
प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा मतदाता अझै अलमलमा रहेको पाइएको छ । निर्वाचन आयोगले सञ्चालन गरेको कल सेन्टरमा २ हजार ४ सयभन्दा बढी जिज्ञासा जति सकारात्मक छ, सोधिएका प्रश्नले मतदाता कुन हदसम्म अलमलमा छन् भन्ने पनि देखाउँछ । आएको चासोमध्ये आधाभन्दा बढी प्रश्न मतदाता नामावली र मतदान प्रक्रियासँग सम्बन्धित छ । त्यसले नागरिक अझै पर्याप्त जानकारीबाट वञ्चित रहेको बुझाउँछ । लोकतन्त्रको आधार नै सचेत मतदाता हुन् तर मतदातामै अन्योल देखिनुले सचेततापूर्वक आफ्नो प्रतिनिधि छान्ने कुरामै अस्पष्टता रहेको देखाउँछ । ‘मतदान कसरी गर्ने ?,’ ‘मतदान गर्न जाँदा के कागजपत्र लैजाने ?’जस्ता आधारभूत प्रश्न धेरैले सोध्नुले मतदाता शिक्षाको आवश्यकता अझै ठुलो रहेको देखाउँछ । मतदान प्रक्रिया जति सरल र स्पष्ट हुन्छ, नागरिकको सहभागिता त्यति नै बढ्छ । अन्यथा अलमलका कारण कतिपय मतदाता मतदान केन्द्रसम्म नपुग्ने वा बदर मत बढ्ने जोखिम रहन्छ ।
निर्वाचन आयोगले यो अवस्थालाई बुझ्दै देशभर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । प्रत्येक वडामा स्वयंसेवक परिचालन गरी घरदैलोमै पुगेर नमुना मतपत्रमार्फत जानकारी दिने तयारीमा आयोग छ । जुन सकारात्मक छ । साथै, टोल–फ्री नम्बर, सामाजिक सञ्जाल र सञ्चार माध्यममार्फत सूचना प्रवाह गर्ने प्रयास पनि भइरहेका छन् । तर यस्ता कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन्छन् कि हुँदैन भन्ने प्रश्न कायमै छ । चुनावमा मतदाता शिक्षा आयोगको जिम्मेवारी मात्र नभई राजनीतिक दल, स्थानीय तह, सञ्चारमाध्यम र नागरिक समाज सबैको दायित्वभित्र पर्छ । सही सूचना फैलाउने र भ्रम हटाउने काममा पनि सबैको हातेमालोको खाँचो देखिन्छ । विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रमा सूचना पुग्ने व्यवस्था मिलाउन पनि आयोगसँगै दल, उम्मेदवार, मिडिया र नागरिक समाजले पहल गर्नुपर्छ ।
सही प्रतिनिधि छान्न मतदाता स्वयं पनि सचेत बन्नुपर्छ । मतदान बालिग नागरिकको अधिकार मात्र होइन, राष्ट्र निर्माणको जिम्मेवारी पनि ठान्नुपर्छ । देशको नेतृत्व चयन गर्ने प्रक्रियामा सहभागी हुनुअघि आवश्यक जानकारी लिन जरुरी छ । अन्योलमा बस्नुभन्दा प्रश्न सोध्नु र बुझेर मतदान गर्दा आफूले चाहेको उम्मेदवारलाई अघि बढाउन सकिन्छ । त्यो नै सही अर्थमा लोकतन्त्रप्रतिको सम्मान हो । चुनाव आउन अब धेरै दिन बाँकी छैन । चुनावको मिति नजिकिँदै जाँदा मतदाताको अलमल हटाउनतर्फ सम्बद्ध सबैको ध्यान जानु जरुरी छ । स्पष्ट सूचना, प्रभावकारी शिक्षा र सबैको सहकार्यले मात्र निष्पक्ष र उत्साहजनक निर्वाचन सम्भव हुन्छ ।