२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

संयमता अपनाऊ

shivam cement
२०८२ फागुन १० गते ०६:१०
Shares
संयमता अपनाऊ

रौतहटको गौरमा भएको झडपको घटनाले मुलुककै ध्यान तानेको छ । प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा सुरक्षा संवेदनशिलतासँग जोडिने गरी भडप भएपछि सरोकारवाला पक्ष चनाखो भएका छन् । रौतहट प्रहरीका अनुसार मुस्लिम समुदाय मस्जिदमा प्रार्थना गरिरहेका बेला हिन्दु समुदायले बाजा बजाएको भन्दै विवाद सुरु भएको हो । यही विवादले उग्र रुप लिँदा गौरको वडा नम्बर ४, ५ र ६ मा आगजनी र तोडफोड भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यासका सेलहरू प्रहार गर्नुपरेको थियो । उक्त घटनामा संलग्न रहेको आरोपमा २२ जना पक्राउ परेका छन् भने प्रहरीले केही सवारीसाधन नियन्त्रणमा लिएको छ । 

निर्वाचनको संवेदनशील समयमा दुई समुदायबीच भएको झडपले सबै पक्षलाई गम्भीर चेतावनी दिएको छ । चुनावी माहोलमा सामाजिक सद्भाव कमजोर बनाउने कुनै पनि प्रयास लोकतन्त्रका लागि घातक हुन्छ । मतपेटिकामा खस्ने प्रत्येक मत केवल अंकगणित होइन, नागरिक विश्वास, सहअस्तित्व र विधिको शासनप्रतिको प्रतिबद्धताको अभिव्यक्ति हो । यो बेला कुनै प्रकारको असुरक्षा महसुस नगरी मतदाताले मतदान गर्न पाउनुपर्छ । कसैले गलत नियत राखेर शन्ति खलबल्याउन खोजेका छन् भने राज्य चनाखो हुनुपर्छ । चुनाव नजिकिँदै जाँदा गौरमा भएको घटना स्वाभाविक रूपमा शंकाको घेरामा पर्छ । यो केवल आकस्मिक टकराव थियो, कि योजनाबद्ध रूपमा वातावरण बिथोल्ने प्रयास ! राज्यले खोज्नुपर्छ । सरकार र सुरक्षा निकायले सम्भावित उत्तेजना, अफवाह र भड्काउ गतिविधिप्रति उच्च सतर्कता अपनाउनुपर्छ । सुक्ष्म अनुसन्धान संयन्त्र सक्रिय राख्दै संवेदनशील क्षेत्र पहिचान गरी पूर्वतयारी गर्नु आवश्यक छ । कानुन उल्लंघन गर्ने जो–कोहीलाई राजनीतिक संरक्षण वा सामुदायिक दबाब बिना समान व्यवहार गरिनुपर्छ । 

राजनीतिक दलहरू पनि चुनावी लाभका लागि विभाजनकारी भाषण र रणनीतिबाट टाढा रहनुपर्छ । मतदाता ध्रुवीकरण गरेर अल्पकालीन लाभ लिन खोज्ने प्रवृत्तिले दीर्घकालीन सामाजिक क्षति पु¥याउँछ । चुनाव जित्नु भन्दा पनि लोकतान्त्रिक संस्कार जोगाउनु सबैको प्रमुख दायित्व हो । यसबेला नागरिक स्वयं पनि सचेत हुनुपर्छ ।  सामाजिक सञ्जालमा फैलिने अपुष्ट सूचना, घृणात्मक अभिव्यक्ति वा भड्काउ सामग्रीलाई बिना परीक्षण सामाजिक सञ्जाल वा सार्वजनिक मञ्चबाट व्यक्त गर्ने प्रवृत्ति ठूलो जोखिम हो । यसलाई नागरिकले ख्याल गर्नुपर्छ । यसबेला नागरिक समाज, धार्मिक अगुवा र स्थानीय नेतृत्वले संवाद् र सहमतिको वातावरण बनाउन सक्रिय भूमिका खेल्नुपर्छ । समयमै संवाद भए विवाद चर्किनुअघि नै समाधान सम्भव हुन्छ । यदि चुनावलाई असर पार्ने उदेश्यले कसैले योजनाबद्ध रूपमा अस्थिरता सिर्जना गर्न खोजेको छ भने त्यस्ता व्यक्ति वा समूहको पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउनु अनिवार्य छ । यसकारण सबै पक्षले संयमता अपनाउन आवश्यक छ । किनकी– विधिको शासन कमजोर भए लोकतन्त्रको आधार पनि कमजोर हुनेछ । 

ताजा खबर

सम्बन्धित खबर