
काठमाडौं : मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा निर्माणाधीन केबलकार परियोजनाको विरोधमा मुक्कुम्लुङ तान्सेप चुम्भो तथा मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले सरकारले निर्माण कार्य रोक्न निर्देशन दिँदासमेत केबलकार निर्माणलाई निरन्तरता दिइएको भन्दै चरणबद्ध आन्दोलन गर्ने भएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै पहिचानवादी नेता डकेन्द्रसिंह थेगिमले गैरकानुनी रूपमा ठगी, भ्रष्टाचार तथा फर्जी कागजातको आधारमा मुक्कुमलुङ अतिक्रमण गरी केबलकार निर्माण अघि आरोप लगाए ।
उनले केबलकार निर्माणको विषयमा सरकारसँग निरन्तर वार्ता र छलफल भइरहेको अवस्थामा समेत निर्माण कार्य नरोकिएको भन्दै सम्बन्धित पक्षलाई खबरदारी गर्न आन्दोलन गर्न बाध्य भएको बताए ।
उनकाअनुसार केबलकार निर्माण कार्य रोक्न माग गर्दै वैशाख ३० गते काठमाडौं, ताप्लेजुङ तथा कोशी प्रदेशका विभिन्न जिल्लामा पत्रकार सम्मेलन आयोजना गरिएको छ ।
आन्दोलनका अन्य कार्यक्रमहरुमा जेठ ५ गते राजनीतिक दलहरूसँग अन्तरक्रिया, जेठ ७ गते प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, जेठ ९ गते विभिन्न संघसंस्थासँग छलफल तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको थेगिमले बताए ।
उनले जेठ ११ गते मुक्कुमलुङ संरक्षण तथा केबलकार निर्माणको विरोधमा ताप्लेजुङसहित विभिन्न जिल्लामा कालो ब्यानरसहित कोणसभा आयोजना गरिने बताए । आन्दोलनका कार्यक्रमहरु कोशी प्रदेशमा केन्द्रित गरिने उनको भनाइ छ ।