
क्वालालम्पुर : मलेसियामा कार्यरत विदेशी कामदारले निश्चित अवस्थामा रोजगारदाता परिवर्तन गर्न पाउने भएका छन् । तर, रोजगारदाता परिवर्तन गर्नुअघि सम्बन्धित सरकारी निकायबाट अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ ।
मलेसियाको मलेसियाको प्रायद्वीपीय श्रम विभागले विदेशी कामदारको रोजगारदाता परिवर्तनसम्बन्धी प्रक्रिया र आवश्यक कागजातबारे जानकारी सार्वजनिक गर्दै रोजगारदाता परिवर्तनका लागि आवेदन फारम तथा आवश्यक कागजातको सूची सार्वजनिक गरेको छ । उक्त फारम २८ सेप्टेम्बर २०२६ देखि लागू हुने गरी सार्वजनिक गरिएको जनाइएको हो ।
सरकारी प्रक्रियाअनुसार विदेशी कामदारले आफूखुसी पुरानो कम्पनी छाडेर अर्को कम्पनीमा गएर काम गर्न पाउने छैनन् । रोजगारदाता परिवर्तन गर्न चाहने कामदारले तोकिएको प्रक्रिया पूरा गरी सरकारी स्वीकृति प्राप्त गर्नुपर्नेछ ।
कुन अवस्थामा रोजगारदाता परिवर्तन गर्न सकिन्छ ?
मूल रोजगारदाताले विदेशी कामदारलाई निरन्तर रोजगारी दिन नसक्ने अवस्थामा रोजगारदाता परिवर्तनका लागि आवेदन दिन सकिने व्यवस्था छ। कम्पनी बन्द हुनु वा दिवालिया हुनु, आर्थिक कठिनाइका कारण कामदारलाई रोजगारी दिन नसक्नु, कम्पनी पुनर्संरचना हुनु तथा कम्पनीको नाम वा निर्देशक परिवर्तन हुनुलगायतका अवस्थालाई यस प्रक्रियासँग सम्बन्धित कारणका रूपमा समेटिएको छ ।
यस्ता अवस्थामा कामदारलाई नयाँ रोजगारदातामा स्थानान्तरण गर्नुअघि सम्बन्धित सरकारी निकायबाट स्वीकृति लिनुपर्नेछ ।
नयाँ कम्पनीले पनि प्रक्रिया पूरा गर्नुपर्ने
रोजगारदाता परिवर्तनमा कामदार मात्र नभई नयाँ रोजगारदाताको पनि जिम्मेवारी रहनेछ। नयाँ कम्पनीले विदेशी कामदार राख्न आवश्यक अनुमति तथा प्रारम्भिक स्वीकृति प्राप्त गरेको हुनुपर्नेछ ।
सम्बन्धित निकायले पुरानो तथा नयाँ रोजगारदाताको विवरण, कार्यस्थल, श्रम कानुनको पालना, कामदारको आवासलगायत विषयमा आवश्यक जाँच गर्न सक्नेछ ।
नेपाली कामदारले के ध्यान दिने ?
यो व्यवस्था मलेसियामा कार्यरत नेपाली कामदारका लागि विशेष महत्वपूर्ण छ । वैध पासपोर्ट र वर्क परमिट भएकै आधारमा आफूखुसी अर्को कम्पनीमा गएर काम गर्न पाइँदैन ।
पुरानो रोजगारदाता छाडेर सरकारी स्वीकृति नलिई नयाँ कम्पनीमा काम सुरु गर्दा श्रम तथा अध्यागमनसम्बन्धी समस्या आउन सक्ने भएकाले कामदारले रोजगारदाता परिवर्तनको प्रक्रिया पूरा गरी आधिकारिक स्वीकृति प्राप्त गरेपछि मात्र नयाँ कम्पनीमा काम सुरु गर्नुपर्नेछ ।
कामदारले दलाल, एजेन्ट वा अन्य व्यक्तिको मौखिक आश्वासनमा भर नपरी प्रायद्वीपीय श्रम विभाग तथा सम्बन्धित सरकारी निकायबाट आफ्नो अवस्था, आवश्यक कागजात र प्रक्रिया यकिन गर्न ध्यान दिनुपर्नेछ ।