
पर्सा : पर्साको कालिकामाई गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । गाउँपालिकाभित्र ० देखि १५ महिनासम्मका ४६० जना बालबालिकालाई नियमित खोप लगाएपछि विशेष कार्यक्रमकाबीच घोषणा गरिएको हो ।
‘स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित गाउँपालिका कार्यालय हरिहरपुर बिर्तास्थित सभाहलमा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष राजमती देवी बरैनीले घोषणा सभाको उद्घाटन गर्दै पूर्ण खोप अभियान सफल बनाउन महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीहरूको योगदान महत्वपूर्ण रहेको बताइन् ।
उनले दिनरात खटेर काम गर्ने स्वास्थ्यकर्मी तथा महिला स्वयंसेविकाको उचित सम्मान हुनुपर्नेमा जोड दिँदै उनीहरूको मेहनतकै कारण गाउँपालिका पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गर्न सफल भएको बताइन् ।
कार्यक्रममा जनस्वास्थ्य अधिकृत खुशबु यादवले पूर्ण खोप दिगोपना घोषणा भएसँगै स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरूको जिम्मेवारी अझ बढेको उल्लेख गरिन् । उनले प्रत्येक बालबालिकालाई समयमै १३ प्रकारका नियमित खोप लगाउनुपर्ने र त्यसले बालबालिकालाई विभिन्न रोगबाट सुरक्षित राख्ने बताइन् ।
वडाध्यक्ष सोनालाल चौरसियाले पाँच वर्षमुनिका बालबालिकामा विभिन्न रोगको जोखिम कम गर्न जन्मिएलगत्तै चिकित्सकको सल्लाहअनुसार नियमित खोप लगाउन अभिभावकलाई आग्रह गरे । कार्यक्रममा उत्कृष्ट स्वास्थ्यकर्मीका रूपमा सिअहेब रबिता कुमारी चौधरी लाई सम्मान गरिएको थियो भने मुडली स्वास्थ्य चौकीलाई उत्कृष्ट स्वास्थ्य संस्था घोषणा गर्दै प्रमाणपत्र प्रदान गरिएको थियो ।
पूर्ण खोप सुनिश्चितता तथा दिगोपना अभियानमा योगदान पुर्याउने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा सञ्चारकर्मीहरूलाई दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा गाउँपालिका स्वास्थ्य प्रमुख धिरज कुमार साह, वडाध्यक्षहरू, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी तथा पत्रकारहरूको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन स्वास्थ्य सह–संयोजक निरंजन चौरसियाले गरेका थिए ।