
काठमाडौं उपत्यकाको वायु अवस्था केही दिनदेखि अत्यन्त प्रदूषित छ । यहीबीचमा काठमाडौं विश्वकै सबैभन्दा बढी प्रदूषित सहरको सूचीमा पहिलो स्थानमा पुगेको छ । वायु गुणस्तर सूचकांक १८४–१८५ पुग्नु स्वास्थ्यका दृष्टिले निकै हानिकारक अवस्था हो । केही दिनयता उपत्यकाको आकाश बाक्लो तुवाँलोले ढाकिएको छ भने घाम प्रस्ट देखिएको छैन र वातावरण धुम्म बनेको छ । सर्वसाधारणले प्रत्यक्ष रूपमा प्रदूषणको असर अनुभव गरिरहेका छन् । धेरै मानिसलाई आँखा पोल्ने, घाँटी चिलाउने, टाउको दुख्ने र सास फेर्न असहज हुने समस्या देखिन थालेका छन् । यस्तो अवस्था लामो समयसम्म कायम रहँदा जनस्वास्थ्य प्रभावित हुन थालेको छ ।
वायु प्रदूषण बढ्नुका पछाडि विभिन्न कारण जिम्मेवार छन् । उपत्यकामा दिन–प्रतिदिन बढ्दै गएको सवारीसाधनको चाप पनि मुख्य कारण हो । पुराना तथा धुवाँ धेरै निकाल्ने सवारीसाधनले वातावरणलाई झनै प्रदूषित बनाइरहेका छन् । सडक विस्तार तथा निर्माण कार्यका क्रममा उड्ने धुलो, उद्योगधन्दाबाट निस्कने धुवाँ तथा देशका विभिन्न भागमा लागिरहेको वन डढेलोले पनि वायु प्रदूषण बढाएको छ । मौसमी प्रतिकूलता र हावाको कम बहावका कारण प्रदूषित कणहरू लामो समयसम्म उपत्यकामै थुप्रिएर बसेको वातावरणविद्हरू बताउँछन् । यस्ता मसिना कणहरू मानवस्वास्थ्यका लागि निकै हानिकारक हुन्छन् ।
उच्च वायु प्रदूषणका कारण विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दम, मुटु वा श्वासप्रश्वाससम्बन्धी रोग भएका व्यक्तिहरू बढी जोखिममा पर्ने चिकित्सकहरू बताउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि यस्तो अवस्थामा अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन, बिहान र बेलुका बाहिरी गतिविधि कम गर्न तथा बाहिर जाँदा मास्क प्रयोग गर्न आग्रह गरेको छ । प्रदूषणले मुटु, रक्तनली, फोक्सो, आँखा, मिर्गौला तथा क्यान्सरसम्मका समस्या निम्त्याउन सक्ने भएकाले सबैले सचेत रहन आवश्यक छ । तर प्रदूषणबाट जोगिन व्यक्तिगत सावधानी मात्र पर्याप्त हुँदैन । भविष्यमा यस्तो समस्या कम गर्न पुराना सवारीसाधन नियन्त्रण गर्नु, सार्वजनिक यातायातलाई व्यवस्थित बनाउनु, सडक तथा निर्माण क्षेत्रमा धुलो नियन्त्रणका उपाय अपनाउनु र वन डढेलो नियन्त्रणमा कडाइ गर्नु आवश्यक छ । उद्योगधन्दा सञ्चालन गर्दा वातावरणीय मापदण्ड पालना गराउन राज्यले प्रभावकारी अनुगमन गर्नुपर्छ । साथै सहरमा हरियाली बढाउने, वृक्षरोपणलाई प्रोत्साहन गर्ने र वातावरणमैत्री जीवनशैली अपनाउने बानी पनि विकास गर्नुपर्छ ।
स्वच्छ हावा मानव जीवनको आधारभूत आवश्यकता हो । अहिले काठमाडौंमा देखिएको प्रदूषणको अवस्था चिन्ताको विषय हो । यदि समयमै प्रभावकारी कदम चालिएन भने भविष्यमा यसको असर अझ व्यापक हुन सक्छ । त्यसैले सरकार, सम्बन्धित निकाय र नागरिक सबैले आ–आफ्नो जिम्मेवारी बुझेर वातावरण संरक्षणमा सक्रिय हुन आवश्यक छ । स्वच्छ वातावरण स्वस्थ जीवनको आधार हो । त्यसैले सचेत बनौं र प्रदूषणबाट जोगिने सामूहिक अभियान अघि बढाऔं ।