागि सरकारलाई दबाब दिने योजना माओवादी केन्द्रले बनाएको छ ।  

आफूहरूलाई जनतामा जाने सुवर्ण अवसर प्राप्त भएको निष्कर्ष निकाल्दै माओवादी केन्द्रले आगामी केन्द्रीय समितिको बैठकपछि पार्टीको शीर्ष नेतृत्व नै देश दौडाहामा लाग्ने पनि बताएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise