
रौतहट : काठमाडौंस्थित नख्खु कारागारबाट फरार भएका एक कैदीलाई सशस्त्र प्रहरी बल नेपालले रौतहटको चन्द्रपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका २७ वर्षीय सागर खाती वि.क. रहेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल निर्वाचन क्षेत्र नं. ४ सुरक्षा बेस सन्तपुरबाट खटिएको विशेष टोलीले बुधबार बिहान चन्द्रपुर नगरपालिका–४ स्थित चन्द्रपुर चोकबाट उनलाई नियन्त्रणमा लिएको हो । चन्द्रपुर–४ ठाडाटोल निवासी खाती लामो समयदेखि सुरक्षा निकायको खोजी सूचीमा रहेका थिए ।
सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वनाथ जि.सी.को कमाण्डमा खटिएको ९ सदस्यीय मोबाइल टोलीले गोप्य सूचनाका आधारमा उक्त क्षेत्रमा निगरानी बढाएको थियो । सोही क्रममा शंकास्पद अवस्थामा भेटिएका खातीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनी कारागारबाट फरार भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार २०८२ भदौमा भएको ‘जेन–जेड’ आन्दोलनका क्रममा कारागारभित्र उत्पन्न तोडफोड तथा अव्यवस्थाको मौका छोपी उनी फरार भएका थिए ।
पक्राउ परेका खातीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी बाँकी कैद भुक्तानका लागि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा बुझाइएको छ । उनलाई सम्बन्धित कारागार चलान गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीले फरार कैदीहरूको खोजी कार्यलाई तीव्र बनाइएको जानकारी दिँदै देशभरबाट फरार भएका अन्य कैदीहरूको खोजीका लागि सुरक्षा निगरानी थप कडा पारिएको उल्लेख गरेको छ ।