
उदयपुर : उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अधेरी जोगी टोलस्थित मदनभण्डारी लोकमार्गमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा २ ख ६२५७ नम्बरको बस अचानक ब्रेक फेल भई सडकबाट करिब ३०–४० फिट तल खसेको हो । दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि सशस्त्र प्रहरी बल नेपाल नं. ५ गण त्रियुगा उदयपुरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक भुवन भण्डारीको कमाण्डमा १३ जनाको क्यूआरटी टोली तथा अस्थायी प्रहरी पोस्ट संगमचोकबाट प्रहरी नायब निरीक्षक तिलक पौडेलको कमाण्डमा ६ जनाको संयुक्त टोली घटनास्थलमा खटिएको थियो ।
दुर्घटनामा संलग्न बस घटनास्थलमै रहेको छ भने चालक उदयपुर कटारी नगरपालिका–४ बस्ने ४५ वर्षीय विक्रम राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनामा उदयपुर उदयपुरगढी–७ बस्ने ७३ वर्षीया सोममाया मगर र कटारी नगरपालिका–२ गोलपार्क बस्ने ६० वर्षीया सोममाया परियार गम्भीर घाइते भएका छन् । उनीहरूको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको जनाइएको छ ।
अन्य घाइतेहरूमा अनिता चौधरी, प्रकाश भुजेल, रेशिका बस्नेत, दलबहादुर तामाङलगायतका व्यक्तिहरू रहेका छन् । केहीको शरीरका विभिन्न भागमा चोट लागेको छ भने बाँकीको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।