
काठमाडौं : जल तथा मौसम विज्ञान विभागले मतदानको दिन (फागुन २१ गते) देशभरको मौसम सफा रहने बताएको छ ।
विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले मतदान प्रक्रिया प्रभावित हुनेगरी वर्षा वा हिमपातको सम्भावना नरहेको बताएका हुन् । उनले तथ्यांकमा आधारित पूर्वानुमानलाई परिमार्जन गर्दै विभागले एक हप्तासम्मको यथार्थपरक पूर्वानुमान गरिरहेको र सोहीअनुसार विशेष बुलेटिन जारी गर्नुका साथै नियमित अपडेट दिइरहेको समेत बताए ।
उनले लामो समयसम्म पानी नपरेका कारण मुलुकका पहाडी क्षेत्रमा बादल देखिएपनि तत्काल पानी पर्ने सम्भावना तथा हिमपातको सम्भावना नरहेको बताए ।
उनकाअनुसार मतदानको दिन बिहीवार बागमती, गण्डकी र कोशी प्रदेशका पहाडी भू–भागहरुमा आशिंक बादल लाग्नसक्ने देखिन्छ । उनले मुलुकका पहाडी भू–भागमा बादल लागिहाले पनि आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताए ।
आउँदो शनिबारसम्मको मौसम सफा नै रहने पौडेलको भनाइ छ ।