२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

बेवास्ताले बढेको बदर मत

shivam cement
२०८२ फागुन २८ गते ०६:१०
Shares
बेवास्ताले बढेको बदर मत

प्रतिनिधिसभा सदस्यका लागि २१ फागुनमा गरिएको मतदानमा अघिल्ला चुनावको तुलनामा बदर मतको संख्या बढेको पाइएको छ । मत बदर हुनुमा मतदाता शिक्षाको कमीदेखि आमनागरिकको असन्तोष मुख्य कारण पाइएको छ । मतपत्रमै आफ्ना असन्तुष्टि पोख्नेदेखि ढुंगा नै टाँसेर छाड्नेसम्मका काम मतदाताले गरेका छन् । केहीले चिर्कटामा आफ्नो गुनासो लेखेका छन् भने ल्याप्चे लगाएका मतपत्र प्रशस्तै भेटिएका छन् । एउटै मतपत्रमा दुईभन्दा धेरै चिह्नमा स्वस्तिक छाप लगाइएर सबैभन्दा धेरै मत बदर भएका छन् । निर्वाचन आयोगको तथ्यांकअनुसार, ग्रामीण भेगदेखि सहरी क्षेत्रसम्म बदर मत तीनदेखि ६ प्रतिशतसम्म पुगेको छ । झापा, रुपन्देही, रुकुम–पश्चिमदेखि कैलालीसम्म मतपत्रमै लेखिदिने, ढुंगा टाँस्ने वा दुईभन्दा बढी चिह्नमा छाप लगाएको पाइएको हो । बदर मतको अनुपात समानुपातिक मतपत्रभन्दा प्रत्यक्षतर्फ बढी देखिएको छ ।

मत बदर हुनुको मुख्य कारण मतदाता शिक्षाको कमीलाई मानिएको छ । कर्णाली प्रदेशमा मात्र ४३ हजारभन्दा धेरै मत बदर भएको पाइएको छ । यसपटक निर्वाचन आयोगले मतदाता शिक्षामा आमसञ्चारमाध्यमको सहयोग लिएन । सामाजिक सञ्जाल र परम्परागत शैलीको भर पर्दा आममतदातामा बेलैमा मतदाता शिक्षा नपुगेको देखिन्छ । मूलधारका दैनिक पत्रिकासहित अनलाइन, टिभी र रेडियोमा सन्देशमूलक सूचना प्रकाशन÷प्रसारण गरिएन । मत बदर बढ्नुको मुख्य कारण त्यसैलाई मानिएको छ । अर्को, यसपटकको निर्वाचन परिणामले धेरै मतदाताले मत बदलेको देखिन्छ । समानुपातिक र प्रत्यक्षमा कसलाई दिने वा एउटै मतपत्रमा दुई चिह्नमा मत दिन मिल्ने÷नमिल्ने भन्ने अन्योल मतदातामा देखिन्छ । 

त्यसो त, अन्य असावधानीले पनि मत बदर हुन्छ । यसअघिका चुनावमा पनि मत बदर हुने गरेका थिए । तर यसपटक ग्रामीण र पिछडिएका क्षेत्रका मतदाताले मतदान प्रक्रियामा सही जानकारी नपाएको स्पष्ट देखिन्छ । यो सामान्य असावधानीभन्दा धेरै निर्वाचन आयोग, दलहरू र उम्मेदवारले त्यसतर्फ ध्यान नदिएर बढेको हुनसक्छ । नजानेर बदर भएका मतबाहेक लेखेर वा अन्य तरिकाले जनाइएका असन्तुष्टिलाई गम्भीर रूपमा लिनुपर्छ । किनभने लोकतन्त्रमा जनसहभागिता सबैभन्दा महत्वपूर्ण हुन्छ । लोकतन्त्र बलियो बनाउन आमनागरिकको सचेत सहभागिता अनिवार्य हुन्छ । त्यसैले यसपटकको चुनावमा बढेको बदर मतबाट पाठ सिक्दै निर्वाचन आयोगले दुई वर्षपछि हुने प्रदेश र स्थानीय तह निर्वाचनमा आममतदातालाई सरल, स्पष्ट र प्रभावकारी मतदाता शिक्षा दिनुपर्छ ।

सम्बन्धित खबर