२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

पोखरियामा करिब ७ सय ४० लाई एचपीभी खोप दिने लक्ष्य

shivam cement
लालबाबु बानिया
२०८२ माघ २२ गते २२:४२
Shares
पोखरियामा करिब ७ सय ४० लाई एचपीभी खोप दिने लक्ष्य

पर्सा : पर्साको पोखरिया नगरपालिकामा माघ २६ गते महिलामा पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एचपीभी खोप अभियान सञ्चालन हुने भएको छ । 

सो अभियानका बारेमा जानकारी दिन स्वास्थ्य कार्यालय पोखरियाको आयोजनामा पालिका स्तरीय खोप समन्वय समिति, सञ्चारकर्मी तथा सरोकारवालासँग अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

पोखरिया नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा पोखरिया स्वास्थ्य शाखा सहसंयोजक शिवकुमार पटेलले खोप अभियानसम्बन्धी विस्तृत जानकारी गराएका थिए । उनका अनुसार नगरपालिकाका १० वटै वडामा सञ्चालन हुने अभियानमा करिब ७ सय ४० जना लक्षित छन् । जसअन्तर्गत कक्षा ६ मा अध्ययनरत बालिका तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरीहरूलाई एचपीभी खोप लगाइनेछ ।

यसैगरी, गत वर्ष छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत बालिका तथा विद्यालय नजाने ११ देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई पनि एचपीभी खोप लगाइने सहसंयोजक पटेलले जानकारी दिए । उनले अभियानका क्रममा कुनै आग्रह–पूर्वाग्रह नराखी लक्षित उमेर समूहका सबै बालिका तथा किशोरीलाई खोप लगाउन स्वास्थ्यकर्मीलाई आग्रह गरे ।

अभियानलाई सफल बनाउन पालिका जनप्रतिनिधि, शिक्षक, राजनीतिक दल, सञ्चारकर्मी, संघ–संस्था लगायत सबै सरोकारवालाले सहयोग गर्नुपर्नेमा पटेलले जोड दिए । साथै, खोप अभियानमा खटिने स्वास्थ्यकर्मीहरूलाई काम गर्ने सहज वातावरण बनाइदिन अनुरोधसमेत गरे । 

कार्यक्रममा प्रस्तुत तथ्यांक अनुसार विश्वभर महिलामा पाठेघरको मुखको क्यान्सरका करिब ६ लाख ७० हजार बिरामी रहेका छन् भने वार्षिक करिब २ लाख ११ हजारको मृत्यु हुने गरेको देखिन्छ । नेपालमा मात्रै दैनिक चार जना महिलाको पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु हुने गरेको तथ्य सार्वजनिक गरिएको थियो । 

पोखरिया नगरपालिकाभित्र हरेक वर्ष करिब ४ सय महिलाको निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण हुने गरेको र तीमध्ये हालसम्म ३ जनामा पोजेटिभ देखिएको सहसंयोजक पटेलले जानकारी दिए। नगरपालिकामा हाल ३४ जना बिरामीले उपचार सहयोग पाइरहेका छन्, जसमध्ये १५ जना क्यान्सर रोगी रहेको उनले बताए । एचपिभी खोप लगाएपछि पाठेघरको मुखको क्यान्सर हुने जोखिम अत्यन्त न्यून हुने विश्वास रहेको भन्दै सहसंयोजक पटेलले खोप अभियानलाई पूर्ण सफल बनाउन सबै अभिभावक, शिक्षक र समुदायको सक्रिय भूमिका आवश्यक रहेको बताए ।

अभिमुखीकरण कार्यक्रम पोखरिया नगरप्रमुख प्रद्युमन प्रसाद चौहानको अध्यक्षतामा सम्पन्न भएको थियो । नगरप्रमुख चौहानले चारैतर्फबाट सहकार्य गरी एचपीभी खोप अभियान सफल बनाउन आग्रह गर्दै नगरभित्रका सबै बालिका तथा किशोरीहरूलाई निगरानी गरी खोप दिलाउन सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा नगर उपप्रमुख रुबी ठाकुर, प्रमुख प्रशासकीय अधिकृत कौशलकिशोर झा, वडा अध्यक्षहरू लक्ष्मण साह, नौसाद आलम, प्रमोद गिरी, केदार महतो, महेन्द्र महतो, रामप्रवेश चौहान, किशोरी साह, कार्यपालिका सदस्यहरू रामबचन महतो, राधा साह, अजय गुप्ता, नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरियाका सभापति भगवान कुर्मी, विद्यालयका प्रधानाध्यापक, शिक्षक, सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।

ताजा खबर

सम्बन्धित खबर