–तारा श्रेष्ठ
शशी अस्पतालको बेडमा निदाए झैं लाग्थिन् । उनी लडेर टाउकामा गहिरो चोट लागेको रहेछ । उनी बेहोस थिइन् । डा. शेखर शशीलाई नियाल्दै औषधी लेख्दै थिए । छेवैमा उनकी सासू आफूलाई धिक्कार्दै भगवानसँग गुनासो गर्दै थिइन्, “भगवान् तिमी कसरी यति निष्ठुर हुन सक्छौ ?” छोरा दुई वर्ष नपुग्दै मेरा पति खोस्यौ, नातिलाई गर्भे टुहुरो बनायौ, आज बुहारी पनि खोस्न लाग्यौ । नातिले सधैं “बाबा खै” भनेर पिरोल्ने, अब “आमा पनि खै भनेर सोध्दा म के जवाफ दिऊँला ?” भगवान् ! जे जे सजाय दिनु छ मलाई देऊ ।” उहाँको कुरा सुनेर डाक्टरले आमालाई धैर्य राख्न अनुरोध गरे । उनी बेला बेला शशीलाई नियाल्थे । उनी सार्है राम्री, सेतो साडीमा चन्द्रमा झैं उज्याली । शायद बाईस, पच्चीसकी हुँदिहुन् । फुल्न लागेको गुलाब झैँ अनुपम थियो उनको रुप । डाक्टर उनीप्रति आकर्षित देखिन्थे । नाति डाक्टरकै अघिपछि कुदिरहन्थ्यो । ऊ चार वर्ष को मात्र थियो । केही दिनको उपचार पछि शशी निको भएर घर गइन् ।
शेखरलाई शशीको सम्झना आइरह्यो । उनी केही दिनअगाडि मात्र शशीको छिमेकीका घरमा डेरा सरेका रहेछन् । उनी आश्रममा हुर्केका, बढेका र पढेर डाक्टर भएर आएका रहेछन् । उनलाई त्यो परिवार को औधि माया लाग्न थालेछ ।
एकदिन शशीकी सासूसँग उनले सोधेका रहेछन्, “आमा, मलाई आफ्नो छोरा स्वीकार गर्न सक्नु हुन्छ ?”
सासूको मनमा एक किसिमको शीतलता छाउन थालेछ, उनलाई पनि शेखर आफ्नै छोरा झैँ लाग्न थालेको रहेछ ।
एकदिन शेखर आँटै गरेर शशीलाई भेट्न केही औषधी, खानेकुरा र फूलको गुच्छा लिएर गए ।
त्यो दिन ‘प्रणय दिवस’ रहेछ । शशीसँग निकै बेर गफिए र फर्किए । शशीले शेखरले ल्याइदिएका झोला खोलिन् । त्यहाँ एक टुक्रा कागजमा लेखिएको रहेछ- शशी ! आइ लव यू, म तपाईंलाई हृदयदेखि नै चाहन्छु, माया गर्छु ! बाँचुन्जेल साथ दिन चाहन्छु । मलाई विश्वास गर्नुहोस् । जबसम्म तपाईंको हृदयमा मेरो नामको प्रेम अंकुरित हुने छैन तबसम्म म तपाईंको पर्खाइमा रहनेछु । प्रणय दिवस को शुभकामना शशी !- डा. शेखर शर्मा
पत्र पढेर उनलाई आफ्नो बिधवापनको मजाक उडाए झैँ लाग्यो । दुई÷चार दिन अस्पतालमा सेवा गर्ने बित्तिकै सोधभर्ना मागिहाल्नु पर्ने ? यो त डाक्टरको धर्म हैन र ? शशीले सासूसँग गुनासो गरिन् । सासू मौन रहिन् । उनी त बुहारीको जोडा बाँध्न पाए हुन्थ्यो भन्ने आशमा मात्र हुन्थिन् । डाक्टरले धेरै पटक शशीसँग प्रेम प्रस्ताव राखे । उनको मनमा डाक्टरप्रति कति माया थियो थिएन, देखाइनन् । छोरो भने डक्टरको हात समाउँदै अघिपछि हुन्थ्यो । उनीसँग निकै रत्तिएको थियो । यो दृष्यले शशीकी सासूलाई भित्रभित्रै पीडा हुन्थ्यो । झल्झल्ती आफ्नो छोराको सम्झनाले डस्थ्यो ।
अर्काे दिन फेरि डाक्टर शशीलाई भेट्न गए । केही छिनको भलाकुसारी पछि सासूआमा फूलमा पानी हाल्ने बहानाले बाहिर निस्किन् ।
फुच्चे पनि हजुरआमासँगै पछिपछि लाग्यो ।
वातावरण सुनसान थियो । लाग्थ्यो, सियो खस्दा नि आवाज आउँछ झैँ । शेखर फेरि शशीसँग प्रेमको याचना गरिरहेका थिए । शशी टाउको निहुराएर सुनि मात्र रहेकी थिइन् । शेखरको कुरा सकिएपछि उनी भन्दै थिइन्, “डाक्टर साब ! भाग्यले ठगिएकी मजस्ती नारीले एकपटक रङ्गिएर पखालीएको सिउँदोमा सिन्दुर लगाउनु त के, सोच्नु पनि पाप हो । यो जुनी त यस्तै भैहाल्यो, अर्काे जुनी रहेछ भने म हजुरकी अर्धाङ्गिनी हुनेगरी जन्मिन पाऊँ ।”
शेखर, “शशीजी, मलाई अर्काे जुनीको विश्वास छैन । म एक डाक्टर हुँ, विज्ञानले प्रमाणित नगरेको कुरामा म कसरी भर परुँ ? सवाल अर्काे जुनीको हैन, यही जुनीको हो । पहाड जस्तो जिन्दगीलाई तपाईं एक्लैले काट्न मुस्किल पर्छ । तपाईंको बाँकी जिन्दगीमा आइपर्ने कठिनाइलाई सहजै पार लगाउन म तपाईंको हात थाम्न चाहन्छु । मान्छेले बनाएको पाप र धर्मको नियम उल्लंघन गर्दा एक बेसाहारा नारीको जीवनमा बसन्त बहार आउँछ भने म त्यो पाप गर्न तयार छु शशी । यो बच्चाको सुन्दर भविष्यको खातिर म अभिभावकत्व स्वीकार्न तयार छु । ममाथि भरोसा राख्नुहोस् । तपाईंको यो खाली सिउँदोमा मेरो नामको सिन्दुरले रङ्गाएर यो जुनीभर तपाईंको सहयात्री बन्न दिनुहोस् !”
डाक्टर शेखर शशीलाई भेटेर निस्किए । केही छिनमै आँधी–तुफान मच्चियो । बिजुली चम्कियो, चट्याङको आवाज कानै खानेगरी आयो । हावाको झोंक्काले झ्यालको पल्ला खोलियो । झ्याल लगाउन उनी गइन् । बिजुलीको उज्यालोमा बाहिर शेखर भिजिरहेको देखिन् । एक्कासि उनको मनमा शेखरप्रतिको माया भेल बनेर उर्लियो । झ्यालैबाट उनी चिच्याउँदै ‘आइ लव यू शेखर’ भनिन् । उनले डाक्टरलाई भित्र ल्याइन्, अनि गुनासो गर्दै भनिन्, “यो पनि कुनै माया गर्ने तरिका हो ? हजुरलाई केही भइहाल्यो भने ?” केहीबेर पछि आमाले शेखरको हातमा सिन्दुरको बट्टा दिँदै भनिन्, “डाक्टर बाबु, यो सिन्दुरले शशीको सिउँदो भरिदिनुस् ।”
शेखरले शशीको सिउँदो रङ्गाइदिए । उनको उजाडिएको जीवनमा पुनः बहार आयो । उनको आँखा भिजे । हजुरआमा र नातिका आँखामा हर्षका आँसु तप्किरहेका थिए । त्यो देखेर डाक्टरका नयनबाट पनि आँसुका दाना तप्प तप्प खस्न थाले ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies