
सरकारी ठेक्का लिएर काम समयमा सम्पन्न नगर्ने वा सम्झौता उल्लंघन गर्ने प्रवृत्ति सार्वजनिक निर्माण क्षेत्रमा लामो समयदेखि चुनौती बनेको छ । झट्ट हेर्दा यो सरकार र निर्माण व्यवसायीबीचको मामलाजस्तो देखिए पनि सारमा यसले विकास ढिला गर्छ । आयोजनाको लागत बढ्नुका साथै समग्र राज्य प्रणालीमाथि नै प्रश्न उठाउँछ । पछिल्लो समय युवा पुस्ताको असन्तुष्टि र निराशाको एउटा कारण यसैलाई मानेर सरकारले कडाई गर्न थालेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले अटेरी गर्ने २० वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखिसकेको छ भने थप १५ कम्पनीलाई स्पष्टीकरण पेश गर्न भनेको छ । यसको उद्देश्य ठेक्का सम्झौता पालना गराउने देखिन्छ । निर्माण व्यवसायी महासंघले भने यो निर्णयलाई पक्षपातपूर्ण भनेको छ । सरकारले आफ्नो कमजोरी स्वीकार नगरी व्यवसायीलाई मात्र दोष दिन नमिल्ने महासंघको जिकिर छ । साथै, ऐन र नियमावलीमा रहेका जटिलताहरूले पनि व्यवसायीहरूलाई समयमा काम पूरा गर्न कठिनाइ भइरहेकोप्रति उसले सरकारको ध्यानाकर्षण गराउँदैआएको छ ।
यद्यपि, ठेक्का सम्झौता पालना हुनु दुबै पक्षका लागि अनिवार्य सर्त हो । ठेक्का लिएर पिटी ठेक्का दिने प्रवृत्ति, काम ढिला गर्नु वा जिम्मेवारीबाट पन्छिएर सम्र्पकविहिन हुने छुट निर्माण व्यवसायीलाई छैन । सरकार र व्यवसायी दुवैले आफ्नो भूमिका जिम्मेवारीपूर्वक निभाउनु आवश्यक छ । निर्माण व्यवसायी र सरकारी निकायबीचको सन्तुलन कायम गर्दै ठेक्का नियम पालना गराउनु जरुरी छ । कालोसूची, स्पष्टीकरण माग्ने प्रक्रिया र नियमित अनुगमनले निर्माण व्यवसायमा अनुशासन सुदृढ गर्छ । राज्यका निकायले काम गर्न नसक्दा नै आयोजनाहरु अलपत्र परेका हुन् । ठेक्का लिने तर समयमै काम पूरा गर्न छाडेर अनेक बाहनामा म्याद थप्दै जाने प्रवृत्ति मौलाएको छ । त्यसले सरकारप्रति अविश्वास सिर्जना गर्दछ भने निर्माण व्यवसायीमाथि पनि प्रश्न उठ्छ । ठिक विपरित ठेक्का सम्झौता अनुसार समयमै काम पूरा गर्ने, गुणस्तरीय निर्माण गर्ने र सबै प्रक्रियाहरु पारदर्शि बनाउँदा निजी क्षेत्रप्रतिको विश्वास पनि बढ्छ । पूर्वाधार निर्माणको सबैजसो काम निजी क्षेत्रले ठेक्कामार्फत गर्दैआएको छ । त्यो निजी क्षेत्रप्रतिको भरोसा पनि हो । त्यसलाई जोगाउन पनि ठेक्का अलपत्र पार्ने प्रवृत्ति रोक्नुपर्ने आवश्यकता छ । ठेक्का सम्झौताको इमान्दारीपूर्वक पालना, जिम्मेवार व्यवहार र प्रणालीगत सुधारले मात्र विकासमा हुने ढिलोसुस्ती रोक्न सकिन्छ ।