२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

अमेरिका–चीन सम्बन्ध सुधार प्रयास, ताइवान मुद्दामा बेइजिङ कठोर

सीसँग नरम देखिए ट्रम्प

Nada
भावना पाठक
२०८३ जेठ १ गते १५:१२
Shares
अमेरिका–चीन सम्बन्ध सुधार प्रयास, ताइवान मुद्दामा बेइजिङ कठोर

काठमाडौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बेइजिङमा भएको दुई दिने ऐतिहासिक शिखर सम्मेलन सम्पन्न भएको छ । विश्वका दुई ठूला अर्थतन्त्रबीचको सम्बन्धमा आएको तिक्तता कम गर्ने प्रयासस्वरूप आयोजना गरिएको यो सम्मेलनलाई दुवै पक्षले सफल भएको दाबी गरेका छन्  

ncell

राष्ट्रपति ट्रम्पले धेरै समस्याहरू सुल्झिएको दाबी गरे पनि मुख्य विवादित विषयहरूमा ठोस र विस्तृत सम्झौताको औपचारिक घोषणा हुन बाँकी रहेको बताइएको  छ । वार्ताका क्रममा ट्रम्पले इरानसँग आणविक हतियार हुनु हुँदैन भन्नेमा सी जिनपिङ सहमत भएको जानकारी दिए । 

राष्ट्रपति ट्रम्प र सीबीच ताइवानको मुद्दामा पनि गम्भीर र रणनीतिक संवाद भएको बताइएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार  सीले ताइवानका विषयमा गलत ढंगले व्याख्खा नगर्न चेतवानी दिएका छन् । साथै, ताइवान जलडमरूमध्ये क्षेत्रमा शान्ति कायम रहनु ‘चीन र अमेरिकाबीचको सबैभन्दा ठूलो साझा आधार’ भएको पनि उनले बताएका छन् । पूर्वी एसियाली क्षेत्रमा चीनले कुनै क्षेत्रलाई संवेदनशील मान्छ भने त्यो, ताइवान नै हो । उनले ताइवान मुद्दालाई गलत तरिकाले चलाएमा अमेरिकासँगको सम्बन्ध खतरनाक अवस्थामा पुग्ने टिप्पणी गरे । 

जवाफमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ताइवानका सन्दर्भमा अमेरिकी नीति अपरिवर्तित रहेको स्पष्ट पारे । ट्रम्पको यो भ्रमणमा अमेरिकाका २० भन्दा बढी प्रभावशाली प्रमुख कार्यकारी अधिकृतहरू सहभागी थिए । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले विज्ञप्ति जारी गर्दै राष्ट्रपति सीसँग राम्रो संवाद भएको जनाएको छ ।

अर्बौं डलरका सम्झौता, कार्यान्वयनमाथि प्रश्न
शिखर सम्मेलनकै क्रममा चीनले २०० वटा बोइङ विमान खरिद गर्ने र अमेरिकाबाट अर्बौं डलर बराबरका कृषि उत्पादनहरू आयात गर्ने प्रतिबद्धता जनाएको छ । ट्रम्पले एनभिडियाको 'H200' चिप्स चीनमा निर्यात गर्न लगाइएको प्रतिबन्ध हटाउने घोषणा गरे पनि चिनियाँ पक्षबाट आयातमा अझै केही अवरोधहरू बाँकी रहेको टिप्पणी गरिएको छ ।

विश्लेषकहरूले भने यी सम्झौताहरूको टिकाउपनमाथि प्रश्न उठाएका छन् । सन् २०१७ को भ्रमणका बेला भएका अर्बौं डलरका सम्झौताहरू कार्यान्वयन नभएको स्मरण गर्दै क्यापिटल इकोनोमिक्सका विज्ञहरूले अहिलेका घोषणाहरूलाई पनि सतर्कतापूर्वक हेर्नुपर्ने बताएका छन् । 

गत अक्टोबरमा बुसानमा भएको व्यापार युद्ध विरामलाई निरन्तरता दिन दुवै पक्ष सहमत देखिएका छन् । वार्ताको अन्तिम दिन राष्ट्रपति सीको निवास झोङनान्हाइमा दुई नेताले सौहार्दपूर्ण वातावरणमा कुराकानी गरेका थिए ।

