२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

ज्येष्ठ नागरिकलाई अपराधबाट जोगाऔं

shivam cement
२०८२ चैत १ गते ०६:१०
Shares
ज्येष्ठ नागरिकलाई अपराधबाट जोगाऔं

देशभरका कारागारमा करिब ३० हजार कैदीबन्दी छन् । कारागार व्यवस्थापन विभागकाअनुसार ६० वर्ष नाघेका कैदीबन्दी करिब एक हजार दुई सय छन् । यो तथ्यले समाजबारे गम्भीर प्रश्नहरू अघि सार्दछ । कानुनतः ६० वर्ष उमेर पुगेकाहरू जेष्ठ नागरिक हुन् । जेष्ठ नागरिकको उमेर समूहका कैदीबन्दीमध्ये ठूलो संख्या जबरजस्ती करणी, कर्तव्य ज्यान र लागुऔषध कारोबार जस्ता गम्भीर अपराधमा संलग्न रहेको देखिन्छ । कारागार व्यवस्थापन विभागको तथ्यांकअनुसार जेष्ठ उमेर समूहका कैदीबन्दीमध्ये जबरजस्ती करणी मुद्दाका ४९५, कर्तव्य ज्यान मुद्दा ३४४ र लागुऔषध कारोबारसँग सम्बन्धित ८८ जना छन् । यो तथ्यांक गम्भीर चिन्ताको विषय हो । सामान्यतया ज्येष्ठ उमेरका नागरिकलाई अनुभव, संयमता र सामाजिक मार्गदर्शनको प्रतीकका रूपमा हेरिन्छ । तर यही उमेर समूहका मानिसहरू यस्ता गम्भीर अपराधमा संलग्न देखिनु नेपाली समाजको सामाजिक अवस्थाको गलत तस्वीर हो । 

जेल भुक्तान गरिरहेका जेष्ठ कैदीबन्दीमध्ये कतिपय नाबालिकलाई जबरजस्ती करणी गरेको अभियोगमा छन् । कतिपय हत्या जस्तो गम्भीर अपराधमा कसुरदार छन् । कतिपय लागुऔषध कारोबारमा संलग्न रहेका कारण सजाय भोगिरहेका छन् । यो अवस्था केवल व्यक्तिगत कमजोरी वा अपराधी प्रवृत्तिको परिणाम मात्र होइन । यसले समाजमा बढ्दै गएको नैतिक संकट, कमजोर सामाजिक नियन्त्रण, लैंगिक असमानता र सामाजिक संरचनामा रहेको समस्यालाई उजागर गर्छ । जबरजस्ती करणीका घटनामा ज्येष्ठ उमेरका व्यक्तिहरूको संलग्नता देखिनु महिलामाथि हुने हिंसा अझै गहिरो सामाजिक समस्या रहेको स्पष्ट संकेत हो । समाजमा महिला र बालिकाको सुरक्षा सुनिश्चित गर्न अझै सरकारी प्रयास आवश्यक रहेको यसले औंलउँदछ । परिवार र समुदायको परम्परागत संरचना कमजोर हुँदै जानुले पनि समस्या निम्त्याएको छ । पहिले परिवार, छिमेक र समुदायले व्यक्तिको व्यवहारमा निश्चित सामाजिक नियन्त्रण राख्थे । अहिले शहरीकरण, वैदेशिक रोजगारी, पारिवारिक विखण्डन र सामाजिक परिवर्तनका कारण यस्तो नियन्त्रण कमजोर हुँदै गएको छ । यसले कतिपय अवस्थामा व्यक्तिलाई सामाजिक अनुशासनबाट टाढा लैजाने अवस्था सिर्जना गरेको हुन सक्छ । यसबाहेक मानसिक स्वास्थ्य, एक्लोपन र सामाजिक उपेक्षा पनि केही ज्येष्ठ व्यक्तिहरूलाई गलत बाटोमा धकेल्ने कारण हुन सक्छ । यसबारे गहिरो अनुसन्धान हुनुपर्छ र त्यसअनुसार राज्यले नीति अख्तियार गर्नुपर्छ । 

२१ फागुनमा सम्पन्न आम निर्वाचनबाट ठूलो संख्यामा युवाहरू विधायक बनेका छन् । उनीहरूले नीति बनाउँदा बुझ्नुपर्छ–समाजको अनुभव र ज्ञानको स्रोत मानिने ज्येष्ठ उमेर समूह अपराधको सूचीमा देखिनु सकारात्मक संकेत होइन । यसलाई केवल अपराधको तथ्यांकका रूपमा हेरेर बेवास्ता गर्नु पनि हुँदैन । बरु यसलाई समाज, परिवार र राज्यका नीतिहरूको पुनरावलोकन गर्ने अवसरका रूपमा लिन सकिन्छ । समयमै सही नीति, सामाजिक चेतना र प्रभावकारी कार्यक्रम ल्याउन सकिए गलत प्रवृत्ति रोक्न सकिन्छ र समाजलाई सुरक्षित तथा नैतिक दिशातर्फ अघि बढाउन सकिन्छ । 

सम्बन्धित खबर