२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

संघको नयाँ कार्यसमितिको निर्वाचन जेठ १४ मा

Nada
२०८३ वैशाख ३० गते ०६:१५
Shares
संघको नयाँ कार्यसमितिको निर्वाचन जेठ १४ मा

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ कार्यसमितिको निर्वाचन आगामी जेठ १४ गते हुने भएको छ ।

ncell

सल्लाहकार समितिसमक्ष संघ कार्यसमितिका बहुमत पदाधिकारीले सामूहिक राजीनामा दिएपछि संघको विधानको दफा २६ (४) (ख) बमोजिम अध्यक्ष भुवनसिंह गुरुङ नेतृत्वको कार्यसमिति स्वतः विघटन भएको भन्दै संघको सल्लाहकार समितिले ७ सदस्यीय प्रबन्ध समिति खडा गरिएको जनाएको छ ।

सल्लाहकार समितिले गठन गरेको प्रबन्ध समितिमा पूर्वअध्यक्ष विमल ढकाल, निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारी, व्यवसायी धनलाल जैसी, जनक रावल, विनोद जंग केसी, मधुकर रिजाल र सोमबहादुर लो तामाङ रहेका छन् । सल्लाहकार समितिले यसबारेमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जानकारी गराइसकिएको बताएको छ ।

पदाधिकारी र सल्लाहकारहरूले संघको विधानको दफा २ (९) र दफा २६ (४) (ख) को संयुक्तरूपमा व्याख्या गरी कार्यसमितिका दुईतिहाइ पदाधिकारीले सामूहिक राजीनामा दिएमा कार्यसमिति स्वतः विघटन हुने र सोही दिन सल्लाहकारहरूको रोहबरमा सात सदस्यीय प्रबन्ध समिति खडा गरी प्रबन्ध समितिले २१ दिनभित्र विशेष साधारणसभा बोलाई सो सभावाट निर्वाचन समिति खडा गरी सोही दिन निर्वाचन सम्पन्न गराउनेछ भन्ने व्यवस्था रहेको भन्दै प्रबन्ध समिति खडा गरेका हुन् । प्रबन्ध समितिले संघको दैनिक प्रशासनिक कामहरू सञ्चालन गर्न सुरु गरेको सल्लाहकार समितिले जनाएको छ ।

सल्लाहकार समितिले निर्वाचन सम्पन्न भई नयाँ कार्यसमिति निर्वाचित नभएसम्म प्रबन्ध समितिले नै संघको दैनिक प्रशासनिक कामहरू सञ्चालन गर्ने पनि बताएको छ । 

यता संघका अध्यक्ष गुरुङले प्रबन्ध समिति अवैधानिक भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौं र न्यायिक निकायको आदेशबिना आफूले अध्यक्षको जिम्मेवारी नछाड्ने बताएका छन् । संघ कार्यसमितिका दुईतिहाइ पदाधिकारीले पदबाट राजीनामा गरेपछि सोमबार राति संघको विधानअनुसार कार्यसमिति विघटन भएको सन्दर्भमा गुरुङले मध्यान्ह दैनिकसँग संक्षिप्त प्रतिक्रिया दिँदै उक्त कुरा बताएका हुन् ।

मलेसियालगायतको रोजगारीमा सिन्डिकेट खडा गर्न महासचिव र कोषाध्यक्षले ३२ लाखको चेक काटेर संघको रकम हिनामिना गरेको आरोप लगाउँदै उनले त्यसैलाई ढाकछोप गर्न व्यवसाय संकटमा परेको अवस्थाको संवेदनशीलता समेत नबुझी सल्लाहकारहरूले काम गरेको टिप्पणी गरे । उनले गठन गरिएको प्रबन्ध समितिलाई प्रशासनले साथ नदिने दाबी गर्दै आफूले छिट्टै पत्रकार सम्मेलन गरेर सिन्डिकेटका लागि भएको गतिविधि र व्यक्तिहरूबारे सार्वजनिक गर्ने टिप्पणी गरे ।

ताजा खबर

सम्बन्धित खबर