– धनराज गिरी
प्रोफेसर ढुक्कनारायण चौधरी, प्रोफेसर जगमोहन आजाद, प्रोफेसर शहीदशरण पाठकोपाध्या, प्रोफेसर आनन्दकुमार गोस्वामी, प्रोफेसर सार्थकसफलनारायण पदमपुरे, प्रोफेसर प्रेमस्वरूप कमलोपाध्याय र केही बौद्धिक होइन, विवेकजीवीहरूको बैठक बस्यो जङ्गल सफारी लजमा, सौराहा । घोषणापत्र लेखे सुमित्रानन्दन जोगीमारे दामादश्रीले । व्यापक छलफल भयो । ‘आजादपथ’ नाम दिने घोषणा भयो । जिल्लाका सबै विचारकहरूको उपस्थिति थियो ।
“साथीहरू, अब अति भयो । जसरी फेसबुकमा यतैको एकजना जोगीले अति गरेको हुनाले तीन कमेन्ट र पाँच लाइक पनि आउन्न, त्यसैगरी हाम्रा तमाम समय अनायकहरूको ल्याकतले यो देशको भलो भएन । अति भयो । खति भयो । दुर्गति भयो । मेरो दिमागको रोडम्याप हो, प्रचण्डपथ भनेजस्तै, त्यो त पूरै फ्लाप भयो । सबै फ्लाप । हरेक रङ्ग फ्लाप । यो राप र तापबाट देशलाई न जोगाए पाप लाग्छ । जब जागा तब सबेरा ! यो कुइरेटकीय नगरीमा, मेरो एक योजना छ, सबैको कल्याण हुन्छ । पक्का हुन्छ । धेरै सोचेर आएको छु म । फिन्ली, अष्ट्रेलियामा मलाई पौने बुद्धत्व प्राप्त भयो । हामीले चाहेमा परिवर्तन सम्भव छ ।”
सबैले मुखामुख गरे । “गुरुदेवको योजनाले यहाँ धेरैको कल्याण भएको छ । योजना भन्न मिल्छ ?” चेली, आजादकी, लेडी गब्बरकी नायिका, गरिमा घिमिरे । “कुरा आए राम्रो !” उज्याला मान्छे, पर्वतनारायण उखानपुरे अघि सरे ।
“सरको योजना पक्कै पनि राम्रो हुनुपर्छ ।” नेपाली केशवप्रसाद रेग्मी परदेशी, पर्वतका दाजी अघि सरे । सबैको जिज्ञासा बुझेर आजाद अघि स¥यो । “यहाँ अनेक उत्तर आधुनिक म्यूजियम बन्ने छ । लीला हुनेछ । पाँच तले भवन, एनआरएनए सित कुरा भएको छ । सम्पूर्ण नेताहरूलाई यही भवनमा राखिने छ । उनीहरूको अकूत सम्पति कब्जा गरेर अक्षय कोष बनाइनेछ । व्यापक प्रचार प्रसार गरिनेछ । हात्तीको मूल्य मरेपछि लाख भनेजस्तै यी उपादेयता खत्तम भएका नेताजीहरू पर्यटनकालागि कच्चापदार्थ हुनेछन् । आन्तरिक र वाह्य पर्यटन मौलाउने छ । यो बृहत् योजना हो मुलुकको हितको लागि । अझ व्यापक छलफल हुनेछ । कार्यपत्र बनाइने छ । हाम्रा शेरखान, कुमरोज सामुदायिक वनको नियमित यात्री ‘लाइभनारायण’ श्री शारदानाथ बिस्फोट कमरेडको यसमा खास सहयोग रहने छ ।”
पुलुक्क हेरे, क्यामरा भिरेका तेज नयनवाला एक प्रकृतिप्रेमीले । बोले, “हुम्म, आजाद सरको कुरामा पूर्ण समर्थन रहन्छ । यी एमसीसी एसपीपीका नाजायज सन्तानहरूको लागि उपचार खोज्नुपर्छ । यी लाल दलाल नटवरलालहरू, यी ठोरीवादीहरू, यी नालायकहरूलाई यहाँ ल्याएर यिनको हैशियत बोध गराउनपर्छ । बरू म लाइभ प्रसारण गर्नेछु ।” सहमति भयो ।
