२०८२ चैत ३ गते मङ्गलवार / Mar 17 , 2026 , Tuesday
२०८२ चैत ३ गते मङ्गलवार
Ads

नतिजा देखिनेगरी काम भइरहेको छ : उपप्रधानमन्त्री सिंह

shivam cement
२०८१ साउन १७ गते १८:२६
Shares
नतिजा देखिनेगरी काम भइरहेको छ : उपप्रधानमन्त्री सिंह

काठमाडौंः उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले बागमती नदी प्रणाली, स्मार्ट सिटी, फोहोरमैला व्यवस्थापनलगायतका क्षेत्रमा छिट्टै नतिजा देखिनेगरी मन्त्रालयले काम गरिरहेको बताएका छन् । 

मन्त्रालयमा आज काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरिबाबु महर्जनसहितको समूहसँग भएको भेटमा उनले उपत्यकामा देखिएको समस्यालाई समाधान गर्न मन्त्रालयले स्थानीय सरकारसँग सहकार्य गरेर काम अघि बढाउने र छिट्टै नतिजा देखिने बताए । 

‘स्मार्ट सिटीका लागि जग्गा रोक्का हुँदा जग्गाधनीले उपयोग गर्न पाएका छैनन् भन्ने जुन गुनासो सुनिएको छ । चाँडै नतिजा देखिनेगरी मन्त्रालयले काम अघि बढाएको छ । समस्या सम्बोधन हुन्छ भन्नेमा विश्वस्त हुन् आग्रह गर्छु’, उपप्रधानमन्त्री सिंहले भने । 

मेयर्स फोरमका अध्यक्ष महर्जनले उपप्रधानमन्त्री सिंहलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिँदै वर्षौदेखि स्मार्ट सिटिका लागि जग्गा रोक्का राखिँदा नागरिकलाई समस्या परेको भन्दै रोक्का फुकुवा गर्नुपर्ने, सडक बत्तीको बिल विद्युत् प्राधिकरणले नागरपालिकाका नाममा पठाएको जानकारी गराउँदै पहल गरिदिन आग्रह गरे । 

यस विषयमा उपप्रधानमन्त्री सिंहले सडक बत्तीको महसुलको विषयमा ऊर्जा मन्त्रालयसँग छलफल गरेर समाधानतर्फ लैजाने बताए । उनले स्वच्छ उपत्यका र सफा बागमती बनाउनु आफ्नो प्राथमिकता रहेको भन्दै खोलामा सिधैँ ढल बन्द गर्ने कार्यमा मिलेर सहकार्य गर्न आग्रह गरे ।  

‘उपत्यकाको नदी नाला स्वच्छ गर्न तीनै तहका सरकार मिलेर काम गर्नुपर्छ, यसको कार्ययोजना बनाएर अगाडि बढौँ । स्थानीय सरकारले यसका लागि काम गर्दा कतै अवरोध छ भने सहरी विकास मन्त्रालय सहजीकरणका लागि सधैँ तयार छ’, उपप्रधानमन्त्री सिंहले भने । उपत्यका मेयर्स फोरममा तीन गाउँपालिकासहित १८ स्थानीय तह छन् । 

सम्बन्धित खबर