– सुरेश भट्ट ‘आश्रिन’
तपाईँलाई थाहा छ, अबको पाँच वर्षमा तपाई कस्तो हुनुहुन्छ ? के तपाई आफूले अनुमान गर्न सक्नुहुन्छ ? तपाईँले सजिलै अनुमान गर्न सक्नुहुन्छ कि अबको दिनमा तपाईँको हैसियत र आम्दानी कस्तो हुनेछ । यसका लागि कुनै ज्योतिषी ज्ञान चाहिँदैन । कतै चिना टिपन वा हात हेराएर यो बारे भन्न सकिँदैन । यो थाहा पाउन सजिलो छ । एक पटक आफ्नो सङ्गत हेर्नुहोस् । भनिन्छ, मानिस आफूले सङ्गत गर्ने पाँच जना मानिसहरूको औसत हुन्छ । अर्थात्, आफूले सङ्गत गर्ने पाँच जना साथीहरूको बानी व्यवहार, आचरण र उन्नति प्रगति जस्तै आफ्नो पनि बानी व्यवहार, आचरण र उन्नति प्रगति हुने गर्छ । सङ्गतले नै सबै कुरामा फरक पार्छ ।
राम्रो र सकारात्मक सोच भएका मानिसहरूको छेउ पर्नु हुन्छ भने तपाईँमा पनि त्यही कुराको प्रभाव देखिन्छ । खराब र नकारात्मक सोचले भरिएका मानिसहरूको सङ्गतमा पर्नु भयो भने या त तपाईँले आफूलाई कुनै दिन जेलभित्र भेट्नुहुन्छ या त शारीरिक, आर्थिक र नैतिकरुपमा उठ्नै नसक्ने गरी थला परेको अवस्थामा पुग्नुहुन्छ । साथी सङ्गत यति प्रभावशाली कुरा हो । यसलाई कम आँक्ने गल्ती गर्नु महँगो साबित हुन सक्छ । त्यसो भए सही सङ्गत कसरी चिन्ने त ? कसलाई राम्रा साथी मान्ने त ? यसको जवाफ गाह्रो छैन । केही सङ्केतहरूको अवलोकन गरेर प्रष्ट थाहा पाउन सकिन्छ कि सङ्गत ठिक छ कि छैन !
सङ्गतअनुसार व्यवहार
सङ्गत गर्दा रमाइलो नहुने अवस्थामा कसैले पनि सङ्गत गरिराख्दैन । तपाईँको साथी सही छ या छैन र तपाईँको सङ्गत सही छ वा छैन भन्ने कुरा कतिको रमाइलोसँग तपाईँको साथ बित्छ भन्ने कुराले फरक पार्दैन । बरु त्यो रमाइलो कसरी भइरहेको छ भन्ने कुराले फरक पार्छ । तपाईँलाई पक्कै पनि थाहा हुन्छ, सङ्गतमा तपाईँहरूले गर्ने रमाइलोले तपाईँहरूलाई क्षणिक फाइदा मात्रै दिइरहेको छ कि सधैँ यस्तो चल्न सक्छ । आफ्नो मनलाई सोध्नुहोस् । आफ्नो ठाउँमा अरूलाई राखेर हेर्नुहोस् । पक्कै थाहा हुन्छ ।
राम्रो सङ्गतमा परेका मानिसहरु सृजनशील हुन्छन् भने खराब सङ्गतमा परेकामा नकारात्मकता र तडकभडक हुन्छ । रक्सीको नसामा डुबेर रमाइलो गर्नु र कुनै सृजनशील काम गरेर रमाइलो गर्नु कति फरक छ भन्ने कुरा त तपार्इँ स्वयम्ले थाहा पाउनुहुन्छ । सङ्गत कस्तो छ भन्ने कुरा रमाइलो कति छ भन्ने मानकका आधारमा निष्कर्षमा नपुग्नुहोस् ।
छायाँ जस्ता साथीबाट असुरक्षा
छोटकरीमा भन्दा छायाँ जस्ता साथीको जीवनमा काम छैन । छायाँ उज्यालोमा मात्रै बन्छ तर, जति उज्यालोपना घट्न थाल्छ, छायाँ हराउन सुरु हुन्छ । अन्धकार रातमा छायाँ कतै पनि हुँदैन । तपाईँको सजिलो समयमा मात्रै देखिने साथी वास्तवमा साथी नै होइनन् । तपाईँ अप्ठ्यारोमा पर्दा तपाईँका भन्दा ठूला समस्या सुनाएर तर्किनेहरूबाट तपाईँले कस्तो साथ पाउनु हुन्छ र तिनलाई साथी मान्नुहुन्छ ? वास्तवमा साथी चाहिने भनेकै अप्ठ्यारो बेलामा हो, जीवनको अँध्यारो समयमा हो । जहाँबाट कोही साथीले बाहिर निकाल्दियोस् । तपाईँले सङ्गत गरेका मानिसहरूले तपाईँलाई अप्ठ्यारो पर्दा देखाउने व्यवहारका बारेमा ध्यान दिनुस् । उनीहरूका बहाना सुन्नुहोस् । उनीहरूले तपाईँलाई गर्ने सहयोगका बारेमा निष्पक्ष टिप्पणी गर्नुहोस् । सङ्गत सही छ कि छैन भन्ने पत्ता लगाउन सक्नुहुन्छ ।
