
चुनाव हुने वा नहुने अन्यौलबीच बिहीबार एकै चरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको छ । यसले भदौ २३ र २४ को जेनजी आन्दोलनपछि उत्पन्न संवैधानिक र राजनीतिक संकटको शान्तिपूर्ण अवतरण पनि गरेको छ । अन्तरिम सरकारले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरणसँगै संविधान लिकमा फर्किने अबस्था आएको छ । त्यसको मुख्य श्रेय अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई जान्छ । ६ महिनाअघि राष्ट्रपति रामचन्द्र पौडेलले ‘बडो जुक्ति’ले संविधान च्यातिनबाट जोगाएका थिए । आवश्यकताको सिद्धान्तबाट बनेको अन्तरिम सरकारलाई चुनावी वातावरण बनाउनु ठूलो चुनौती थियो । चुनाव गराउने कार्यादेशसहित सुरु भएको सुशीलाको राजनीति परीक्षा सजिलो थिएन् । नेपाली राजनीतिको त्यो आकस्मिकतालाई सुरुमा दलहरुले सहज रुपमा स्वीकारेका थिएनन् । त्यसमाथि भदौ २४ को विध्वंशले थिलथिलो बनाईएका राज्यका अंगहरु कसैलाई आड दिने अवस्थामै थिएनन् । थरीथरीका जेनजी समूह, तिनका माग र आक्रोशको रापतापमा प्रमुख दलसँगको दूरी घटाउन उनलाई महिनौं लाग्यो । तर, उनले हार मानिनन् । अन्ततः कार्की सरकारले निर्वाचनको कार्यभार पूरा गरिछाड्यो ।
अनेक अन्योल र निराशाजनक टिप्पणी आइरहेका थिए । संसद पुनस्र्थापना मागिरहेको नेकपा एमाले र निर्वाचनप्रति सशंकित नेपाली काँग्रेसलाई निर्वाचनतर्फ मुखरित गर्न कार्कीले धेरै मेहनत गर्नुपर्यो । तोकिएकै मितिमा आमचुनाव हुनेमा धेरैलाई पछिसम्मै आशंका थियो । अन्तरिम सरकारका चार मन्त्रीहरु राजिनामा दिएर चुनावी मैदानमा उत्रिएपछि सरकारको निष्पक्षतामाथि नै प्रश्नसमेत उठ्यो । तर, सरकारको दृढ इच्छाशक्ति र ढिलै भए पनि दलहरुको साथले चुनाव सम्भव भएको हो । दलीय स्वार्थसँग लेना न देनाको सम्बन्ध भएको सरकार भएकै कारण निर्वाचन आयोगले पनि सुविस्तापुर्वक प्रक्रिया अघि बढाउन सकेको देखिन्छ ।
शान्तिपूर्ण निर्वाचन सम्पन्न हुँदा सरकारको प्रतिष्ठा थप बढेको छ । केही समूहको बहिस्कार, विथोल्ने धम्की र निर्वाचनमा सहभागीहरुको तिखो प्रतिस्पर्धाका कारण ३ हजार ६ सय ८० मतदान केन्द्र अतिसंवेदनशीलमा वर्गिकरण गरिएको थियो । एकाध ठाउँमा छिटफुट घटनाबाहेक अतिसंवेदनशील मतदान केन्द्रमा शान्तिपूर्ण निर्वाचन भएको छ । जनताले आफ्नो अभिमत मतपेटिकामा खसाइसकेका छन् । अब त्यो मतको गणना गर्ने र परिणाम अनुरुप अगामी राजनीतिक प्रक्रिया अघि बढाउने काम मात्र बाँकी छ । निर्वाचन लोकतन्त्रको मुख्य विधि र प्रक्रिया हो । यस क्रममा हारजित जेसुकैको होस्, हाम्रो लोकतन्त्र पुनः एकपटक अनुमोदित भएको छ । त्यसअर्थमा प्रधानमन्त्री कार्की धन्यवादकी पात्र बनेकी छिन् ।