
बझाङ : बझाङको बुङ्गल नगरपालिकामा विपद् सूचना प्रणाली, जोखिम न्यूनीकरण तथा व्यवस्थापन विषयमा दुईदिने तालिम सम्पन्न भएको छ । युनाइटेड मिसन टु नेपाल र दलित सहयोग समाजको साझेदारीमा आयोजित तालिम स्थानीय विपद् व्यवस्थापन समितिका सदस्यहरूलाई लक्षित गरिएको थियो ।
साझेदार संस्थाका निर्देशक सुनिल नेपालीका अनुसार तालिममा विपद् सूचना प्रणाली सञ्चालन, प्राकृतिक प्रकोपपछिको उद्धार कार्य, तथा जोखिममा परेका नागरिकको विवरण विपद् पोर्टलमा प्रविष्ट गरी राहत र क्षतिपूर्ति व्यवस्थापन गर्ने विषयमा प्रशिक्षण दिइएको थियो ।
डिजास्टर परियोजनाका संयोजक सुरेश नाथले बाढी, पहिरो, भूक्षय, आगलागी र महामारीजस्ता विपद्का समयमा स्थानीय तहमा उच्च सतर्कता आवश्यक रहेको औंल्याए ।
मोहनलाल बिकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरप्रमुख जयबहादुर धामी प्रमुख अतिथि र प्रमुख प्रशासकीय अधिकृत अमरराज जोशी विशिष्ट अतिथिका रूपमा सहभागी थिए ।
कार्यक्रममा बोल्दै नगरप्रमुख धामीले विपद् व्यवस्थापनसम्बन्धी कार्यविधि निर्माण गरी प्रभावकारी कार्यान्वयनमा जाने प्रतिबद्धता जनाए । साथै, जोखिमयुक्त क्षेत्रमा पूर्वतयारी स्वरूप साइरन जडान गर्ने योजना रहेको जानकारी दिए ।
तालिममा सहभागी जनप्रतिनिधि तथा कर्मचारीलाई प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै आपतकालीन अवस्थामा छिटोछरितो सूचना प्रवाह र घटना रिपोर्टिङमार्फत जोखिम न्यूनीकरणमा सक्रिय भूमिका खेल्न निर्देशन दिइएको थियो ।