
क्वालालम्पुर, मलेसिया : मलेसियामा सक्रिय नेपाली फुटबल क्लब आरटिएफसी फुटबल क्लब मलेसियाको आयोजनामा ‘दोस्रो आरटिएफसी गोल्डकप’ फुटबल प्रतियोगिता आगामी मे महिनाको अन्तिम साता आयोजना हुने भएको छ । प्रतियोगिता मे ३१ देखि जुन १ सम्म मलेसियाको शाह आलमस्थित पानासोनिक स्टेडियममा सञ्चालन गरिने तय गरिएको आयोजकले जनाएको छ ।
आयोजक समितिका अनुसार प्रतियोगिताको तयारी तीव्र गतिमा अघि बढाइएको छ । यस प्रतियोगिताले वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेका नेपाली खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ । विशेषगरी फुटबलप्रति रुचि हुँदाहुँदै पनि उचित अवसर नपाएका खेलाडीहरूका लागि यो प्रतियोगिता उपयोगी मञ्च बन्ने विश्वास गरिएको छ ।
आरटिएफसी फुटबल क्लब मलेसियाका अध्यक्ष राजु तमाङका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य खेलकुदमार्फत युवाहरूलाई सिर्जनशील र सकारात्मक गतिविधिमा संलग्न गराउनुका साथै प्रवासमा रहेका नेपाली समुदायबीच आपसी सम्बन्ध, एकता र भाइचारालाई अझ सुदृढ बनाउनु हो । साथै, प्रतियोगिताले मलेसियामा रहेका नेपाली फुटबल प्रेमीहरूलाई एउटै थलोमा जोड्दै फुटबलप्रतिको उत्साह थप बढाउने लक्ष्य राखिएको उनले बताए ।
प्रतियोगितासम्बन्धी प्राविधिक तथा व्यवस्थापकीय तयारी, टिम दर्ता प्रक्रियालगायतका विस्तृत विवरण छिट्टै सार्वजनिक गरिने आयोजकले जानकारी दिएको छ ।