काठमाडौं : सरकारले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेश सभाको चुनावको मिति घोषणा गरेको छ । उत्तम साइतका लागि जोतिषलाई समेत देखाएर सरकारले चुनावको मिति सार्वजनिक गरेसंगै राजनीतिक दलहरु चुनाव केन्द्रीत रणनीतिमा जुटेका छन ।
आगामी पाँच वर्षमा शासन गर्ने अधिकार प्राप्त गर्ने महासंग्राममा नेताहरु मात्रै होमिएका छैनन्, नागरिकमा पनि उस्तै उत्साह र कौतुहलता छ । उस्तै गरी निर्वाचन अयोग पनि चुनावको तयारीमा जुटेको छ । यसपालि निर्वाचनका लागि करिव १०५ दिनको समयावधि निर्वाचन आयोगले पाएको छ ।
निर्वाचन ४ मंसिरमा गर्ने घोषणा संगै मतदाता नामावली संकलन स्थगित भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार आज (शुक्रबार)देखि मतदाता नामावली संकलन स्थगित भएको हो ।
यसअघि आयोगले देशभरका जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय आदि ठाउँबाट फोटोसहितको मतदाता नामावली संकलन गरेको थियो ।
प्रमुख निर्वाचन आयुक्त थपलियाका ४ मंसिरमा हुने संघीय र प्रदेश सभाको चुनावका लागि आइतबारदेखि राजनीति दल दर्ताको प्रक्रिया सुरु हुनेछ ।
‘संविधानको धारा २७१ अनुसार राजनीतिक दल दर्ता गर्नुपर्छ, तदअनुसार आइतबारदेखि नै प्रक्रिया प्रारम्भ गरेर छिटै यसलाई सम्पन्न गर्छौं,’ उनले भनेका छन् । उनका अनुसार सात वटा प्रदेशमा कुन कुन दलले भाग लिन्छन् र संघीय निर्वाचनमा कुन कुन दलले भाग लिन्छन् कुराको निधो भदौको पहिलो हप्ताभित्र हुनेछ । निर्वाचनमा भाग लिने चाहने दलले दल दर्ताको लागि आयोगले तोकेको समयमा र तोकिएको ढाँचामा आयोग समक्ष निवेदन दिनु पर्ने कानूनी व्यवस्था छ ।
निर्वाचन आयोगका अनुसार एक साता भित्र मतदानस्थल र केन्द्रबारे पुनरावलोकन प्रतिवेदन तयार हुनेछ ।
मतदानस्थलको सिफारिसको काम हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने समितिले गर्छ । त्यो समितिमा राजनीतिक दलका प्रतिनिधि लगायतहरु हुन्छन् । निर्वाचन आयोगले स्थानीय निर्वाचनको तुलनामा केही ठाउँमा मतदानस्थल र केन्द्रसमेत थप्ने तयारी गरेको छ ।
आयोगका अनुसार, दल दर्ताको काम सकिएलगत्तै राजनीतिक दलहरुलाई समानुपातिकतर्फका उम्मेदवारको सूची बुझाउन सार्वजनिक आह्वान हुनेछ । दलहरुले त्यसका लागि करिव दुई साताको अवधि पाउनेछन् ।
निर्वाचन आयोगले तयार पारेको अनौपचारिक खाका अनुसार, दशैं विदालगत्तै उम्मेदवारको मनोनयन सुरु हुन्छ भने एक साताभित्र त्यसलाई टुंग्याउनुपर्ने हुन्छ ।
कात्तिक लाग्नासाथ उम्मेदवारले निर्वाचनको प्रचारप्रसार गर्न पाउनेगरी आयोगले निर्वाचन तालिका बनाउनेछ । कात्तिकभर प्रचारप्रसार गर्न पाउने उम्मेदवारले मंसिर लागेपछि पनि मौन अवधिअघि प्रचारप्रसारको सुविधा पाउनेछन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies