२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

सांसदलाई ‘मर्यादा’ सिकाउँदै रास्वपा 

Nada
भावना पाठक
२०८३ वैशाख २७ गते ०६:२५
Shares
सांसदलाई ‘मर्यादा’ सिकाउँदै रास्वपा 

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ओखलढुंगाबाट निर्वाचित सांसद विश्वराज पोखरेलले आफूलाई सम्मान नगरेको भन्दै खिजिदेम्बास्थित रगनीका एक प्रधानाध्यापाकलाई हप्काए । त्यो घटनाले विश्वराजमाथि चौतर्फी गालीको वर्षा भयो । यो घटनाले पार्टीलाई क्षति पुगेको भन्दै उनीमाथि रास्वपाले स्पष्टीकण नै सोध्यो । 

ncell

त्यस्तै, दैलेखका सांसद खगेन्द्र सुनारले प्रहरी हिरासतमा एक दलित युवाको मृत्युको विषयमा सिन्धुलीका प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई अपशब्द प्रयोग गर्दै धम्क्याए । यसबाट पनि रास्वपामाथि सार्वजनिक रूपमा प्रहार भयो । धादिङकी सांसद आशिका तामाङका क्रियाकलाप पनि विवादित बन्दै आएको छ । पछिल्लोपटक होटलमा प्रशिक्षण कार्यक्रम राखेको भन्दै उनले असन्तुष्टि जनाएपछि रास्वपाले उनलाई कारबाही गर्ने चेतावनी नै दिएको छ । सांसद तामाङले सांसदका लागि प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम महँगा फाइभ स्टार होटलमा गरिएको भन्दै सामाजिक सञ्जालमार्फत आपत्ति जनाएकी थिइन् । उनले राज्यस्रोतको दुरुपयोग र फजुल खर्चको विषयमा गम्भीर प्रश्न उठाएपछि पार्टीले कारबाहीको चेतावनी दिएको हो । 

रास्वपाका कतिपय अन्य सांसदका गतिविधि पनि ‘अमर्यादित र असभ्य’ रहेको भन्दै टिप्पणी भइरहेका छन् । सांसदहरूको गतिविधि संसद् हलभित्र समेत अमर्यादित हुँदै गएपछि रास्वपाले उनीहरूका निम्ति प्रशिक्षण आयोजना गरेको हो । जनप्रतिनिधिले आफ्नो हैसियत ख्याल नगर्दा स्वयं उनीरूलाई त अप्ठ्यारो पर्छ नै, पार्टीमाथि नै निरन्तर प्रश्न उठ्दै जाँदा प्रतिवाद गर्न शीर्ष नेताहरूलाई हम्मेहम्मे भइरहेको छ । 

प्रतिनिधिसभा निर्वाचनबाट दुईतिहाइ बहुमतप्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अधिकांश सांसद युवा छन् । तर, नयाँ जोसमा होस नपुर्‍याउँदा उनीहरू र पार्टीले समेत बदनामी खेपिरहेको छ । यिनै विषयमा केन्द्रित रहेर शनिबारबाट ‘सक्षम सांसद सशक्त संसद्’ भन्ने नारासहित रास्वपाले दुईदिने प्रशिक्षण सुरु गरेको हो । 

संसदीय अभ्यास र मर्यादासँगै दैनिक क्रियाकलाप र बोलीचालीमा समेत सांसदहरूलाई नथ्थी लगाउनुपर्ने अवस्थामा रास्वपा पुगेको छ । रास्वपाले सरकार बनाइसकेपछि कतिपय मन्त्रीहरू समेत विवादमा तानिँदा पदबाट बाहिरिनुपर्‍यो । कतिपय सांसदले आफ्नो निर्वाचन क्षेत्र जाँदा स्थानीय नागरिक, सरकारी कर्मचारी र शिक्षकहरूसँग सम्मान खोज्ने, डर, त्रास, धम्की दिनेलगायत गतिविधि देखाइरहेका छन् । यसलाई नियन्त्रण गर्न पार्टीले प्रशिक्षणको व्यवस्था गरेको रास्वपाका एक पदाधिकारीले बताए ।  

दुईदिने ‘संसदीय अभ्यास तथा नेतृत्व विकास’ कार्यक्रम पार्टीको प्रशिक्षण विभागले गरेको हो । शनिबार पार्टीका उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र संसदीय दलका उपनेता गणेश पराजुलीले प्रशिक्षणको संयुक्त रूपमा उद्घाटन गरे । सदन र संसदीय समितिमा प्रभावकारी भूमिका निर्वाह गर्न आवश्यक सीप र ज्ञान प्रदान गर्ने, सार्वजनिक रूपमा आउने अभिव्यक्तिका असर र प्रभाव, विवादित कुरामा ख्याल गर्नेलगायत विषयमा आवश्यक प्रशिक्षण दिइने रास्वपाले जनाएको छ ।   

संसदीय दलका उपनेता गणेश पराजुलीले भने, ‘प्रशिक्षणमा संसदीय समितिमा हुने छलफल, सदनमा गरिने प्रस्तुति, संसदीय मर्यादा, जिम्मेवारी, दायित्व र विषयगत छलफलका विषयमा सांसदहरूलाई प्रशिक्षित गरिनेछ ।’ पार्टीले सांसदहरूको क्षमता विकास, आत्ममूल्यांकन, अनुभव आदान–प्रदान र भविष्यको राजनीतिक संस्कार निर्माणका लागि यो कार्यक्रमलाई महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरेको छ । 

दुई दिनसम्म चल्ने प्रशिक्षणमा अनिवार्य सहभागी हुन रास्वपाले सांसदहरूलाई निर्देशन दिएको थियो । यद्यपि, कार्यक्रममा सांसदहरूको उपस्थिति न्यून देखिएको छ । प्रशिक्षण कार्यक्रममा संसदीय दलका नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछाने भने सहभागी छैनन् । महामन्त्रीद्वय कवीन्द्र बुर्लाकोटी र भूपदेव शाह, सहमहामन्त्री विपिन आचार्यलगायत पदाधिकारी र सांसदहरूको उपस्थिति छ । आइतबार पार्टी सभापति रवि लामिछानेले कार्यक्रमको समापन गर्ने तयारी छ । रास्वपाले आफ्ना जनप्रतिनिधिलाई संसद्मा थप सक्रिय र जिम्मेवार बनाउन यस्ता प्रशिक्षणलाई निरन्तरता दिने बताएको छ । 

सांसदहरूको शपथलगत्तै रास्वपाले पहिलोपटक होटल टुलिपमा दुईदिने प्रशिक्षण राखेको थियो । त्यस प्रशिक्षणमा सभापति रवि लामिछानेले कडा निर्देशन दिएका थिए । सांसदहरूले उक्त निर्देशन पालना नगरेपछि पुनः प्रशिक्षण आवश्यक परेको कतिपय नेताहरूले बताएका छन् ।

ताजा खबर

सम्बन्धित खबर