२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

संयमता अपनाऔं

shivam cement
२०८२ फागुन १७ गते ०६:३०
Shares
संयमता अपनाऔं

इरानमाथि अमेरिका र इजरायलले संयुक्त हमला गरेपछि विश्व अशान्त बनेको छ । इरानले पनि मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै प्रतिआक्रमण सुरु गरेको छ । योसँगै विश्व अशान्त बनेको हो । यसअघि पनि इजरायल र इरान आमनेसामने भएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको परमाणु कार्यक्रम समाप्त गर्ने चेतावनी दिएका छन् । यस्तो चेतावनीले युद्ध तत्काल टर्ने विषयमा चिन्ता थपेको छ । यो घटनाले मध्यपूर्वको अस्तित्वमाथि मात्र होइन, सम्पूर्ण विश्वको राजनीति र अर्थतन्त्रमा गम्भीर प्रभाव पार्दछ ।

नेपाल, जो भौगोलिक र कूटनीतिक दृष्टिले युद्धक्षेत्रबाट पर छ, तर प्रत्यक्ष र अप्रत्यक्ष असरबाट अछुतो रहने छैन । तेलको मूल्य र रेमिट्यान्समा असर पर्न सक्दछ । मध्यपूर्वमा काम गरिरहेका लाखौं नेपाली कामदारको भविष्य खतरामा छ । रेमिट्यान्सको प्रवाह कम भए त्यसको ठुलो असर नेपालको अर्थतन्त्रमा पर्नेछ । तेलको आपूर्ति श्रृंखला अवरुद्ध भयो भने तीव्र रूपमा मूल्य वृद्धि हुन सक्दछ । नेपालमा दैनिक आवश्यक वस्तुहरूको मूल्यमा समेत वृद्धि हुनेछ । यस्तो अवस्थामा नेपाल सरकारको आर्थिक नीति र भन्सार रणनीति थप प्रभावकारी बनाउनुपर्ने हुन्छ । नेपालले तत्कालिक रूपमा रणनीतिक ऊर्जा भण्डारण प्रणाली सुदृढ गर्ने आवश्यक छ । सार्वजनिक यातायात र वैकल्पिक ऊर्जा स्रोतहरू (जस्तै, विद्युतीय सवारी साधन) को प्रोत्साहन गर्नुपर्ने हुन्छ । वैकल्पिक आपूर्ति मार्ग र स्रोतहरूको विविधीकरण गर्न जरुरी छ । 

रेमिट्यान्सको प्रवाहमा कुनै ठुलो संकट आएको खण्डमा सरकारले आकस्मिक पुनस्र्थापना योजना तयार गर्नुपर्ने हुन्छ । मध्यपूर्वमा काम गर्ने श्रमिकहरूलाई चाँडो फिर्ता ल्याउने योजना र तिनका लागि अस्थायी रोजगार र पुनर्स्थापना योजनाहरू लागू गर्नुपर्छ । यसका साथै, श्रमिकको सुरक्षा र स्वास्थ्यको सुनिश्चितता अर्को महत्वपूर्ण पक्ष छ । यसबाहेक सरकारले सामान्य नागरिकका लागि सावधानी अपनाउनुपर्ने हुन्छ । युद्धको गम्भीर असरसँगै महँगाइ र तेल संकटको सामना गर्न नेपाली नागरिक तयार रहनुपर्ने हुन्छ । नेपालले परराष्ट्र सम्बन्धमा जति नै तटस्थ र दूरदर्शी रणनीति अपनाएको भए पनि यस्ता संघर्षहरूले नेपालको अर्थतन्त्र र सामाजिक संरचनामा स्थायी असर पुर्‍याउने छ । यसकारण सरकार र नागरिक दुवै युद्धको सम्भावित असरको पूर्वानुमान गर्न र असर कम गर्ने उपायका लागि तयार रहनुपर्छ । यस्तोमा नेपाल सरकार पनि तत्काललाई संयम हुँदै आत्मनिर्भर अर्थ नीति अवलम्बन गर्नेतिर अग्रसर होस् । ताकि, भविष्यमा समेत आउन सक्ने संकटका बेला नेपाल र नेपाली प्रभावित हुन नपरोस् । 

सम्बन्धित खबर