
नेपालको अर्थतन्त्र रेमिट्यान्समा टिकेको छ । हरेक वर्ष लाखौं युवा रोजगारीको खोजीमा बिदेसिने गरेका छन् । तर सबैले विदेशी भूमिबाट घर फर्किन भने पाउँदैनन् । बर्सेनि सयौं नेपाली युवाका शव बाकसमा फर्किरहेका छन् । बितेका नौ महिनामा मात्र १ हजार ५ सयभन्दा बढी नेपाली श्रमिकको शव नेपाल ल्याइए । जुन अघिल्ला वर्षको तुलनामा धेरै हो । वैदेशिक रोजगारीले धेरै परिवारको आर्थिक अवस्था सुधारेको छ । तर यसले सिर्जना गरेको पारिवारिक विखण्डन र मानवीय पीडाको मात्रा पनि कम छैन । दैनिक औसत ५–६ जना नेपाली कामदारको शव आउनुले वैदेशिक रोजगारीको सुरक्षाबारे प्रश्न उठेको छ । यसले हाम्रो श्रम व्यवस्थापन प्रणालीको कमजोरी पनि उजागर गरेको छ ।
विदेशमा हुने मृत्युका कारणमा हृदयाघात, मानसिक तनाव, आत्महत्या, दुर्घटना र गम्भीर रोग छन् । खासगरी खाडी मुलुकमा नेपाली श्रमिकले अत्यधिक गर्मी र जोखिमयुक्त क्षेत्रमा कठिन श्रम गरिरहेका छन् । खानपिन र बसाइको राम्रो प्रबन्ध नहुनु, धेरै समय काम गर्नुपर्ने, जोखिमयुक्त काम र न्यून स्वास्थ्य सुविधाले उनीहरूको स्वास्थ्य बिग्रिरहेको देखिन्छ । विदेश जानुअघि स्वास्थ्य परीक्षण त गरिन्छ । तर, त्यहाँ पुगेपछि मानसिक र शारीरिक अवस्थाको नियमित निगरानी एवं उपचार गर्नेमा कसैको ध्यान पुग्दैन । आत्महत्याका घटना उत्तिकै बढिरहेका छन् । अपेक्षाअनुसार आम्दानी नहुनु, ऋणको दबाब, परिवारबाट टाढा रहनुको एक्लोपनालगायत मानसिक तनावले धेरै श्रमिक डिप्रेसनमा पुग्ने गरेका छन् । यी व्यावहारिक समस्या समाधान नगरी वैदेशिक रोजगारीलाई अहिले पनि आर्थिक अवसरका रूपमा मात्र हेरिने गरेको छ । श्रमिकको मानसिक स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राखिएको छैन ।
नेपालबाट बर्सेनि लाखौं युवा बिदेसिइरहेका छन् । यसको मुख्य कारण देशभित्र पर्याप्त रोजगारी सिर्जना हुन नसक्नु हो । विदेश जाने प्रक्रिया, कामको प्रकृति, बिमा, स्वास्थ्य सुरक्षा र गन्तव्य मुलुकमा श्रमिकको अवस्थाबारे पर्याप्त जानकारी नदिँदा धेरै नेपाली कामदार जोखिमयुक्त काममा फसिरहेका हुन्छन् । सरकारको दायित्व श्रम स्वीकृति दिने मात्र होइन । विदेश जाने श्रमिकका लागि अनिवार्य मानसिक स्वास्थ्य परामर्श, सुरक्षित श्रमसम्बन्धी तालिम, गन्तव्य मुलुकसँग प्रस्ट श्रम सम्झौता र नियमित अनुगमन प्रणालीलाई व्यवस्थित गर्नु आवश्यक छ । दूतावासहरूलाई पनि उद्धार र समन्वयमा अझ प्रभावकारी बनाउनुपर्छ । रेमिट्यान्सले अर्थतन्त्र धानिरहेको छ, तर यसमा रगत–पसिनासँगै धेरै परिवारको आँसु पनि मिसिएको यथार्थ बिर्सन हुँदैन । वैदेशिक रोजगारीलाई सुरक्षित, सम्मानजनक र मानवीय बनाउन नसके शव फर्किने यो दुःखद् क्रम रोकिने छैन ।