
काठमाडौं : शिक्षण क्षेत्रमा विशिष्ट योगदानको कदरस्वरूप प्रदान गरिने ‘मीना दिदी पुरस्कार’ २०८२ सालका लागि बैतडीकी शिक्षिका कृष्णा बिष्टलाई प्रदान गरिएको छ ।
पाल्पाको किसान माध्यमिक विद्यालयमा प्रथम महिला शिक्षिका मीना कुमारी कार्कीको स्मृतिमा स्थापना गरिएको उक्त पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको छ । शिक्षक क्षेत्रबाट सामाजिक रूपान्तरणमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्ने उद्देश्यसहित यो पुरस्कार प्रत्येक वर्ष प्रदान गरिँदै आएको छ ।
किसान माध्यमिक विद्यालयको ६५औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा तत्कालीन प्रधानाध्यापक वासुदेव अर्याल, पुरस्कार संरक्षक डा. आरती कार्की, सदस्य–सचिव उमानाथ पोखरेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मधु पराजुली तथा गाउँपालिका अध्यक्ष यम चिदी लगायतले संयुक्त रूपमा कृष्णा बिष्टलाई सम्मानपत्र र नगद राशि प्रदान गरेका हुन् ।
सो अवसरमा मीना दिदीका शिष्य तथा कलाकार नारायण रायमाझीले आफ्नी गुरुआमा मीना दिदीलाई स्मरण गर्दै उनले ६ दशकअघि नै शिक्षा क्षेत्रमा प्रवेश गरी विशेषतः छोरीहरूलाई शिक्षित गर्नुपर्छ भन्ने सन्देश फैलाएको उल्लेख गरे । तत्कालीन प्रधानाध्यापक वासुदेव अर्यालले मीना दिदीले विद्यार्थीप्रति आमाजस्तै भूमिका निर्वाह गरेको स्मरण गरे ।
पूर्व जिल्ला शिक्षा अधिकारी डोलराज काफ्लेले मीना दिदीले बालबालिकाको व्यक्तिगत सरसफाइदेखि पोषणयुक्त आहारसम्मका विषयमा गाउँ–गाउँमा चेतना फैलाएको बताए । यस्तै डा. नीलम कार्की निहारिकाले एक नारी शिक्षित हुँदा परिवार मात्र होइन, समग्र समाज नै शिक्षित हुने धारणा व्यक्त गर्दै आफू आमाकै मार्गदर्शनमा अघि बढेको बताइन् ।
विद्यालयका सहायक प्रधानाध्यापक तथा मीना दिदीका विद्यार्थी गजेन्द्र पन्थीले मीना दिदी जन्म दिने आमापछिकी आमा सरह रहेको उल्लेख गरे । समाजसेवी मित्रलाल पोखरेलले मीना दिदीको योगदानकै कारण गाउँका धेरै छोरीबेटीले पढ्ने अवसर पाएको बताए ।
पुरस्कृत व्यक्तित्व कृष्णा बिष्टको परिचय प्रस्तुत गर्दै सदस्य–सचिव उमानाथ पोखरेलले उनी पनि मीना दिदीझैँ ग्रामीण क्षेत्रमा रहेर सामाजिक रूपान्तरणका लागि सक्रिय रहेको र बैतडीकै पहिलो महिला शिक्षक भएको जानकारी दिए । कृष्णा बिष्टले २०३३ सालदेखि २०६१ सालसम्म बैतडीमा शिक्षिकाको रूपमा सेवा गरेकी थिइन् ।
उनले छाउपडी प्रथा न्यूनीकरण, दलित, जनजाति र बालबालिकाको हकहित संरक्षण, महिला उत्थान तथा गरिब तथा पिछडिएका चेलीहरूलाई प्राविधिक शिक्षामा पहुँच पुर्याउन महत्वपूर्ण भूमिका खेलेको बताइएको छ ।
पुरस्कार ग्रहणपछि कृष्णा बिष्टले मीना दिदीजस्ता समर्पित महिला शिक्षकहरूको योगदानलाई समाजसामु ल्याएर अरूलाई पनि त्यस्तै कार्यमा प्रेरित गर्ने उद्देश्यले यो पुरस्कार महत्वपूर्ण रहेको बताइन् ।
गाउँपालिका अध्यक्ष यम चिदीले मीना दिदी पुरस्कार स्थापना गरेर डा. आरती कार्की र डा. नीलम कार्कीले छोरीहरूले पनि आमा–बुबाको नाम उज्यालो बनाउन सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेको भन्दै यसले छोरीप्रतिको सामाजिक सोच परिवर्तनमा सहयोग पुग्ने धारणा राखे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मधु पराजुलीले मीना कुमारी कार्की सम्पूर्ण विद्यार्थी र समाजकै लागि ‘मीना दिदी’को रूपमा परिचित रहेको र आफू पनि उहाँको विद्यार्थी भएकोमा गर्व लागेको बताए ।
पुरस्कार संरक्षक डा. आरती कार्कीले ‘मीना दिदी पुरस्कार’ प्रत्येक वर्ष नेपालभरिका महिला शिक्षकहरूमध्ये एक जनालाई प्रदान गरिने जानकारी दिइन् ।