
काठमाडौं : युवा, श्रम तथा रोजगार मन्त्रालयले मलेसियाको फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टम (एफडब्लुसिएमएस)मा सूचीकृत भएका २५ म्यानपावर कम्पनीले उक्त प्रणालीबाट बाहिरिन चाहेको भन्दै दिएको निवेदन मलेसियालाई पठाएको बताएको छ ।
श्रम मन्त्रालयकी प्रवक्ता मिरा आचार्यले सूचीकृत म्यानपावर कम्पनीको निवेदन सोमबार परराष्ट्र मन्त्रालयमार्फत मलेसिया पठाइएको बताएकी छन् । प्रवक्ता आचार्यले एफडब्लुसिएमएसमा सूचीकृत २५ वटै म्यानपावर कम्पनीले आफूहरूको जानकारी र मञ्जुरीबिना सूचीकृत गरिएको भन्दै उक्त प्रणालीबाट बाहिरिन चाहेको निवेदन मन्त्रालयमा दिएको र ती निवेदन सोमबार नै परराष्ट्र मन्त्रालयमार्फत मलेसियालाई पठाइएको बताइन् ।
नेपालले मलेसियालाई कूटनीतिक नोट पठाएर २५ मुख्य र २५० सहायक म्यानपावरको संरचना द्विपक्षीय श्रम सम्झौताविपरीत भएको भन्दै स्वीकार्य नभएको बताएको छ । नेपाली म्यानपावर कम्पनी छनोटसम्बन्धी विवादका कारण मलेसियास्थित नेपाली दूतावासले नयाँ मागपत्र प्रमाणीकरण रोकेको छ ।
दुवै तर्फबाट समस्या समाधानको प्रयास भइरहेको बताए पनि परिणाम आउन ढिलाइ भएको भन्दै मलेसिया श्रमिक पठाउने व्यवसायी आत्तिएका छन् । दुवै देशले उच्च तहको कूटनीतिक संवादमार्फत समस्या समाधानको पहल भइरहेको बताएका छन् । तर प्रक्रिया कुन तहमा पुगेको छ भन्ने जानकारी पाउन नसकेको मलेसियास्थित नेपाली दूतावास स्रोतले बताएको छ ।
यसअघि मलेसिया जाने कामदारमाथि स्वास्थ्य परीक्षणमा थप शुल्क लगाएर ठगी गरेको भन्दै तत्कालीन श्रम मन्त्रालयले २०७५ सालमा श्रम स्वीकृति दिन रोकेपछि सहमति र खुला हुन करिब १५ महिना लागेको थियो । त्यसभन्दा पहिला स्वयं मलेसियाले नै विदेशी कामदार लिन बन्द गर्दा ६ महिनाभन्दा बढी समय मलेसिया रोजगारी अवरुद्ध बन्न पुगेको थियो ।