
प्रतिनिधिसभा सदस्य निर्वाचन आउन दुई साता बाँकी छँदा सिंगो मुलुक चुनावमय बनेको छ । प्रधानमन्त्री भइसकेकादेखि भावी प्रधानमन्त्री दाबी गरिरहेका नेताहरूसमेत मतदाताको घरआँगनमा पुगेका छन् । अरुबेला नेता भेट्न मुस्किल हुने सर्वसाधारणले घरदैलोमै उम्मेदवारसँग प्रतिबद्धता मागिरहेका छन्, प्रश्न सोधिरहेका छन् । विगतका कामप्रति असन्तुष्टि र गुनासो पोखिरहेका छन् । उम्मेदवारहरू युवादेखि ज्येष्ठ नागरिकसम्म, पूर्वदेखि पश्चिमसम्म, हिमाल–पहाडदेखि तराई–मधेशसम्मको जनमत आफ्नो पक्षमा पार्न तल्लीन छन् । दलहरू र उम्मेदवारले आफू निर्वाचित भएमा गर्ने कामको वाचा पनि गरिरहेका छन् । यसले देशभर राजनीतिक वातावरण गर्माएको छ । विगतदेखि वर्तमानको समीक्षा र भविष्यको सपनामाथि बहस चलिरहेको छ ।
२१ फागुनको चुनाव अघिल्ला आवधिक निर्वाचनभन्दा भिन्न परिस्थितिमा हुन लागेको छ । त्यसैले यस निर्वाचनलाई विशेष महत्वका साथ हेरिएको छ । यस निर्वाचनले खासगरी २३–२४ भदौको जेनजी आन्दोलनपछि उत्पन्न संवैधानिक र राजनीतिक संकटबाट मुलुकलाई बाहिर निकाल्ने आम अपेक्षा गरिएको छ । यो मध्यावधि निर्वाचनले विघटित संसद्का मुख्य राजनीतिक शक्तिहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपासँगै अघिल्लो चुनावबाट उदाएको रास्वपाको परीक्षण गर्ने छ । त्यस्तै, जेनजी आन्दोलनपछि गठन भएका नयाँ दलप्रतिको अभिमत पनि प्रकट हुनेछ ।
लोकतन्त्रमा निर्वाचन आफैंमा उत्सव हो । देशका कुनाकाप्चासम्म अहिले देश विकास, प्रणाली सुधार र जनउत्तरदायी शासनसत्ताबारे बहस चलिरहेको छ । उम्मेदवारहरू भोट माग्न जनताका घरआँगन, खेतबारी र गाउँबस्तीमा पुगेका छन् । कतै नाचिरहेका छन् त कतै मतदातालाई काममा सघाइरहेका छन् । जनताको आकांक्षा र आवाज सुनिरहेका छन् । चुनावी रौनकमा गीत संगीतसमेत मिसिएको छ । सामाजिक सञ्जाल, पत्रपत्रिका, अनलाइन र रेडियो–टेलिभिजनमा चुनावकै चर्चा छ । यसरी स्वच्छ, भयरहित एवं मित्रवत प्रतिस्पर्धाबाट जनप्रतिनिधि चयन हुने अभ्यासले लोकतन्त्रलाई अझ बलियो बनाउने छ । जब राजनीतिक दल वा जनप्रतिनिधिप्रति असन्तुष्टि र अविश्वास सुनिन थाल्छ, जन आक्रोश र गुनासो बढ्न थाल्छ, त्यस्तो बेला दलहरू जनतामा जानुपर्छ । सार्वभौमसत्ता सम्पन्न जनताले आफ्ना प्रतिनिधि फेर्न सक्छन् । यो नै लोकतन्त्रको सुन्दर पक्ष हो । जनप्रतिनिधि र सरकारलाई आमनागरिकप्रति उत्तरदायी बनाउने यो नै उपयुक्त विधि हो । किनभने, लोकतन्त्रमा जनताभन्दा माथि अरु कोही हुँदैन ।