योजनानुसार भव्य भवन बन्यो । ओशो क्याम्प सामुन्ने । दश कठ्ठा जमिन एनआरएनए अभियन्ता देश देशावरले उपलब्ध गराए । सबै नेताहरू तानियो । पुस्तकालय नजिक । योग केन्द्र पनि नजिक । उखान सुन्न गाउँले आए । हरेक दिन प्रोफेसर जगमोहन आजाद हाजिर । गजल जोक सुनाउने । देउवाजीले खास रुचि देखाउनुभयो । बाबुराम पुरीको जेठान मात्र होइन, आरजूको पिता पनि भनेपछि ‘मित ससुरा’ भनेर शेरहरू सुने । “उहिले परिचय भएको भए माधवजीको बैनीको खसमको स्थानमा राजदूत बनाउने नि !” देउवाजी पछुताए । उता ओलीजी पनि खुशी । काशीनाथ अधिकारीको अभिन्न मित्र, कुरा सकियो । माधवजी, वामदेवजी, झलजी, प्रचण्डजी पनि खुशी, गजल र हिन्दी गीत सुनायो । केही काङ्ग्रेसहरू म्यारिज खेल्न व्यस्त । भूइँ कटहर नास्ता, साथमा चार बुक । आजादले साथ दियो । ऊ पनि राम्रो अनुभवी हो ।
सौराहामा पर्यटन उद्योग मौलायो । टिकट काटेर नेता नामका प्रजातिहरू हेर्न आए मानिसहरू । देश ? उता नयाँ पुस्ताले देशमा सत्ता सम्भालेपछि चमत्कार भयो । सम्पूर्ण ठेकेदारहरूको ८० प्रतिशत सम्पत्ति कब्जा गरियो । शिक्षा पूर्ण निःशुल्क । दल दुई मात्र । चुनाव पन्ध्र वर्षमा । सम्पूर्ण ठूल्ठूला कर्मचारीहरू, जसले अकूत धनराशी कुम्ल्याएका थिए, देशले कब्जा ग¥यो । विश्वविद्यालयका केही भीसीहरूको खाता कब्जा गरियो । करमारा महाजनहरूको ६० प्रतिशत सम्पत्ति कब्जा भयो । समाजवाद आयो । बीस लाख युवा स्वदेश फर्किए । पहिलो पाँच वर्षलाई रोड वर्ष घोषणा गरियो । त्यसपछि पानी । हेर्दाहेर्दै नेपालको अनुहार यति उज्यालो भयो कि मान्छेहरू जिल्ल । प्रोफेसर जगमोहन आजादलाई विशेष अभिनन्दन गरियो । नेपालीहरूको प्रतिव्यक्ति आय १८ हजार डलर पुग्यो ।
“वास्तवमा नगरेर रहेछ, योजना नभएर रहेछ । प्रोफेसर जगमोहन आजाद जस्ता मानिसलाई देशले ढिलो चिन्यो । जे होस्, अब लुम्बिनी र सगरमाथाको इज्जत रह्यो ।” भैरहवा मर्निङ्ग वाक समूहमा कुरा भयो । आजादपथको किताब छापियो । त्यसलाई अङ्ग्रेजीमा अनुवाद गरे प्रा. डा. रमाकान्त पौडेल ‘परिचित’ले । विमोचन भयो सौराहामा, त्यही म्यूजियममा । हरेक नेताको आयु ९५ वर्षको भयो । २१११ सालमा म्यूजियम खाली भयो । त्यसलाई होटेल लालुपाते भनेर नयाँ नाम दिने काम भयो, एउटा गुठी दर्ता गरी संस्थाले नै चलायो ।
“हाम्रो देशमा यस्तो पनि भएको रहेछ है कुनै समयमा ।” प्रोफेसर जगमोहनको नातिले आफ्ना दिदीहरूलाई सुनायो । वि.सं. २१२२ मा उनीहरू नेपाल आएका थिए । “अति भए पछि, हो अति भएपछि तिमीहरूको पितामह जगमोहन आजादले त्यो योजना बनाउनुभयो ।” प्रोफेसरकी कान्छी छोरी पूजा गुरुङोपाध्याय । उनले एउटा कविता पनि सुनाइन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies