२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

बंगलादेशको निर्वाचन सन्देश

shivam cement
२०८२ फागुन ३ गते ०६:३५
Shares
बंगलादेशको निर्वाचन सन्देश

बंगलादेशमा सम्पन्न संसदीय चुनावमा बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी)ले दुईतिहाइ बढी सिट जितेको छ । विद्यार्थी आन्दोलनले शेख हसिना नेतृत्वको सरकार ढलेपछि भएको निर्वाचनमा उनी नेतृत्वको अवामी लिगले चुनाव लड्न पाएन । निर्वाचनमा विद्यार्थी आन्दोलनपछि उदाएका नयाँ दल र पुराना दलहरू समेत प्रतिस्पर्धामा थिए । पुरानै मध्येको बिएनपीले उत्साहपूर्ण जित निकाल्यो । योसँगै बिएनपीले सरकार बनाउने निश्चित भएको छ । बंगलादेशमा आवधिक निर्वाचन भएको होइन । दुई वर्षअघिको निर्वाचनमा अवामी लिगले चुनाव जितेको थियो । नेतृत्वमा शेख हसिना थिइन् । उक्त निर्वाचनमा धाँधली गरेको आरोप उनीमाथि थियो । पछिल्लो डेढ दशकसम्म बंगलादेशमा शेख हसिनाको नेतृत्व सरकार चल्यो । उनी नेतृत्वको शासनलाई विपक्षीले अहंकारी भनेर टिप्पणी गर्दथे । लोकतान्त्रिक प्रक्रियामा हस्तक्षेप गरेको आरोपहरू पनि लागेका थिए । त्यही शासनको अन्त्यको माग गर्दै विद्यार्थीहरूले आन्दोलन गरे । आन्दोलनका क्रममा शेख हसिनाको नेतृत्वको सरकार ढल्यो । हसिना देश छाडेर भाग्न बाध्य भइन् । यो पृष्ठभूमिमा भएको निर्वाचनमा जनताले पुरानै शक्तिलाई रोजेका हुन् । 

पुरानो शक्ति भए पनि नेतृत्वमा नयाँ अनुहारका रूपमा तारिक रहमान शक्तिमा आएका छन् । रहमान पहिलो पटक औपचारिक रूपमा पार्टीको नेतृत्वमा आएका हुन् र चुनाव पनि पहिलो पटक नै लडेका हुन् । उनैलाई नयाँ प्रधानमन्त्री बनाउने भनेर बिएनपी चुनावमा गएको थियो । जनताले दुईतिहाइ बढी सिटमा यही दलका उम्मेदवारलाई जिताइदिए । यो चुनावी नतिजाले दक्षिण एसियाली राजनीतिमा नयाँ बहस जन्माएको छ । पुरानै दलको पुनरागमनले एउटा प्रश्न पनि उठाएको छ– आन्दोलनको ऊर्जा कहाँ गयो ? यो प्रश्न बंगलादेशमा मात्र सीमित छैन । नेपालका लागि पनि यो सान्दर्भिक छ । बंगलादेशमा लामो समय शासन गरेको लिगविरुद्ध र पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध व्यापक असन्तुष्टि थियो । सडक आन्दोलनले दुबैलाई सत्ताच्युत गर्‍यो । तर जब चुनाव आयो, मतदाताले विकल्पका रूपमा पुनः पुरानै शक्तिलाई रोजे ।  यसको स्पष्ट सन्देश छ– आन्दोलनले सत्ता हल्लाउँछ, तर चुनावी राजनीति संगठन र संरचनाले जित्छ । नेपालले यसबाट सिक्न सक्छ । यदि वैकल्पिक राजनीति संस्थागत हुन सकेन भने परिवर्तन केवल अनुहारमा सीमित रहनेछ ।

ताजा खबर

सम्बन्धित खबर