
भक्तपुर : नगरकोटबाट भक्तपुरतर्फ आउँदै गरेको कार आइतबार दुर्घटनामा परेको छ ।
भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका–८ स्थित वन कार्यालय क्षेत्रअन्तर्गत बागेश्वरी भवनअगाडि फागुन १८ गते बा ५ च ७८८१ नम्बरको कार सडकबाट करिब दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
कारमा सवार पाँच जनामध्ये चार जना घाइते भएका छन् । घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
दुर्घटनालगत्तै सशस्त्र प्रहरी बल नेपाल, निर्वाचन क्षेत्र नम्बर १ को स्ट्राइकिङ टोली घटनास्थलमा पुगेर उद्धार कार्य सञ्चालन गरेको थियो । उद्धारपछि घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल भक्तपुर पठाइएको सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।