
रौतहट : पछिल्लो समय बढ्दो वन डढेलोको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले रौतहटको चन्द्रनिगाहपुरमा जनचेतनामूलक र्याली तथा कोणसभा आयोजना गरिएको छ । डिभिजन वन कार्यालय रौतहटको आयोजना तथा सामुदायिक वन उपभोक्ता महासंघ रौतहटको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।
‘वन रहे जीवन रहन्छ’ भन्ने सन्देश र तीनै तहका सरकार तथा समुदायको सहभागिता भन्ने नारासहित निकालिएको र्यालीले चन्द्रनिगाहपुर नगरका विभिन्न क्षेत्रको परिक्रमा गरेको थियो । र्यालीमा सहभागीहरूले वन संरक्षणसम्बन्धी सन्देश बोकेका प्लेकार्ड प्रदर्शन गरेका थिए । ‘वनमा आगो लगाउनु दण्डनीय अपराध हो’, ‘वनजंगल साझा सम्पत्ति हो, संरक्षण सबैको दायित्व हो’ जस्ता सन्देशहरू प्रचार गरिएका थिए ।
कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नागरिक समाज, सञ्चारकर्मी तथा स्थानीय वन उपभोक्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो । र्यालीपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै डिभिजन वन प्रमुख हेमन्त साहले वन डढेलो नियन्त्रणमा स्थानीय समुदायको भूमिका निर्णायक हुने बताए ।

उनले राष्ट्रिय तथा सामुदायिक वनमा लाग्ने आगलागीका कारण जैविक विविधता र वातावरणमा अपूरणीय क्षति पुगिरहेको उल्लेख गर्दै यसको नियन्त्रणका लागि सबै पक्ष गम्भीर बन्नुपर्ने समय आएको बताए ।
कार्यक्रमका वक्ताहरूले जानीजानी वनमा आगो लगाउने व्यक्तिको पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन् । डढेलो लगाउने कार्य वातावरणीय अपराध मात्र नभई मानव सभ्यताकै लागि खतरा भएको भन्दै समुदायस्तरबाट निगरानी बढाउन आग्रह गरिएको छ ।
बढ्दो गर्मी र सुख्खा मौसमसँगै तराईका वन क्षेत्रमा डढेलोको जोखिम उच्च रहने भएकाले डिभिजन वन कार्यालयले जिल्लाभर यस्ता सचेतनामूलक अभियानलाई निरन्तरता दिने जनाएको छ ।