
पर्सा : पर्साको पोखरिया नगरपालिकामा सञ्चालनमा रहेको मालपोत कार्यालयबाट हालसम्म १३ करोड ४५ लाखभन्दा बढी राजस्व संकलन भएको छ ।
मालपोत कार्यालय पोखरियाका प्रमुख रामजी साहका अनुसार २०८१ चैत १५ गतेदेखि सेवा सुरु भएको कार्यालयले एकद्वार प्रणालीमार्फत सेवा प्रवाह गर्दै आएको छ ।
कार्यालयले सुरुवाती अवधिदेखि २०८२ असारसम्म विभिन्न शीर्षक जस्तै रजिष्ट्रेशन, मुद्दा फाँट लगायतबाट ३ करोड ९९ लाख ४४ हजार १६० रुपैयाँ राजस्व संकलन गरेको थियो । त्यस्तै चालु आर्थिक वर्ष २०८२÷८३ मा ९ करोड ४५ लाख ६५ हजार ९ सय ९५ रुपैयाँ संकलन भएसँगै कुल राजस्व १३ करोड ४५ लाख १० हजार १ सय ५५ रुपैयाँ पुगेको प्रमुख साहले जानकारी दिए ।
उनका अनुसार कार्यालयमा नगद कारोबार पूर्ण रूपमा बन्द गरिएको छ । सेवाग्राहीले तिर्नुपर्ने सम्पूर्ण राजस्व राष्ट्रिय वाणिज्य बैंक को राजस्व खातामा जम्मा गरी भौचर पेश गर्नुपर्ने व्यवस्था छ । एक रुपैयाँ कम भए पनि प्रणालीले स्वीकार नगर्ने भएकाले सबै कारोबार पारदर्शी र त्रुटिरहित रहेको जनाइएको छ ।
साथै, सबै विवरण अनलाइन प्रणाली र रेकर्डमा सुरक्षित राखिने हुँदा राजस्व सम्बन्धी काम पारदर्शी ढंगले भइरहेको कार्यालयले जनाएको छ ।
यसअघि मालपोत सेवा लिन सेवाग्राहीहरू वीरगञ्ज जानुपर्ने बाध्यता थियो, जसले गर्दा समय र खर्च दुवै बढ्ने गरेको थियो । तर पोखरियामै कार्यालय सञ्चालनमा आएपछि सेवा सहज र छिटो भएको सेवाग्राहीहरूको भनाइ छ ।
धोबिनी गाउँपालिका–४ का लालबाबु जिमदारले अहिले घर नजिकैबाटै कम खर्चमा सहज रूपमा सेवा लिन पाउँदा सन्तुष्टि व्यक्त गरे । त्यस्तै पोखरियाका जितेन्द्र पटेलले पनि बैंकमा राजस्व जम्मा गरी भौचर पेश गरेपछि सहज रूपमा काम सम्पन्न हुने व्यवस्था प्रभावकारी रहेको बताए ।
हाल उक्त कार्यालयबाट धोबिनी गाउँपालिका, बिन्दबासिनी गाउँपालिका, छिपहरमाई गाउँपालिका, कालिकामाई गाउँपालिका, पकहामैनपुर गाउँपालिका र जगरनाथपुर गाउँपालिका सहित सात स्थानीय तहका हजारौं सेवाग्राही लाभान्वित भएका छन् ।