२०८३ असोज १४ गते बुधवार / Sep 30 , 2026 , Wednesday
२०८३ असोज १४ गते बुधवार

नक्कली म्यानपावर खोलेर झन्डै एक करोड ठगी

Nada
२०८३ असोज १४ गते ०६:१५
Shares
नक्कली म्यानपावर खोलेर झन्डै एक करोड ठगी

काठमाडौं : काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले नक्कली म्यानपावर कम्पनी खोलेर वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिन्छु भन्दै करिव १ करोड रुपैयॉ ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।

ncell

प्रहरीले चाबहिलमा ब्लु डाइमन्ड एचआर सर्भिस प्रा.लि. नामको नक्कली म्यानपावर कम्पनी खोलेर बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि विभिन्न देशमा लैजाने भन्दै ठगी गर्ने हरि तिमल्सिना भन्ने ईश्वर खतिवडालाई पक्राउ गरेको हो ।

धादिङको नेत्रावती डबजोङ–५ स्थायी ठेगाना भई हाल काठमाडौं तार्केश्वरमा बस्ने तिमल्सिनाले स्लोभानिया र माल्दिभ्स पठाउने भन्दै ८५ लाख रुपैयाँ ठगेको प्रहरीले बताएको छ । हालसम्म आफू ठगिएको भन्दै २५ जना सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

खतिवडाले हरि तिमल्सिनाको नागरिकताको प्रमाणपत्र प्रयोग गरी आफूलाई हरि तिमल्सिना हो भनी विभिन्न पीडितबाट स्लोभानिया, माल्दिभ्सलगायतका देशमा लैजाने भन्दै रकम उठाउने गरेका थिए । उनले आफूलाई कम्पनीको म्यानेजिङ डाइरेक्टर भएको भन्दै भिजिटिङ कार्डसमेत बनाई पीडितलाई देखाउने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले बताएको छ ।

उनले ६ जना कर्मचारी नियुक्त गरी पीडितबाट कर्मचारीको खातामा रकम जम्मा गर्न लगाई कर्मचारीसँग आफूले नगदै रकम बुझ्ने गरेका थिए । कर्मचारी तथा पीडित व्यक्तिहरू हरि तिमल्सिनाको नागरिकताअनुसारको स्थायी घरठेगानामा गई खोजी गर्दा हरि तिमल्सिना भन्ने व्यक्ति फरक रहेको पाइएपछि उनीविरुद्ध हरि तिमल्सिनासहित २५ जना पीडितले आवश्यक कारबाहीका लागि निवेदन पेस गरेको प्रहरीले बताएको छ ।

उनले नक्कली हवाई टिकट, भिसा, वर्क परमिटलगायतका कागजात देखाई पीडितसँग रकम माग गर्ने गरेकोसमेत देखिएको प्रहरीले बताएको छ ।

सम्बन्धित खबर