
काठमाडौँ : फागुन २१ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रदेश र स्थानीय तहबाट राजीनामा दिएर उम्मेदवार बनेका अधिकांश उम्मेदवारहरू पराजित भएका छन् । प्रदेश र स्थानीय तहमा लोकप्रिय भए पनि संघीय संसदमा भने मतदाताहरूले उनीहरूको उपस्थिति आवश्यक ठानेनन् ।
निर्वाचनका लागि बागमती प्रदेशका पाँच, मधेशका चार, लुम्बिनीका तीन र सुदूरपश्चिम प्रदेशमा एक गरी १३ जनाले राजीनामा दिएका थिए । यसरी राजीनामा दिनेमा नेकपाका पाँच, एमालेका तीन, राप्रपा, रास्वपा, नागरिक उन्मुक्ति, लोसपा र जनमतबाट एक/एकजना छन् ।
स्थानीय तहका जनप्रतिनिधि पनि संघीय चुनावमा होमिएका थिए । जसमा काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह बालेन, भरतपुर महानगर प्रमुख रेनु दाहाल, धरान उपमहानगर प्रमुख हर्कराज साम्पाङ राई, नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राई, टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारू, धुलिखेल नगर प्रमुख अशोककुमार ब्याञ्जु, ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापा, दयपुरको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईलगायत छन् ।
जनमत पार्टी छाडेर स्वामिमान पार्टी गठन गरेका मधेशका पूर्वमुख्यमन्त्री सतिश कुमार सिंह सप्तरी- २ बाट पराजित भएका छन् । २०७९ भदौमा जनमत पार्टीमा प्रवेश गरेर सप्तरी २(१) बाट प्रदेशसभा सदस्य जितेका उनी जनमतबाटै २५ जेठ २०८१ देखि २८ असोज २०८२ सम्म मधेशको मुख्यमन्त्री भएका थिए । यो क्षेत्रमा रास्वपाका रामजी यादवले चुनाव जिते । उनीसँगै उपेन्द्र यादव, चन्द्रकान्त (सीके) रावत जस्ता हेभी वेइट भनिने नेताहरू पनि यो पटक चुनाव हारे ।
मधेश प्रदेशकै अर्का मुख्यमन्त्री सरोजकुमार यादव पनि प्रदेश सभाबाट राजीनामा दिएर महोत्तरी- ४ मा चुनाव लडेका थिए । उनी रास्वपाकी गौरी कुमारीसँग पराजित भए । २३ कातिक २०८२ मा मधेशको मुख्यमन्त्री भएका उनी २२ दिनमै अल्पमतमा परेर राजीनामा दिन बाध्य भएका थिए ।
काठमाडौं–६ (ख) बाट निर्वाचित प्रदेश सांसद अमनकुमार मास्के पनि प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार भए तर उनी पराजित भए । मास्के एमालेका केन्द्रीय सदस्यसमेत हुन् । प्रदेश मन्त्री भइसकेका उनी संघीय संसद छिर्न सकेनन् ।
बागमती प्रदेशका पूर्वसभामुख भुवनकुमार पाठक प्रदेश सांसदबाट राजीनामा दिएर प्रनितिधिसभा निर्वाचनमा होमिएका थिए । काठमाडौँ-४ बाट निर्वाचन लडेका उनी रास्वपा उम्मेदवार पुकार बमको निकटम प्रतिद्वन्दीसमेत हुन सकेनन् ।
सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्व प्रदेशमन्त्री प्रकाशबहादुर शाहलाई नेकपाले बाजुराबाट उम्मेदवार बनाएको थियो तर प्रदेशको इज्जत उनले बाजुराबाट जोगाउन सकेनन् । उनी विजयी भएका कांग्रेसका जनकराज गिरीभन्दा निकै पुछारमा रहे ।
बागमती प्रदेशको सांसद पदबाट राजीनामा दिएका नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले भने संघीय संसदभित्र छिर्नलाई उम्मेदवारको टिकटसमेत पाएनन् । उनको ठाउँमा पत्रकार अजयावावु सिवाकोटीले टिकट पाए । यद्यपि उनी पनि विजयी हुन भने सकेनन् ।
प्रदेश सांसदमात्र नभई स्थानीय तहका जनाप्रनिधिले समेत राजीनामा दिएर संघीय संसद छिर्ने टिकट काटेका थिए । २०७९ वैशाखमा काठमाडौँ महानगरमा मेयर बनेका बालेन्द्र शाह बालेनले झापा -५ बाट चुनाव जितेर सांसद बनिसकेका छन् । उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई हराए ।
यस्तै महत्वाकांक्षा बोकेर चितवनको भरतपुर महानगरबाट राजीनामा दिएर चुनाव लडेकी रेनु दाहाल भने रास्वापाकी उम्मेदवार सोविता गौतमसँग पराजित भइन् । भरतपुरमा उनको मेयरका रूपमा दोस्रो कार्यकाल थियो । स्थानीय तहमा राम्रै गरेको दावी गरे पनि उनलाई संघीय संसदमा भने जनताले पत्याएनन् । बरु काठमाडौँ छोडेर गएकी सोवितालाई दोब्बर बढी मतले चितवनवासीले जिताइदिए ।
धुलिखेल नगर प्रमुख अशोककुमार ब्याञ्जु राजीनामा गरेर काभ्रे-२ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका थिए । उनलाई एमालेले उम्मेदवार बनाएको थियो । संघीय संसदका चर्चित नेता गोकुल बास्कोटाले जित्दै आइरहेको यो क्षेत्रमा उनी रास्वपाका उम्मेदवार बदन भण्डारीसँग पराजित भए । एमालेको गढ मानिने यो क्षेत्रमा उनी तेस्रो स्थानमा रहे ।
धरानका मेयर हर्क साम्पांग पनि मेयरबाट राजीनामा दिएर संघीय सांसद बनिसकेका छन् । उनी पनि २०७९ को बैशाखमा धरानको मेयरका रूपमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका थिए । उनी अहिले श्रम संस्कृति नामको पार्टी दर्ता गरेर संसदीय राजनीतिमा होमिएका छन् ।
ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापाले पनि पदबाट राजीनामा दिएर ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनिन् । रास्वपाका विश्वराज पोखरेल विजयी भएको यस क्षेत्रमा उनी तेस्रो नम्बरमा परिन् ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा पनि दोस्रो कार्यकाल पूरा नगर्दै स्याङ्जा क्षेत्र नं २ बाट नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बने पनि विजयी भने हुन सकेनन् । त्यस्तै सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाका प्रमुख पदबाट राजीनामा दिँदै नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट सोलुखुम्बुको प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका असिम राई पनि विजयी हुन सकेनन् ।
वीरगञ्ज महानगरपालिका–१० का अध्यक्ष सुशील साह कानु र वडा नम्बर २० का अध्यक्ष रामकिशोर (पराग) सिंह प्रतिनिधिसभा सदस्यका उम्मेदवार बने तर निर्वाचित हुन सकेनन् । यस्तै धरान–१७ का वडाध्यक्ष मनोज भट्टराई पनि संसदीय राजनीतिका लागि प्रतिस्पर्धामा थिए । वडाध्यक्ष पदबाट राजीनामा दिएर उनले सुनसरी-१ बाट उम्मेदवारीको मनोनयन दर्ता गराएका थिए । तर विजयी हुन सकेनन् ।
प्रदेश सांसद र स्थानीय तहका प्रमुख, उपप्रमुखमात्र नभएर वडा सदस्यसमेत राजीनामा दिएर संघीय संसदभित्र छिर्ने प्रयास गरिरहेको यो निर्वाचनमा देखियो । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि भएको यो निर्वाचनमा अधिकांश नयाँ अनुहारहरू निर्वाचित भएका छन् । मतदाताले पुराना र टेष्टेड अनुहारलाई त्यति रुचाएको देखिदैन । काठमाडौँ महानगरका मेयर बालेन र धरान उपमहानगरका मेयर हर्क साम्पांगबाहेक अरूले लोकप्रिय मत पाउन सकेनन् ।