भ्रमणको समग्र उपलब्धि र प्रभावलाई हेर्दा, अमेरिकाले यसपटक ठोस व्यापारिक लाभ प्राप्त गरेको देखिन्छ । राष्ट्रपति ट्रम्पसँगै पुगेका २० भन्दा बढी प्रभावशाली अमेरिकी कम्पनीका सीइओहरूको उपस्थिति र २०० बोइङ विमान खरिदको सहमतिले 'अमेरिका फस्ट' नीतिलाई बल पुर्‍याएको छ । 

मध्यपूर्वको तनाव र इरानको विषयमा यो सम्मेलनले एक प्रकारको अस्थायी सुरक्षा कवच प्रदान गरेको छ । ट्रम्पले इरानलाई आणविक हतियारबाट रोक्ने विषयमा सीको सहमति प्राप्त भएको दाबी गरे पनि यसको कार्यान्वयनमा चीनको मध्यस्थता कति प्रभावकारी हुन्छ भन्नेमा भने आशंकाहरू जीवितै छन् । 

सी जिनपिङप्रति नरम डोनाल्ड ट्रम्प
सी जिनपिङप्रति डोनाल्ड ट्रम्प नरम देखिएका छन् । उनले वार्ताका क्रममा पटक-पटक चिनियाँ राष्ट्रपति सी जिनपिङको प्रसंसा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । राष्ट्रपति ट्रम्पले होर्मुज खुलाउन सी जिनपिङको ठूलो हात रहेको बताउँदै उनलाई ‘महान नेता’ को संज्ञा दिएका छन् । 

भेटका क्रममा ट्रम्पले  सीलाई ‘मेरो एक पुरानो मित्र’ सम्बोधन गर्दै आफू उनीप्रति अत्यन्त सम्मान प्रकट गर्ने र निकट भविष्यमै वाशिंगटनमा स्वागत गर्न आतुर रहेको बताए । 

वार्ताअघि सीले बेइजिङस्थित ग्रेट हल अफ द पिपल बाहिर ट्रम्पको स्वागत समारोह आयोजना गरेका थिए, जसमा सैनिक ब्यान्ड, २१ तोपको सलामी र सम्मान गार्डको परेड समावेश थियो । ट्रम्पले चीन भ्रमण गर्नु ठूलो सम्मानको विषय भएको भन्दै दुई देशबीचको सम्बन्ध निकै राम्रो रहेको बताए ।

वार्तापछि दुई नेताले टेम्पल अफ हेभनको भ्रमण गरे । ६०० वर्षभन्दा पुरानो युनेस्को विश्व सम्पदा स्थलबाट प्रभावित भएका ट्रम्पले अमेरिका र चीनजस्ता महान राष्ट्रहरूले पारस्परिक समझदारी र जनस्तरको मित्रता अझ गहिरो बनाउनुपर्ने बताए ।

स्वागत भोजमा सीले ५५ वर्षअघिको चीन–अमेरिका ‘पिङपङ कूटनीति’ को स्मरण गर्दै दुवै पक्षबीचको सक्रिय सम्पर्कले सम्बन्ध विकासमा महत्वपूर्ण भूमिका खेलेको बताए । ट्रम्पले सीको आतिथ्यका लागि धन्यवाद दिँदै दुवै पक्षबीचको संवादलाई सकारात्मक र रचनात्मक बताए। ‘आजको दिन शानदार रह्यो’ , उनले भने ।

ह्वाइट हाउसमा हाक्काहाक्की विवाद गर्ने ट्रम्प चीनमा भने निकै शान्त भएर सी चीनफिङका अडान सुन्न बाध्य थिए । ट्रम्पले चीन र अमेरिका मित्रराष्ट्र भएको बताइरहँदा सीले पार्टनरभन्दा व्यवसायिक सम्बन्धमा जोड दिए । सीलाई भड्काउनु ट्रम्पका लागि आगामी यात्राको अवरोध भन्ने थाहा थियो, जसले उनी चुप बसेको समाचारहरूमा उल्लेख छ ।  

सम्बन्धित खबर