२०८२ चैत १३ गते शुक्रवार / Mar 27 , 2026 , Friday
२०८२ चैत १३ गते शुक्रवार
Ads

सुर्खेतको गुर्भाकोटमा सातौं चन्द्र स्मृति कप हुँदै

himalayanlife
पूर्ण सार्की
२०८२ चैत १३ गते १९:२४
Shares
सुर्खेतको गुर्भाकोटमा सातौं चन्द्र स्मृति कप हुँदै

सुर्खेत : सुर्खेतमा सातौं चन्द्र स्मृति कप–२०८३ फुटबल प्रतियोगिता हुने भएको छ ।  जिल्लाको गुर्भाकोट नगरपालिकामा ‘हाम्रो खेल, हाम्रो गौरव–चन्द्र स्मृतिमा एकता र सम्मान’ भन्ने मूल नारासहित स्वर्गीय चन्द्रबहादुर बुढाको सम्झनामा मेहेलकुना फुटबल क्लबको आयोजनामा सातौं चन्द्र स्मृति कप–२०८३ प्रतियोगिता हुन लागेको हो ।

मेहेलकुना फुटबल क्लबले शुक्रबार पत्रकार सम्मेलन गरेर आगामी वैशाख १ गते नयाँ वर्षको अवसर पारेर चन्द्र स्मृति कप आयोजना हुने जानकारी दिएको हो । प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदको विकास गर्नुका साथै युवाहरूलाई खेलतर्फ आकर्षित गर्न र आपसी एकता तथा सद्भाव प्रवर्धन गर्न मद्दत पुग्ने भएकाले स्वर्गीय बुढाको सम्झनामा हरेक वर्ष झैं यो वर्ष पनि आयोजना गर्न लागिएको क्लबले जनाएको छ ।

प्रतियोगितामा करिब २० वटा टिमको सहभागिता रहने अनुमान गरिएको छ भने विभागीय टिमहरूको समेत सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिता आगामी वैशाख १ गतेदेखि सुरु भई वैशाख ८ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । 

प्रतियोगितामा विजेता टोलीले ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । साथै प्रतियोगितासँगै सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरिने क्लबले जनाएको छ ।

गुर्भाकोट नगरपालिकाका प्रमुख हस्तबहादुर पुनले प्रतियोगिता सञ्चालनका लागि स्थानीय सहयोग तथा चन्दा संकलनमार्फत व्यवस्थापन गरिने जानकारी दिँदै कर्णाली प्रदेशमै यो स्मृति कप लोकप्रिय र प्रतिष्ठित बन्दै गएको बताए । उनले खेल क्षेत्रको विकासका लागि आवश्यक भौतिक पूर्वाधारको अझै कमी रहेको उल्लेख गर्दै सबैको सहयोग आवश्यक रहेको बताए ।

मेहेलकुना फुटबल क्लबका अध्यक्ष राजेन्द्र शर्माका अनुसार प्रतियोगिताको विस्तृत विवरण, खेल तालिका र अन्य व्यवस्थापनसम्बन्धी जानकारी छिट्टै सार्वजनिक गरिने बताए । आयोजकका अनुसार प्रतियोगिता अवधिभर सहभागिता जनाउने खेलाडीले खान, बस्नको व्यवस्था आफैं गर्नुपर्ने छ ।

सम्बन्धित खबर