देउवा मान्नेबाट सजग रहनु
तपाईँलाई देउता मान्ने साथी मैले यहाँ दुई कारणहरूको आधारमा लेखेको छु । पहिलो कारण हो, यस्ता साथी जो उसलाई दुःख पर्दा मात्रै सम्झिन्छ तर, सुखमा र सामान्य अवस्थामा तपाईँलाई वास्तै गर्दैनन् । तपाईँले गरेका हरेक कुराहरूको ती समर्थन मात्रै गर्दैनन्, बरु उल्टै गजबै राम्रो हो भनेर तारिफ गर्छन् । यस्तो अवस्थामा बुझ्नु पर्छ, तपाईँलाई तिनले प्रयोग गर्दै छन् । तपाईँसँग भएको स्रोत वा साधन वा सामथ्र्य केही उनीहरूलाई चाहिएको छ र तपाईँलाई फकाउँदै छन् । राम्रो साथीले तपाईँका कमजोरीहरूका बारेमा तपाईँलाई जानकारी दिन्छन् । गाली गर्छन् । तर, तपाईँ रिसाउनु हुन्छ भनेर बनावटी तारिफमा उत्रिँदैनन् । तपाईँलाई मान्छे बनाइराख्छन् ।
एक पल्ट सुदामाले कृष्णलाई सोधे रे, “कृष्ण ! हाम्रो मित्रता देखेर संसार चकित पर्छ । वास्तवमा मित्रताको मतलब के हो ?” कृष्णले सुदामालाई जवाफ फर्काएछन्, “यदि मित्रतामा मतलब रह्यो भने त्यो मित्रता नै कहाँ रह्यो र ?”
सङ्गतअनुसार जीवन
सबैभन्दा महत्ववपूर्ण र विशेष लक्षण हो यो । तपाईँ आफूले आफैलाई नियाल्नुहोस् । जुन व्यक्तिहरूलाई तपाईँले आफ्नो राम्रो साथी भनेर सङ्गत गरिराख्नु भएको छ, तिनको सङ्गत पछि तपाई कस्तो हुनु भयो ? तपाईँमा कस्ता–कस्ता परिवर्तन आए ? तपाईँमा राम्रा परिवर्तन आएका छन् भने तपाईँको सङ्गत राम्रो छ । तपाईँमा आएका परिवर्तनहरू राम्रा छन् वा ठिकै हुन् नि भन्नका लागि अनेक तर्क र कुतर्क गर्न थाल्नुपर्छ भने तपाईँ आफैलाई ठग्दै हुनुहुन्छ । तपाईँले गर्नु भएको सङ्गत सही छैन । छोड्नुहोस् ।
योजना नसुुन्नेदेखि सजग रहनु
तपाई कुनै योजना बनाएर उत्साहित हुनुहुन्छ । तपाईँलाई लाग्छ कि त्यो योजना सिर्जनशील छ, उपयोगी छ र गजब छ । तपाईँ आफ्नो साथी सङ्गतमा त्यो योजना सुनाउनु हुन्छ । साथीले कुनै उत्साह बिना भन्छ, “योजनाका बारेमा पछि कुरा गरुँला नी ! अहिले रमाइलो गरौँ ।” र, यस्तो पटक पटक हुन्छ । तपाईँका कुनै पनि योजनामा उनीहरू सामान्य अवस्थामा प्रतिक्रियासम्म दिँदैनन् । यस्तो सङ्गतले तपाईँलाई ओरालो मात्रै लगाउँछ । साँचो साथीले तपाईँको योजना सुन्छ । कमजोरी पत्ता लगाउँछ र झन् सुधार्छ ।
साथीको अनुहार कस्तो ?
‘सङ्गत गर्न साथीको अनुहार पनि राम्रो हुनुपर्छ’ यदि यसलाई सर्त राखिन्छ भने यो सङ्गत र मित्रताको सबैभन्दा कलंकित सर्त हुनेछ । अनुहार वा शारीरिक बनावटले सङ्गत कस्तो भन्ने कुरामा रौँ जति पनि फरक पार्दैन । यहाँ मैले उठाउन खोजेको कुरा अर्कै छ । सामान्य ईष्र्या वा मेरो पनि यस्तै भइदिए हुन्थ्यो भन्ने भावना देखाउनु स्वाभाविक हो तर, तपाईँको खुसीमा दुःखी हुनु फरक कुरा हो । पक्कै पनि स्वाभाविक होइन । यस्तो सङ्गत सक्दो चाँडो छोड्नुहोस् । अन्त्यमा, हामीले विचार गर्नुपर्ने कुरा भनेको जहिलै पनि सङ्गत खराब मान्छेको गर्नुभन्दा एक्लै बस्नु उचित हुन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies