
रौतहट : रौतहटको सदरमुकाम गौर नगरपालिका–६ सबगढा गाउँमा दुई समुदायबीच झडप हुँदा क्षेत्र तनावग्रस्त बनेको छ । बिहीबार राति विवाहका क्रममा बाजा बजाउँदै जन्ती गएको विषयलाई लिएर सुरु भएको विवाद शुक्रबार बिहान पुनः उग्र बनेको हो ।
स्थानीय स्रोतका अनुसार हिन्दु समुदायको विवाहका लागि बाजा बजाउँदै गएको जन्ती टोली सबगढास्थित मस्जिद नजिक पुगेको समयमा मुस्लिम समुदाय नवाजमा व्यस्त थियो । सोही क्रममा बाजा बजाएको विषयमा दुवै पक्षबीच भनाभन भएको बताइएको छ ।
भनाभनपछि केही व्यक्तिमाथि कुटपिट भएको र त्यसकै प्रतिक्रियास्वरूप शुक्रबार बिहानैदेखि दुवै पक्षबीच ढुंगाहानाहान भएको जनाइएको छ ।
घटनापछि प्रशासनले सुरक्षाकर्मीको बाक्लो परिचालन गरेको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले घटनाको पुष्टि गर्दै नेपाल प्रहरीका एसपी सिताराम रिजाल र सशस्त्र प्रहरीका एसपी रामहरि अधिकारी घटनास्थल पुगिसकेको जानकारी दिए । उनका अनुसार स्थिति नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी २ सय ५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी भुसालले घटना दुःखद भएको उल्लेख गर्दै दुवै पक्षबीच संवादमार्फत समाधान खोज्ने पहल भइरहेको बताए । स्थानीय प्रशासनले शान्ति–सुरक्षा कायम गर्न सर्वसाधारणलाई संयम अपनाउन अपिल गरेको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।