
प्रतिनिधिसभा निर्वाचनले संघीय संसद्लाई पूर्णता दिए पनि प्रदेश र स्थानीय तहका धेरै पद खाली भएका छन् । खासगरी कार्यकाल पूरा नगरेरै जनप्रतिनिधिहरू प्रतिनिधिसभा सदस्य निर्वाचन लड्न गएपछि ३० भन्दा धेरै पद रिक्त हुन पुगेका हुन् । यसको असर तत्कालका लागि स्थानीय तह वा प्रदेशसभामा पर्ने मात्र होइन कानुनतः उपनिर्वाचनको खर्च भार बढाउने देखिन्छ ।
नेपालमा अहिले तीन तहको संघीय शासन व्यवस्था छ– संघ, प्रदेश र स्थानीय तह । यी तीनै तहका जनप्रतिनिधिले जनताबाट मत लिएर सेवा गर्ने जिम्मेवारी पाएका हुन्छन् । तर पछिल्ला वर्षहरूमा देखिएको कार्यकाल नसकिँदै पद छाडेर अर्को चुनाव लड्ने प्रवृत्तिले लोकतान्त्रिक मूल्य र जनविश्वासलाई कमजोर बनाइरहेको छ । २०७९ वैशाखको स्थानीय तह निर्वाचन र सोही वर्ष मंसिरको प्रदेशसभा निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरू बीचैमा राजीनामा दिएर प्रतिनिधिसभा सदस्य चुनाव लडेका हुन् । तीमध्ये काठमाडौं महानगरका मेयर बालेन्द्र शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलगायत केहीबाहेक अधिकांशले चुनाव हारे । स्थानीय सरकार प्रमुख/उपप्रमुख वा प्रदेशसभा सदस्य पद भने खाली हुन पुगे । यसरी पद रिक्त हुँदा जनताले पाएको प्रतिनिधित्व कमजोर मात्र भएको छैन, जनतासँग गरिएको प्रतिबद्धतामा धोका भएको छ ।
स्थानीय तह निर्वाचन ऐनअनुसार एक वर्षभन्दा बढी कार्यकाल बाँकी रहँदै पद रिक्त भएमा उपनिर्वाचन गर्नुपर्छ । यसले जनप्रतिनिधिको अतिरिक्त महत्वाकांक्षाले उपनिर्वाचनको खर्चको भार थपिने अवस्था आएको छ । उपनिर्वाचन गराउँदा राज्यको ठूलो रकम खर्च हुन्छ । अहिले १७ स्थानीय तहका पदाधिकारी चुनावमा गएका कारण रिक्तता सिर्जना भएको छ भने प्रदेशसभातर्फ पनि १३ जना राजीनामा दिएर संघीय संसद्को उम्मेदवार बनेका थिए । यी सबै पदमा उपनिर्वाचनको सम्भावना छ, जसबारे निर्णय गर्न सरकार र निर्वाचन आयोगबीच छलफल हुन बाँकी छ । यो प्रवृत्तिले निर्वाचनसम्बन्धी कानुनमा सुधारको खाँचो भने देखिएको छ । जनतासँग एउटा पदका लागि मत मागेर जितिसकेपछि प्रतिनिधिले पूरा कार्यकाल सेवा गर्नुपर्छ भन्ने नैतिक र कानुनी दायित्व हुनुपर्छ । त्यसैले कार्यकाल पूरा नगरी अर्को चुनाव लड्न नपाउने व्यवस्था कानुनमै गर्नुपर्छ । यसले जनप्रतिनिधिलाई जिम्मेवार बनाउनेछ, उनीहरूप्रतिको जनविश्वास जोगाउनेछ र अनावश्यक उपनिर्वाचनको खर्चसमेत घटाउनेछ । चुनावी विकृति घटाउन निर्वाचन कानुनमा सुधार गर्न अब ढिलाइ गर्नुहुन्न ।