
पर्सा : पर्साको धोबिनी गाउँपालिका अन्तर्गत लंगडी, बखरी, गुलरिया, जगरनाथपुर हुँदै छिपहरमाईसम्म जाने मुख्य सडक कालोपत्र र नाला निर्माणको ठेक्का भएको १० वर्ष बितिसक्दा पनि काम अलपत्र अवस्थामा रहेको छ । ठेकेदार कम्पनी फरार भएपछि स्थानीयवासी चरम सास्ती भोग्न बाध्य भएका छन् ।
स्थानीयका अनुसार पप्पु–रञ्जन–अंकित जेभी, तिनकुने काठमाडौंले ५ करोड ६३ लाख १२ हजार ८ सय ७१ रुपैयाँ १० पैसामा ठेक्का लिएर २०७३ सालमा सडक निर्माणको सम्झौता गरेको थियो । सडक डिभिजन हेटौंडासँग भएको उक्त सम्झौताअनुसार लंगडी, बखरी, गुलरिया, जगरनाथपुर हुँदै तुल्सीबर्वा नहरसम्म कालोपत्र र नाला निर्माण गर्ने योजना थियो । तर ठेकदार कम्पनीले सुरुवातमै मोबिलाइजेसन रकम उठाएर सामान्य ग्राभेल गर्नेबाहेक उल्लेखनीय काम नगरी फरार भएको स्थानीयको आरोप छ । लंगडीका स्थानीय राजकुमार गुप्ताका अनुसार गाउँको मुख्य सडक १० मिटर चौडा बनाउने भन्दै सडकछेउका दर्जनौँ घर–टहरा गाउँपालिकाको सहयोगमा भत्काइए पनि अहिलेसम्म ‘दश इन्च पनि कालोपत्र’ नभएको गुनासो गरे ।
स्थानीयवासीका अनुसार सडक निर्माणका नाममा घर भत्काइएका धेरै परिवार अझै समस्यामा छन् । कतिपय परिवार घरविहीन बनेका छन् भने वर्षौंदेखि धुलो, हिलो र जोखिमपूर्ण सडकको पीडा खेपिरहेका छन् ।
ठेकदार कम्पनीका प्रतिनिधि सुरेश पटेलले सम्झौताअनुसार काम सम्पन्न नगरेपछि २०७९ फागुन १९ गते सडक डिभिजन हेटौंडाले योजना पूर्वाधार विकास कार्यालय पर्सालाई हस्तान्तरण गरेको थियो । तर हस्तान्तरणपछि पनि काम अघि नबढेको स्थानीयको आरोप छ ।
स्थानीयले ठेकेदार र सम्बन्धित कर्मचारीबीच मिलेमतो भएको आरोपसमेत लगाएका छन् । उनीहरूका अनुसार प्रत्येक आर्थिक वर्षको अन्त्यतिर असार मसान्तमा स्काभेटर लगाएर पुरानो ग्राभेल उखाल्ने र पुनः त्यही सामग्री मिलाएर लाखौँ रकम भुक्तानी लिने काम हुँदै आएको छ ।
यो सडक क्षेत्रीय रूपमा अत्यन्त महत्वपूर्ण मानिन्छ । वीरगञ्जबाट लंगडी हुँदै भिस्वा–सिक्टा पुग्ने तथा बखरी, गुलरिया हुँदै भिखमपुर, जानकीटोला, दसौता, सेढवा र ठोरीसम्म जोडिने मुख्य मार्ग भएकाले हजारौँ स्थानीय प्रत्यक्ष प्रभावित बनेका छन् ।
स्थानीयले विगतका जनप्रतिनिधि तथा सांसदहरूले पनि सडक निर्माणमा प्रभावकारी पहल नगरेको आरोप लगाएका छन् । संविधानसभा सदस्य जयप्रकाश थारुको कार्यकालमा सुरु भएको योजना त्यसपछि लक्ष्मणलाल कर्ण र रमेश रिजालको कार्यकाल बित्दासमेत पूरा हुन सकेन । हालका सांसद टेकबहादुर शाक्य र प्रदेश सांसद सिंगासन साह कलवारप्रति पनि स्थानीय असन्तुष्ट देखिएका छन् ।
स्थानीयवासीले दशकौँदेखि अलपत्र सडक निर्माण कार्य तत्काल अघि बढाउन, दोषी ठेकेदारमाथि कारबाही गर्न तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।