२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

प्रगतितर्फ महिला

shivam cement
२०८२ फागुन २४ गते ०६:१०
Shares
प्रगतितर्फ महिला

आज हरेक वर्ष मार्च ८, अर्थात्, अन्तराष्ट्रिय नारी दिवस । यस अवसरमा महिलाले हासिल गरेका उपलब्धिहरूको सम्मान गर्ने र उनीहरूले अझै भोगिरहेका चुनौतीहरूको समीक्षा गर्ने अवसरका रुपमा नारी दिवसलाई लिइन्छ । नेपालको सन्दर्भमा नारी दिवसको विशेष अर्थ छ, किनकि नेपालमा महिलाले एकातिर उल्लेखनीय प्रगति हासिल गरेको देउखाउने उदाहरण छन् भने अर्कोतिर अझै धेरै क्षेत्रमा महिलाले असमानता र समस्यासँग जुधिरहेका छन् । बोली र व्यवहारमा फरकपन छ । संविधान र कानुनमा रहेका व्यवस्थाको मर्म अनुसार व्यवहार हुन सकेका छैनन् । पछिल्लो उदाहरण हो– प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ १६५ सिटका लागि ३ हजार ४०६ उम्मेदवार थिए । त्यसमध्ये महिला जम्म ३८८ जना थिए । यो राजनीतिक दलहरूको बोली र व्यवहारको अमिल्दो उदाहरण हो । 

नेपालमा महिलाको सन्दर्भमा केही नभएको भने होइन । हाल मुलुकको प्रधानमन्त्रीमा महिला नै छन् । राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख जस्ता पदमा महिला पुगिसकेका छन् । पछिल्ला दशकहरूमा नेपाली महिलाले राजनीतिक क्षेत्रमा गरेको प्रगति हो यो । प्रशासन, न्यायपालिका र सामाजिक नेतृत्वका क्षेत्रमा पनि महिलाले उल्लेखनीय उपलब्धि हासिल गरेका छन् । नेपाली महिलाहरूले नेतृत्व र क्षमता प्रदर्शन गर्न सक्षम छन् भन्ने प्रमाणित गरेका छन् । तर उच्च पदमा पुगेका केही उदाहरणले मात्र समग्र नेपाली महिलाको अवस्था पूर्ण रूपमा प्रतिबिम्बित गर्दैन । ग्रामीण भेगका धेरै महिलाहरू अझै पनि शिक्षा, स्वास्थ्य, रोजगारी र निर्णय प्रक्रियामा समान पहुँचबाट वञ्चित छन् । बालविवाह, घरेलु हिंसा, लैङ्गिक विभेद र छाउपडीजस्ता परम्परागत कुप्रथाहरू अझै कतिपय स्थानमा विद्यमान छन् । यस्ता समस्याले महिलाको आत्मविश्वास, स्वास्थ्य र सामाजिक सहभागितामा नकारात्मक असर पारिरहेको छ । आर्थिक क्षेत्रमा पनि महिलाको योगदान उल्लेखनीय भए पनि उनीहरूको श्रमको उचित मूल्यांकन प्रायः हुँदैन । कृषि, घरायसी काम र अनौपचारिक क्षेत्रमा महिलाले ठूलो योगदान दिएका छन्, तर नीति निर्माण र आर्थिक निर्णय प्रक्रियामा उनीहरूको सहभागिता अझै सीमित छ । यसले महिलाको सशक्तीकरणलाई पूर्ण रूपमा साकार हुनबाट रोकिरहेको छ ।

यसकारण नारी दिवस केवल औपचारिक कार्यक्रम वा शुभकामना आदान–प्रदानमा सीमित रहनु हुँदैन । यो दिनले समाजलाई लैंगिक समानताको दिशा तर्फ अझ दृढतापूर्वक अघि बढ्न प्रेरित गर्नुपर्छ । महिलालाई शिक्षा, रोजगारी, स्वास्थ्य सेवा र नेतृत्वका अवसरमा समान पहुँच सुनिश्चित गर्नुपर्छ । परिवार, समाज र राज्य सबैले महिलाको सम्मान र अधिकारको संरक्षणमा जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्छ । समग्रमा नेपाली महिलाको यात्रा उपलब्धि र चुनौतीको मिश्रित अवस्थामा छ । केही महिलाले उच्च शिखर चुमिसके पनि धेरै महिलाको जीवन अझै संघर्षपूर्ण छ । त्यसैले नारी दिवसले एउटा स्पष्ट सन्देश दिन्छ– समाजको वास्तविक प्रगति तब मात्र सम्भव हुन्छ जब महिलाले पनि पुरुषसरह समान अवसर, सम्मान र अधिकार प्राप्त गर्छन् । 

सम्बन्धित खबर